आहत वसुन्धरा

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

त्रिसठ्ठी सालको बैशाख १६ गते बिहानै मैले सानो झोला बोकेर बसपार्कमा गाडी खोज्नुपर्ने भयो । आफूले कुर्नुभन्दा पनि चिनेजानेकालाई लौन बाबु भनेर केहीबेर तारको वारिपारी भएर आफन्त भनाउँदाहरुसँग मुख मिलाउन नपाउँदै ट्राफिकले सिठ्ठी फुक्यो । साट्टसुट्ट मिलाएर बसको दाहिने पट्टिबाट ड्राइभरले गाडी गुडाउन थाल्यो । म उसको बायाँपट्टी बसेर निर्धक्कले बसन्तको उषाकालीन छटासंगै बियाँलिन थालें । पहाडी डाँडो, सहरै भएपनि धर्मकर्ममा आस्था राख्नेहरुले पञ्चपालामा सुन्दर फूल राखेर तुलसीको मठनेर प्रभातफेरी गर्दै गरेका आस्तिकहरु मार्फत आफ्नो नाम पनि ईश्वरको खातामा हाजिर लगाउँदै गाडी बर्तूङ् चोकबाट सिद्धार्थ राजमार्गको पोखरा खण्डमा बग्न थाल्यो । आर्यभन्ज्याङ्का घुम्तीहरुको मार्गचित्र मानसपटलमा सजाउँदै मैले पनि तानसेनको पाखोलाई पछाडी पार्दै थिएँ ।

वनपाखा र चउरमा मात्र नयाँ पालुवाहरु थिएन । भर्खरै जमिन छिचोलेर दुई तीन पाते बनेका मकैका दिउलाहरु र पटुकाभरी वीऊ राखेर कुटोले बारीका डिलहरुमा बोडी, सिमी र सिल्टुङ् रोप्दै गरेकी गाउँले किशोरीसँगै सडकको दुबैतर्फ कल्कलाउँदा मुजुरा लगाएका दब्दबेका बोटहरुलाई छोला छोलाजस्तो गर्दै हाम्रो बहान पोखराथोकको नेटो काटेर आर्यभन्ज्याङ्तर्फ नजिकिंदै थियो ।केही झुण्ड मानिस उभिएका ठाउँमा ढोकामा उभिएर कन्डक्टरले ‘पोखरा—पोखरा’ भनेपनि ड्राइभर आफ्नो एकाग्रतामा घुम्तीहरुमा सिप देखाउँदै थियो । नपत्याउँने गरी झुलुक्क देखिने बहानहरु, बाटै मेरो जस्तो गरेर आउने मोटर-साइकलहरु, चरिचरनतर्फ एकाबिहानै हिंडेका पशुचौपयाहरु र सडक शासनमा  रमाइरहेका हाँसहरुसँग घरी ड्राइभरसँगै  म पनि रिसाउँथें भने घरी मनमनै स्टेरीङ् घुमाउने कला विषयमा उत्साहित हुन्थें । सुन्दर गाउँको राजमार्गमा बगिरहदा मैले शुभचिन्तकहरुलाई अन्तिम सन्देश पठाएँ । “आफू त आर्यभन्ज्याङ् पुगियो अब राम्दी झरिन्छ ।” तुरुन्तै जवाफ आयो “आफन्तहरुको बिचार गर्दै जानुहोला ।”  त्यो आफन्त शव्दले मलाई दुखित बनायो ।

