कि कसो !

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म घुम्छु । सकेसम्म डुल्ने प्रयास गर्छु । म पनि यिनै पाखामा आँखा खोलेको हुनाले हरेक अभिनय गर्न सक्छुः जँड्याहा, जुम्सो, लठेब्रो, दुःखी, टुहुरो, समाजसेवी, नामको पछाडि कार झुण्डिएको गन्यमान्य, एउटी बिधवा वा थाक्न लागेको बकेर्नो चौपाया आदि आदि । यसको अलावा तेस्रो ध्रुवको डाँडोले गंगटोलेझैं कुन्नि कताबाट झुक्याएर चपक्क समात्छ थाहै पाउँदिन । त्यसपछि म बिस्तारै पोखिएर त्यो कब्जाबाट उम्किन्छु । अलिकति सान्त्वना मिल्छ । टेबलमा ती सबै पानाहरु लामो समयसम्म जिस्काई रहन्छन् । कयौं पटक त मेरो सहयोगीले ती सबैलाई एउटै चिहानमा खाक पारिदिन्छ । थाहा पाएपछि म उसलाई पुलुक्क हेरेर आफैलाई गाली गर्छु । महाभारत श्रृङ्खलाको कुनै खोचमा अवस्थित उक्त पाखोले कुनबेला मसंग मितेरी साइनो लगायो थाहै पाइन । काली गण्डकीका लहरहरु संग सुसेली हाल्दै पावन वसुन्धरामा धेरैपटक मृत्युलाई छामिसके पछि पनि केही सिप नलागेर नियतीको चक्रबाट भाग्न होइन केहि बेर जोगिन शब्दहरुमा बैभवपूर्ण साहित्यिक समाजको कल्पना गरी त्यसैको पालन पोषण र उन्नयनमा लाग्न तम्सिएँ । यस्तो लाग्थ्यो जुन समाजमा मृत्यु छिर्नै सक्दैन त्यहाँ मेरो अन्त्यको त प्रश्नै नउठ्ने भयो । त्यही मेरो आदर्श समाजको समृद्ध समुदाय, एउटा गाउँ वा यो राष्ट्रको एउटा भाग अझै घर अगाडिको मकैको सुली, पालिको डाँडा–भाटा, खामो, धरम्भाटी र ती सबैलाई अड्याउन त्रिभूज आकारको मेठ, मुख्य निरल, खर र चोया मिश्रीत वा स्लेट वा टिनको छाना यी सबैलाई छोटकरीमा भन्नुपर्दा गुजुमुच्च मिलेका घरहरु, आडैमा गोठ वा आ–आफ्नै पाराको व्यबस्थापन बोकेको गाउँ र विकासको चटनी चाट्दै गरेका शहरहरु मेरो उत्सुकता र इच्छाले हौसिएका पदचापहरुमा म भित्रको खुल्ला आकाशझैं अनन्त सम्म फैलिरहे । लाग्छ मेरा हरेक पाईलाहरुमा त्यो गाउँले यस्तै आफ्नो इतिहास सुनायो र भन्यो–“म त एउटा नमूना मात्र हुँ, देश हेर्ने भए मलाई हेर आफूलाई हेर्न दर्पण ।”

ऐना हेर्दा त आफ्नै मुखौडा देख्नुपर्ने हो तर मैले त त्यहाँ टपरी बुन्न ल्याएका सालको पातका मुठा, बाँसका सिन्का, ऐंठे पारेर बाटेको बाबियोको कुचो, काठको ठेकी, कुँडो तताउने ताउलो, तुलसीको मठ, तीन चार वटा घरको एउटै आँगनमा घर धन्दामै दिनचर्या बिताउन बाध्य पुरानो समाजको पूर्ण अंश फूर्सदको समयमा पिंढी र चोटामा जम्मा भएर दुःख सुखका बात मारेको र आडैमा सिङ्गो काठको मुढोबाट बनेको लिस्नो पो देखें । आफ्नो तस्विर खोज्दै उक्त लिस्नो उक्लेर धेरै माथि पुग्न नतम्सिएको पनि हैन । यस्तै प्राकृतिक बैभवताले भरिपूर्ण पखेरोमा आफ्नै खुट्टा दुखाएर हरेक दृष्य चर्मचच्क्षुमा कैद गर्दै अलिकति बौरिन नपाउँदै फेरि नचाहंदा नचाहंदै त्यो गाउँ छाडेर मलाई यता हानिनु पर्यो । त्यसपछि सबै चीजहरुलाई एउटा थुन्सेमा बोकेर म देशको अर्को पखेरातर्फ बेग्गिएँ । कसले कति विश्वास गर्छ थाहा छैन तर ढाँटेको भए मरिजाउँ ।

