घुम्दैफिर्दै आलमदेवी

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हामी सबै जना आँगनमा पहारिलो घाम तापेर बसिरहेका थियौं । वरपरका गफहरु, व्यवहारिक छलफलहरु, पढाईका कुराहरु, हिउँदको जाडो र पानी परेपछि अझै चिसिने वातावरण आदि आदि । उतापट्टी दिदीले अमिलो साँध्ने काम गरिरहनु भएको थियो । पुस महिनाको न्यानो मध्य प्रहरमा आफ्नै घरको आँगनमा स–परिवार बसेर भलाकुसारी गर्नु मेरो लागि ठूलो सौभाग्य जुटेको जस्तो लागिरहेको थियो ।

धेरै वर्ष भैसकेको थियो होला हामी यसरी स–परिवार नजुटेको । तर आज किन–किन सबै खुसीहरु मेरै पोल्टामा भरिपूर्ण भएजस्तो लागिरहेको थियो । त्यो आनन्दानुभूतिले न्यानोपना वर्षाइरहेको थियो । त्यही उत्साहमा म पनि घरी यता घरी उता गुन्द्री फेरि–फेरि बसिरहन्थेँ । डाँडोमा भएको हाम्रो घरबाट कालीपारिका फाँटहरु, नागबेली बनेको गण्डकी, नीलो तर घुर्मैलो नीलगगन अनि माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाहरु अनन्त वैभव समेटेर हाम्रै समिपमा झुमिरहेजस्तो लागेको थियो ।

आँगनको डिलमा पारीजातको बोटमा चरा कराएको अनि हिमालको काखबाट आएजस्तो शीत मिश्रित बतासले अलि–अलि मेरो मुहारमा सुम्सुमाएको थियो । त्यत्तिकैमा स्कूलबाट भाइ आइपुग्यो । मात्र उसैको कमी थियो त्यो पनि पूरा भयो । उसले “आमा खै” भनेर सोध्दा बुबाले ‘ऊ पल्लो कोठामा’ भनेपछि भाइ उतैतिर लाग्यो ।

“ल तयार भयो अब मज्जासँग खानुपर्छ” । दिदीले भतिजीलाई अह्राउँदै भन्नुभो । “ए नानू, तिमीले सबैलाई पालैपालो दिने है त ।” दाजुको छोरा बुर्कुसी मार्दै गयो । “नाई पहिला मलाई दिनुपर्छ ।” अहिले हामी सबैको हातमा साँधेर तयार भएको अमिलाका कचौराहरु थिए ।

त्यसैबेला भाइ उतैबाट करायो ।

बुबा, … ए… बुबा, ढोका खोल्नुस् न बुबा … ए… बुबा… । तर त्यहाँ अचम्मै भयो …, हामी कसैले पनि त्यो अमिलो खान पाएनौं ।

एक्कासी परिवर्तन भएको त्यो परिवेशले मलाई बिर्घा फाँटमा अवस्थित मेरा अनन्य मित्र नारायण पाण्डेयको कोठामा निद्राबाट ब्युँझाएर पछारिदियो ।

बिहानी क्याम्पस जानुपर्ने हुनाले ऋषि भाइले पहिल्यै फुर्तिफार्ति गरेर चियाका कपहरु सहित मेरो सपना भत्काउन आईपुगेका रहेछन् । बैठक कोठामा नारायणका बाबा सहित हामीहरु सँगसँगै सुतेका थियौं ।

छ बजेर पार भैसकेको नाडी घडी हेर्दै नारायणलाई शुभप्रभात भनेपछि सँगै सुतेका राजभाइलाई जगाएर मीठो चियाको सिप लिन थालियो । मैले पनि अमिलो चिया खाएँ आधा सपना र बाँकी बिपनामा रुमल्लिएर ।

एउटा यात्राको सिलसिलामा हिजो राती हामी दुई जना पाल्पाका भेषराज कार्की र म, पश्चिम नेपालको पहाडी भेगमा पर्ने स्याङ्जा जिल्लाको बिर्घा खहरेमा बास बस्न पुगेका थियौं । बीच बाटोमा राज श्रेष्ठ भाइलाई चीलले चल्लो टप्क्याए झैं लगेर उतै दम्पच् पारेका थियौं ।

उद्देश्य त धेरै थिए । ती सबै कर्तव्यहरुलाई थन्क्याएर हामीहरु पुराना मित्रकहाँ अलिकति मन हलुङ्ग्याउन पुगेका थियौं । सहरको कोलाहल, खोक्रोपना र चौबिसघण्टे कफ्र्यूजस्तो उकुस्–मुकुसलाई बिर्सेर केहीबेर सुस्ताउनु हाम्रो मनोकांक्षा थियो ।