हामी बुद्धका देशका बुद्धुहरु ! आफ्नै दाजूभाइको मुहारमा शत्रुको मुकुण्डो भिराएर दश वर्षसम्म माराकुटी गर्दा पनि नपुगेर अतिसार भएपछि १९ दिनसम्म गगन भेदी नाराहरुका साथमा नयाँ नेपालको चित्र कोर्न सडक तताएपछि बल्ल संसदको बैठक हिजैमात्र चारवर्ष  एघार दिनमा व्युँझिएर पुनः छप्पन्न वर्ष पश्चात संविधानसभाको घोषणा गर्दै नयाँ देश बनाउने अभियानमा जुटेको थियो । सबैमा अलिकति आशा पलाएको भएपनि अझै विश्वासको वातावरण नबनिसकेकाले त्यस्तो किसिमको सन्देश मेरो फोनमा आएको थियो । तर जवाफ पठाउन नपाउँदै दुरसंचारको टावरले सत छाडिसकेको रहेछ । नदी तर्ने मान्छेहरु जबसम्म पानीमा हुन्छन् तबसम्म त उनीहरु सचेत हुन्छन् नै । जब उनीहरु किनारको नजिकमा आउँछन् त्यसपछि अनायसै लापर्बाही गर्छन् क्यारे । त्यसैले नदी तरिसकेपछि किनार आसपासमा बढि दुर्घटना हुने गर्छन् । यत्रो  युद्द सकेपछि अब  किनारमा केहि नभैदिए हुन्थ्यो ।

मोटर अंगाहाखोलाका घुम्तीहरु मुसारेर चापपानी हुदै लसुनेको पुलमा धुवाँ ओकेलेर सीता पहाडको कापमा निस्सासिंदै थियो जहाँ गतवर्ष उद्धार गरेर फर्केको एम्बुलेन्स ड्राइभरको लास सहित भोलिपल्ट फेला परेको थियो । त्यो छाङ्गोलाई जुल्काउन नपाउँदै देशको भावी अनुहार पुनः मानसपटलमा झुल्कियो ।

वास्तवमा वर्तमान समस्या के हो भन्ने कुरा छर्लङ्ग भईसकेको छ । शान्ति  खोज्ने हरेक आँखाहरु जे हेर्न खोजेका छन् ती सबै पर्याप्त बन्नुपर्छ अब । हुनत रसियामा लेलिन आफैले संविधानसभा घोषणा गरेर पछि आफैले नकारेको उदाहरण पनि नभएको हैन । तर अबका दिनमा नागरिकहरुले ४६ सालभन्दा पनि माथि उठेर यो आँधीबेहरीको पूर्ण उपभोग र मुल्य चुक्ता भएको महशुस गर्न सक्नुपर्छ ।

जसै मेरा आँखाहरु पीपलडाँडाको सानो फाँटमा छिरें, म भने झट्ट उत्साहित बनें । सडकको छेउमा चैतेधान भर्खरै हरियो हुदै थियो सँगै माथिपट्टी केही खेताराहरु मकै गोड्दै थिए । प्रचण्ड घाम विस्तारै शिर माथि बजारिंदै थियो । यसरी नै मैले पनि ती दिनहरुमा बिहानै खेतमा पुगेर मध्य प्रहरसम्म गोडमेल गरि खेतका आलीमा बसेर सुक्का पुरी र तरकारी खाँदै पर्म लगाएको थिएँ । म आफू परिवर्तन भए पनि प्रकृतिको नियम आफ्नै ठाउँमा रहेछ । सोचें, मैले गोडमेल गरेको माटोले मेरो बाटो हेरी रहेको होला । सडक छेउको कोशे ढुङ्गो नियाल्दै मनसँग बातमारें : अझै पोखरा पुग्न ९५ किलोमिटर पो बाँकी रहेछ ।

कण्डक्टरले हुन्न–हुन्न भन्दै थियो । यात्रुहरु सकेसम्म कस्दै थिए तर गाडीले राम्दीखोलाको पुल र उप्सा पुलको रेलिङ्हरुमा धुलो हम्कदै भग्नाशेषमा परिणत भएको प्रहरी चौकीको कुनै पनि वास्तै नराखी भारत सरकारको विशेष प्रविधिमा निर्मित काली नदी माथिको राम्दीपुल नाग्दै थियो । चालक गिएर स्टेरिङ र ब्रेकमा क्रमैसँग स्पर्श गरेर शिरमा नमोनम गर्यो । मैले भने राम्दीघाटको ऐतिहासिक महत्व विकासले दुब्लाएकी काली र घाटमा बनाईएका मन्दिरतर्फ एक सर्को नजर फिंजाएर मालुङ्बाट प्यारो पाल्पालाई अलबिदा भनें ।