सिस्नु टिप्न लिस्नु लाउनु पर्दैन,भन्थे तर मैले भावको भर्याङ्ग प्रयोग गरेर त्यही सिस्नुको खोले, सिलामको अचार र सिन्कीको झोलसंग सिरौँला बुक्याउँदै चिलाउने र कटुसको बोटमा भुर्र उडेको सारिका अनि आफ्नै नाम काढ्ने कालो चरो अझै सलज्ज ढुकुरका भाले पोथीको आडैमा झुलेका बालीहरु र सिलसिला मिलाएर परसम्म अग्लिंदै गएका टाकुराहरुमा सम्मोहन जागेको महशुस भएको थियो । त्यो मेरो जन्मभूमीको सरोजिनीमा यसरीनै कमलिनी फक्रिरहेछ र झरिरहेछ तर कसैले पनि त्यसको वास्ता गर्ने न सोच बनायो न मौका । मेरो मनोकांक्षा उक्त सरोजिनीमा पौडी खेल्नु थियो । पटक–पटक जुल्काएँ तर खै…. ।

त्यो डाँडोमा बाँचेका दिनहरु म कदापि फर्काउन सक्दिन । न त्यो संस्मरण न ती साथहरु । ती सबैलाई सदैब आडैमा बिचरण गराउने गरी यी शब्दहरु कोरिरहेछु । पहाडी दृष्यको आकर्षण र त्यही दुःखलाई मैले गहिराईमा पुगेर त्यसैमा आनन्द, सन्तुष्टि र सौन्दर्यको साथमा अपरिमित खुशी खोज्न केही सफल भएको महशुस भैरहेछ ।

फेरि भन्न मन लाग्छ, यीनै पहाडका ध्वनिहरुनै जीवनका वास्तविकता हुन् । लालीगुराँसका राताम्य जङ्गल, रुखहरुमा फैलिरहेका लहरा, सून्दर प्राकृतिक बगैचा एवं हिमश्रृखला नै स्वर्ग हुन् । गाउँले जीवनका शास्वत पक्ष, सोझा, सरल गाउँले, कामको खोजिमा देश तथा विदेशमा पलायन हुन बाध्य एकलव्य र सुदामाहरु, भगिरथ र लक्ष्मणहरुसंगै तिनीहरुको पीडा मिश्रित अमूर्त खुसीलाई शब्दचित्रमा थुन्न पाउँदा म ठूलो महायज्ञको श्रीगणेश गर्न मण्डपमा बसेको महशुस गरिरहेछु । यसरी नै योगदान गरिरहन पाएँ भने मेरो लागि ठूलो बरदान हुनेछ ।

सामाजिक पात्रको अभिनेता हुन म डराई रहेछु जसले मेरो हैसियत देखाउन सक्छ । त्यसैले आत्तुरीमा पोको पारेका यी मेरा शब्दहरु नियात्रा शैलीमा लिन्ठिङ्ग उभिएका छन् । डुलावाको केही भर नहुने रहेछ । खन्चुवा हन्तकाले नजरहरु जति हेरेपनि बलवान समयसामु नयाँ पर्दा स्वीकार्न तयार भैहाल्दा रहेछन् । बासी भैसकेपछि काल्पनिक अभिव्यक्तिमा प्राण नभेटिनु स्वभाविक हो । त्यसैले त्यो अर्धानो सस्मरणलाई आत्महत्या गर्न नदिन यात्राको बिट मरेपछि एकान्तमा बसेर शब्द र भावहरुको बिस्कुन हाली केही सत्यता र दुर्घटनाहरुलाई निफनी पोगटाझैं हुत्याएर केकानै सिर्जनशिल बनेको जँचाउन नकटो पारा देखाएको छु ।

व्यक्तिगत कमजोरी सबैसँग हुँदा रहेछन् । कताकति तिनीहरुले आफ्नो रुप प्रदर्शन गरेर बखेडा खडा गरेपनि त्यसैको आडमा उसका सिर्जनाहरुलाई गलत दृष्टिले अबमुल्यन गर्नु ज्यादै नराम्रो हो भन्ने सुनेको छु । मलाई त यस्तो लाग्छ मानब ज्ञानी बन्न सक्छ तर सर्वज्ञ बन्न असम्भब हुन्छ क्यारे । कहि कतै केही छुटेको भए आफ्नै कृति र पाखोको बर्णन ठानेर काँटछाँट गर्न छुट दिनैपर्छ । एउटा आदत नै बसेछ, आफू हारेर अर्काको खुसी देख्ने । मनपरे पढिदिनुहोला । गाली पाए ताली बजाउँला । मेरो माया कसो नलाग्ला र । कि कसो !

Lok Raj Pathak
Lok Raj Pathak Administrator

Lok Raj Pathak is a Professional Computer Engineer and Technology enthusiast. He has completed Master in Science in Information Technology (M. Sc. IT) and Master in technology in Computer Science and Engineering (M. Tech. Eng). He usually writes in science and technology, life style and religion.

follow me

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave comment

Your email address will not be published. Required fields are marked with *.

error: Content is protected !!