‘एक पन्थ दो काज’ भनेजस्तो त्यतै पुगेको बेलामा त्यता तिरको एउटा अति नै चर्चित शक्तिपीठको दर्शन गर्ने निर्णय गरेर हिजो परेला जोडेका थियौं । हाम्रो हिजोको कार्यक्रम छेपाराको आहान हुने प्रवल सम्भावना बढिरहेको भएपनि मैंले झट्पट् गरेर मन्दिर दर्शन गर्न जानेतिर तत्परता देखाएँ ।

स्याङ्जा, पाल्पा र गुल्मीको संगम नजिकै पहिलेदेखि नै विविध किंवदन्तीहरुका विश्वासमा हुर्किएको अझै नेपालको शाह राजघरानासँग सम्बन्धित शाहबंशीय कूल देवी आलमदेवी थानको पूजाको साथमा त्यता तिरका छटाहरुसँग जिस्किन हामीहरु चारजना पश्चिम स्याङ्जाको आलम डाँडोलाई गन्तव्य तोकेर लम्कियौं ।

हाम्रो विश्वविद्यालयको अध्ययनको मेलोमेसो मिल्दोजुल्दो भएपनि म हलुका पाराले काठमाण्डौमा भर्ना मात्र भएको तर उहाँहरु तानसेनमै सँगै पढेका अझै भेट भएदेखि समूहमा मात्र भएकाले केही कुराहरु भए भलाकुसारी होस् भनेर मैंले राजभाइसँगै अलि छिटो हिँडेर उनीहरु दुबैलाई एक्लै छाडिदिएँ । बाँकी थकान र उकालोले गाल्न खोजेको भएपनि हामीलाई भगवानप्रतिको भरोसा र विश्वासले तानिरह्यो । एक कप चियाको भरमा राजभाइको घरमा आइपुगेको १५ मिनेटपछि छाडेका साथीहरु पनि आइपुग्नुभो  । हामीले अघिल्लै दिन झोलाहरु त्यहाँ बिसाएर राजभाईलाइ साथमा लिई बिर्घातिर झरेका थियौं । त्यसैले झोलाबाट ब्रस झिकेर बाँकी नित्यकर्म सक्यौं ।

‘न नुहाएकालाई देउताले चिन्दैनन् कि’ भन्दै हुनुहुन्थ्यो साथीहरु तर मैले नागस्नान, बाघस्नान र कागस्नान गरी तीन किसिमको शैलीमध्ये जुन प्रयोग गरेपनि पूण्य उही हो भनेपछि जाडोको आडमा कागस्नान गरेर राजभाइलाई घरमै छाडी तीनजना पूनः उकालियौं ।

भन्ज्याङबाट १५ मिनेटमा पुगिन्छ भनेको भएपनि हाम्रो हल्का हिँडाईले झण्डै आधा घण्टा खाइदियो । वारिपारी छर्लङ्ग देखिने डाँडो र बस्तीहरु, प्राय: मगर गाउँ हुनाले बाटोमा हैकम जमाएका बङ्गुरहरु, उचाईबाट छर्लङ्ग देखिने चिसोले कठाङ्ग्रिएको हरियालीले ढाकेका पहाड हुँदै जाँदा उकालै भएपनि बाटोमा निकै सुन्दरताको स्वाद चाख्न पाएका थियौं । बाटोमा पर्ने आँपको बगैंचामा केहीबेर सुस्ताएर हामी लसर्घाको डाँडोमा अवस्थित मनोरम शक्तिपीठको परिसरमा छिरेर अवलोकन गर्न थाल्यौं साथमा बिसाई मेट्ने काम पनि शुरु भयो ।

अन्दाजी तेह्र चौध बर्षको केटा अझै भनौं वालक त्यो जाडोमा पनि आधा सुकिलो कछाड मात्र लगाएको, काँधमा जनै पनि छैन । गोबरले लिपलाप गरेर ढुनुमुनु गरिरहेको । उसलाई देख्दा एकपटक मलाई जाडो भयो अनि म भित्रको ईश्वरीय आस्था पनि ममता बोकेर घाँटीनेर ढक्क फूलेर बस्यो । पूजा गर्न आएका दुई–तीन ग्रुप मात्र त्यहाँ उपस्थित थिए । एकादशीमा त्यहाँ बली नचढाइने र उक्त दिन द्वादशीको बिहानै ईश्वर पुकार्न पुगेका थिए होला तिनीहरु ।

मैले सोचें, साँच्चिकै मान्छेले जसरी लुकी–लुकी मन्दिर र शक्तिपीठ धाउँछन्, त्यसरी नै असल कर्म पनि गर्ने हो भने यो संसार कति पूर्ण हुन्थ्यो होला । त्यहाँको चलन अनुसार पञ्चोपचार विधिबाट आलमदेवीको पूजाका अलावा दैनिक एक माना चामल अक्षताको रुपमा चढाउनुपर्ने र त्यसैलाई पछि बली दिएको रगतमा मुछेर फूल–प्रसादको रुपमा बाँढिने प्रचलन छ भनेर नारायणजीले सुनाउनु भो ।