भगवान् श्रीरामले अश्वमेघ गरेर पनि नपुग भएपछि नुहाएको पवित्र घाटमा मानव जीवनको अस्तित्व खरानी बनेर शुन्यमा विलीन हुदै थियो । सँगैको सिटमा बसेका यात्री बल्ल बोले–‘ओहो मुर्दा पोलेछन्, गन्हायो ।’ कतै उसलाई पनि मृत्युको बतासले जिस्काएछ र अब्यक्त बेदना ममा पोख्दै थिए । कुनै सूर्ती खानेबानी भएकाले दोस्ती बढाए झैं । मैले सहमति जनाउँदै मुख फोरें ‘हो त नि ’।

‘उसै त मुसुरी हिङले झानेकी’ जस्तो घुमाउरो बाटोमा बुढेस लागेको बसले हामी साठी सत्तरी जनालाई बोकेर घुमाउँरो घुम्तीमा लुखुर–लुखुर गर्दै थियो। धुवाँ ओकल्ने नालाबाट निस्केको आवाज कालीपारको गाउँमा पनि सुनिएको हुनुपर्छ । हस्याङ्–फस्याङ् गर्दै मालुङ्गामा एकपटक सास फेरर बटुवाको पाखो हुदै सिद्धार्थ राजमार्गको जिरोमा ड्राइभरका समुहहरुले आलेटाले गरे । त्यहाँबाट १७ किलोमिटर बाटो छुट्टिएर कालीगण्डकी जल विद्युत आयोजनको मिर्मी बेलटारी पुग्दो रहेछ । लामो समय सिटमा कथुर्किनु भन्दा यात्रुहरु झरेर ओरपरका झाडिहरु तर्फ आ–आफ्ना सर सल्लाह गर्न लागे । म पनि उक्त कार्यक्रममा भाग लिएँ । एक त हतारको बेला अझै नयाँ शताब्दी भएर हो की सबै जनालाई लाज नाकमा मात्र लागेको थियो होला……। झण्डै आधाघण्टा बिसाउँदा पनि केही जोर नचलेपछि बरनडाँडा, भञ्ज्याङ्बारी सकेर बल्पुकको पेट्रोल पम्पमा गाडीले पानी पियो । अनि भने रन्किएर गल्याङ् बजार आएपछि फेरि उहिचाल गर्न थाल्यो ।

क्याबिनबाट चालकको ढोका हुदै म पनि सडकमा ठिङ्ग उभिएर जत्ति हेरेपनि नअघाइने डाँडा पाखा र वस्तीहरु नियाल्न थालें । पहाडको घाँचमा गमक्क जमेको गल्याङ् बजारको दाहिने पट्टिबाट कच्ची बाटो छुट्टिएर चापाकोट हुँदै रामपुर सम्म र बायाँपट्टि राजमार्ग मुनिबाट पाखा लागेको सडक पेलाकोट हुदै पिडीखोला पुग्छ भन्दै थिए घाम ताप्दै गरेका अधबैंशे मेरा तत्क्षणका साथी । भलाकुसारीमा अलि माथिबाट आँधीखोला थुनेर भित्र भित्रै डाँडो कटाई विद्युत निकालेको कुरा उनले खासै चासो नदिइकन भने तर मलाई केकानै जान्न पाएजस्तो लाग्यो । ईशारा पाएपछि सिटमा बसेर आधिखोलो पढें । पुल झुण्डिरहेको थियो, तलपट्टि सेता गग्रेटाहरु मात्र । सोचें, क्यासेटको गीतमा मात्र आँधिखोलो उर्लेको रहेछ अनि नमानेको मायालाई बोलाउदो रहेछ । कमिला हिडिरहेका………

वासन्ती यामको मधुर किरण ओढ्दै करादीको सानो बजारमा एक दुई पटक हर्न बजाएर तीन दोबाटेतर्फ हुईकिंदै थियौं हामी सबैजना । अग्रभागमा बसेर होला मेरा नजरहरु लामो सर्पको पुछारनेर आफूलाई कमिलोजस्तो महसुस गर्दै थिए । घरी तलको खोल्सो, घरी माथिपट्टिको उराठे पाखो अनि घरी पारीपट्टिका गाउँबस्ती र डाँडाहरु त्यो एकान्त परिवेशमा कताकती पट्यार बोकेर आउँथे । यी समस्याहरुलाई पचाउन म आफ्नै सिटमा यताउता सरेर चालकदेखि यात्रु सम्म घाटी घुमाउँथें । कुनै बेला किनेको पानी खाई टोपल्दा टोपल्दै बल्ल त्यो एक्सप्रेस बायाँटारी बजारमा केही बटुवाहरु लेनदेन गरेर मादिखोलाको पुल हुँदै वालिङ नगरपालिकामा छिर्यो । पहाडी कन्दराको बगलमा चिटिक्क मिलेर बसेको भकुण्डे बजार अनि अग्रगामी निकासको बाटोमा तहस नहस भएको प्रहरी थाना परिसरमा खेल्दै गरेका अबोध बालकहरुको सम्बन्धमा मनमनै तर्क बनाउँदै थिएँ म । मुख्य बजार छिर्ने बेलाको सशस्त्र चेक–पोष्टको ढाटमा ब्रेक हान्न नपाउँदै एकजना राष्ट्रसेवकले अगाडि बढ्ने ईशारा दिए । कैयौं पटक ओर्लदै आफ्नो भएभरको सामान फस्ल्याङ्–फुस्लुङ् पार्दै गर्ने गरेका सबै यात्रुहरुको तर्फबाट मनग्गे आशिर्वाद मिले होला उनलाई ।

वास्तवमा यो दश वर्षे कलह विनाश मात्र गरेन । हरेक मानसिकताहरुमा नयाँ प्रभाव छाड्न पनि सफल भयो क्यारे । अब यो नवचेतनाको आलोकले देशको भविष्य रेखाङ्कन गर्न सक्यो भने हामी पनि तेस्रो ध्रुवका गतिशील मानव बन्न सक्थ्यौं होला । यो अवधिमा हामी नेपालीले भोग्न र महशुस गर्न केही पनि बाँकी छैन होला सायद । त्यसैले अबका आगतहरुमा त्यही भोगाईको बीचबाट समुन्नति फलाउने अवसर जुटाउन सक्नुपर्छ, नत्र बुद्धको देशबाट तेस्रो विश्वयुद्ध घोषणा हुनेछ ।

मेरो कल्पनाको बेगसँग सँगै मट्टितेल मिश्रित डिजेल इन्जिनको आडमा जैसी पधेंरो, मिर्दी बजार र रामबाच्छामा टायर घुमाएर अर्मादी पुलबाट वालिङलाई बाइ–बाइ भनिसकेछ । म भने आफै भित्रको बहसमा ब्यस्त थिएँ ।

“साँच्ची अब के होला ?” ….. जसै छातीभित्र देश दुख्यो त्यसपछि भने बगुवा, त्रियासी र छाङ्छाङ्दीका बाटोमुनिका बाँसका झाङ्हरुले पनि मेरो प्रकृति मोहलाई लोभ्याउन सकेनन् । बयरघारीको सम्म सडकमा गाडी म भित्रको कल्पना झैं बेतोडमा दहथुमतर्फ फिलिली गरेको थियो । सोचें निर्जिव यन्त्र पनि मसँगै असिन पसिन बनेर देशको बारेमा पिरोलिईरहेछ कतै आफू पनि पुरै महिना चक्काजाम गरेर थन्किन नपरोस् ।

हेल्लु बजारमा ड्राइभरले भोक मार्न थाल्यो । केही नयाँ अनुहार सहितको जमात सडक नाघेर गाउँतर्फ उकालिंदै थिए । सबै चनाखो र शसङ्कित मात्र बनेनन् एकापसमा कानेखुशी र मुखामुख पनि गर्न थाले । सायद भैंसीसँग जोगी र जोगीसँग भैंसी डराएको हुनुपर्छ । राम्दीघाटमा बोलेका मेरा सिटका साथी फेरि दोस्रोटपक बोले–“मान्छे मात्रै रैछन्, हतियार भने रहेनछ ।” म केही पनि बोलिन ।

एशिया मात्र हैन अफ्रिका र ल्याटिन अमेरिकामा पनि सशस्त्र विद्रोहहरु नभएका हैनन् । रोमानियाका चाउचेस्किदेखि  पेरुको फूजिमोरी, ईन्डोनेसियाको सुहार्तो र फिलिपिन्सको मार्कोस पनि जनताका सामु घुँडा टेकेकै हुन् । यी घटनाहरुले बिश्वभर संस्कृतिको रुप धारण गरिसकेकाले यो परम्परा हाम्रो देशमा पनि किन देखा नपरोस् र ! तर दश बर्षे सशस्त्र क्रान्तिमा झण्डै १५ हजार नेपालीले ज्यान गुमाइसक्दा समेत केही नभएपछि हरेक तप्का र ढोका–ढोकाबाट दीर्घकालीन जनयुद्धको बिट मार्दै शान्तिपूर्ण राजनीतिक निकासको विश्वासिलो प्रेरणा अङ्गालेर हिडेकाहरु पनि बैशाख ७ गते काठमाण्डौको घाँटी कलंकीमा चार–चार जना ठहरै बनेर नै परिवर्तनको बिश्वासले उठेको जनउभारले एघार गतेको मध्यरातमा बल्ल काँचुली फेरेको थियो । त्यसपछि घर छोडेर जङ्गल पस्न बाध्यहरु, देशको माटो भुलेर बिदेशिन बिवशहरु अनि अहिंसाका हिमायतीहरु बिस्तारै अवतरण हुँदै थिए । हिंसाले बर्चस्व कमाएका प्रथम र दोस्रो बिश्वयुद्धहरु, बोल्सेभिक र चिनिया क्रान्तिहरु पनि छिचोलेर शीतयुद्धको संघार नाघिसक्दा इतिहासले त्यही निचोड निकालेको छ जबकि हिंसाको शासन सशक्त त हुन्छ तर क्षणिक र मृत्युवरण भन्दा पनि महङ्गो हुन्छ । मुख्य कुरा त यस्तो परिपाटीलाई अङ्गिकार गरेर बाँच्न सगरमाथाको देशका सिद्धार्थहरु अनिच्छुक छन् । त्यसैले त नववर्षसँगै नयाँ वातावरण सक्रिय बनिरहेको छ ।

गुरुजीले डकार्दै एक्सिलेटर दाप्यो । गाडीभित्र गुम्सिएका यात्रुहरु झ्यालका सिसालाई आफ्नो आवश्यकता अनुसार सारेर बाहिरी हावामा बौरिन थाले । दुई तीनवटा पसलहरु छामछुम पार्दा पनि हेल्लुमा फोन नभएको थाहा पाएको थिएँ मैले । आफू अझसम्म ठिकै रहेको जानकारी दिन मन लागेको भएपनि म विवश थिएँ । चार पाङ्ग्रेले जोगीफाँटमा ढाड मर्काउदै बायाटारीबाट करेन्डाँडालाई ताकिरहेको थियो । बारीको छेउका काप्रोका बोटहरुमा म हुत्तिदै पुगेर सोलाहरु टिपी अमिलो अचार पनि चाखेर फर्कें । त्यो नोष्टाल्जियाले मलाई स्कूले जीवनतर्फ बलजफ्ती तान्दै थियो जुनबेला म हावाले उडाएका सोलाका फिर्काहरु टिपेर दाँत कुड्याउँथें तर अहिले भने म स्थूल बनेर राङ्खोला हुँदै स्याङ्जा सदरमुकाम छेउको वी.पी.को पूर्ण कदको शालिकसँग लोकतन्त्रको परिभाषा खोज्दै थिएँ । यस्तो लाग्यो त्यो निर्जीव प्रतिमाले “तिम्रो जवाफ सडकमा पनि भेटेनौं ?” भन्यो क्यारे ।

सदरमुकाम सकेर गाडी कुईक्क दाहिनेतर्फ घुम्यो । अर्धकदको वीरेन्द्रको शालिक बीचमा रहेछ । २०५८ मंसिर आठको भीषण स्याङ्जा आक्रमणको आलो घाउ चस्किरहेको थियो ।

यी तिनै घटनाहरु हुन जसले रातो रगतले इतिहासका पानाभरी स्वतन्त्रताको बीउ छर्न उत्साहित बने । गहुँ पिसिँदा पिसिने घुनको त कसलाई के प्रवाह भयो र ! सायद त्यो महान उत्सर्गको पनि नजरअन्दाज भएपछि अनेकौं रक्तबिज सहितका परिवर्तनका सोंचहरु जन्मन बाध्य बनेर नै आजका यी दिनहरु उदाउन सक्षम छन् । फेदी बजार हुँदै बस नौडाँडातर्फ लाग्दै गर्दा म राजमार्गको विषयमा सोच्दै थिएँ । मनको शान्ति खोज्न यो राजमार्गले पनि ठूलै भूमिका खेलेछ । यो त्यही सडक हो जसलाई प्रयोग गरेर हिजोसम्म सयौं नेपालीहरु विदेश पलायन भएका थिए । अब भने तिनीहरु फर्किदा हरेकका मुहारमा अनिश्चितता र नैरास्यताको अलावा अक्षय कान्ती विराजमान हुनेछ । आफ्नो प्यारो मातृभूमीलाई चटक्कै छाडेर मान्छेहरुको भिडमा रबिन्सन् क्रुसो बन्न विवश नेपालीहरुले पुनः नेपालगञ्ज, रोल्पा, प्यूठान र दाङ् हापुरेका कथाहरु दोहोर्याउन नपरे कति जाति हुन्थ्यो होला ।

छोरेपाटनको उपल्लो कुईनेटोमा ब्रेक र टायर एकैचोटी करायो । म पनि हुत्तिएर ब्युझेंछु । सिद्धार्थ राजमार्ग निर्माणमा दाता राष्ट्र भारतको होस् काढ्न ठडिएको बन्जड भालूपहरो र कुभिण्डे भञ्ज्याङ् अबचेतन मन भित्र विम्ब उतार्न खोजेपनि मेरो केही जोर चलेन । यात्राको उत्तरार्धमा पेटका चरामुसालाई पोखराका मनोरम छटाहरुसँगै थम्थमाउँदै थिएँ मैले । विमानस्थल अगाडिको मूल सडक निखारेर पृथ्वीचोकमा बस घ्याच्च रोकियो ।

“लौ है गुरुजी म त ओर्लें राम्ररी जानुहोला” भनेर सिटका सहयात्रीसँग हात मिलाउँदै ढोका कुरेको रमाइलो साथी मुन्द्रेलाई ६ वीस रुपैया बुझाएँ । लु. १ ख. १६९६ सँगको सम्बन्ध औपचारिक रुपमा सकियो । ढोका ओर्लदै गर्दा सिसामा टाँसेको स्टिकरमा आँखा जुधेः

हवाएं जव चलती है तो पत्ते टुट जाते

नए यार मिलते है तो पुराने छुट जाते  ।।

गाडी छोड्न नपाउँदै मिनिमार्केटको पसलबाट ठूलीआमा कराउनु भो– “ऊ मेरो छोरो आइपुग्यो ।” उहाँलाई ढोगेर बिजय भाइसँग आफ्ना विषयका फत्तुर मार्न नपाउँदै उसैलाई पसल जिम्मा दिएर हामी आमाछोरा घरतर्फ जान लागेको ममतामयि आदेश पाएँ मैले ।

Lok Raj Pathak
Lok Raj Pathak Administrator

Lok Raj Pathak is a Professional Computer Engineer and Technology enthusiast. He has completed Master in Science in Information Technology (M. Sc. IT) and Master in technology in Computer Science and Engineering (M. Tech. Eng). He usually writes in science and technology, life style and religion.

follow me

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave comment