हाम्रो पालो अझै आइ नसकेको साथै पूजारीले पनि आफ्नै काम नसकेकाले उहाँहरु दुबैलाई छाडेर वरिपरि बिचरण गर्न थालें । मसँग उचाई नाप्ने उपकरण पनि थिएन तर यति भन्न सक्छु कि १३७२ मिटर अग्लो श्रीनगर डाँडोको समकक्षी जस्तो लाग्थ्यो । त्यसैको आसपासमा यसको पनि उचाई हुनुपर्छ । जे भएपनि वरिपरिका सबै डाँडाकाँडा भन्दा उपल्लो चुट्टिमा पुगेको महसुस मैले गरिरहेको थिएँ।

हाम्रा कतिपय कर्खा, कहानी र लोककथाहरु जो पौराणिक कालदेखि भनिँदै, सुनिँदै अझै काँटछाँट हुँदै हालसम्म आए । तिनीहरुमध्ये प्रायःले धेरै वास्तविकता पनि बोकेका हुन्छन् । तिनै कथनका आधारमा समाज परिलक्षित भएको पनि हामी पाउँछौं । यही मेसोमा यो स्थानसँग सम्बन्धित धेरै प्रमाण बोकेको एउटा कथन मैले हाम्रा सहयात्रीहरुलाई सुनाएँ ।

वर्तमान भारतको कुनै प्रान्त, प्राचिनकालको चितौडगढमा बिराजित राजाले आफ्नी कुलदेवीको सपनाको दीक्षा बमोजिम राज्य छाडी आफ्ना भाइ र दलबल समेत वर्तमान देवघाटको बाटो हुँदै रिडीघाटमा पुगेछन् । त्यही बास बस्ने क्रममा प्यास लागेर पानी मागी खाँदा भाइ चाँहिले मदिरा पारेको घ्याम्पोको तातो पानी खाएकाले सोही राती सपनामा कुलदेवीबाट बिटुलिएको जनै झिकेर त्यहीको हिराढुङ्गामा राख्न भनिछन् । त्यही ढुङ्गालाई अझै पनि मास्की रानाहरुले आफ्नो मूल थलोको रुपमा मान्छन् रे । भोलिपल्ट त्यहाँबाट अघि बढ्दा बाटोमा व्यभिचारी कारिकोट का कार्की थर भएका खस राजालाई बुद्धिमानीपूर्वक जितेर हालको आलमदेवीको लसर्घामा अनुकूल स्थानको खोजीमा पुगेछन् । साँझ परेकाले भाइले भीमसेनपातीको स्याउलाले छोपछाप पारेर आराम गरेछन् । अर्कादिन बिहानै देवीलाई छुन खोज्दा भयङ्कर आवाजको साथमा जमिन चिरिएर देवी त्यही अलप भइछन् । ठूलो अलापविलाप पछि फेरि सपनामा देवीले “तिमी पीर नगर्नु मेरो स्थान यहीँ हुनेछ भाइले मेरो सेवा गर्नु, दाजुले राज्य गर्नु” भनेको र देवी अलप भएकाले आलमथान रहन गएको हुनसक्ने मेरो आख्यानमा उनीहरुले कौतुहलपूर्ण सहमति जनाए । सवाल जवाफ गर्न माहिर भेषराजको अर्को बज्रसरी प्रश्न पुनः मेरो लागि बाधा बन्यो –मगरहरु र खान वंशका राजाहरुका कुलदेवी कसरी एउटै हुनसक्छ ?

मेरो मनमा पनि त्यही रहस्यमय प्रश्नले डेरा जमाइरहेको थियो । एक भाइ मगर भएर पूजारी अनि अर्का भाइ शाह भएर राजकाज कसरी चलाए होलान त । चितौडगढको महाराजाले सपनामा देवीले मलाई यहाँ नराखेर उत्तरतिर लैजाऊ” भनेपछि बोकेर ल्याएकी देवी पो त्यहाँ अलप भएकी थिइन् । तिनीहरुको वंशज हेर्दा सरसर्ती मगर नै हुन जान्छ जवकि अझै पनि मास्की राना समूहका कुमार केटाले मात्र पूजारीको रुपमा रहन सक्छ । मुख्य प्रश्न त देवीले सपनामा भाइलाई पूजारी बस्नु र दाइलाई राज्य गर्नु भनेको कुरा नै मेरो मानसपटलमा झुण्डिरह्यो । धार्मिक आस्था र सपनामा भएको यो अटल विश्वासको परम्पराले नै पृथ्वीनारायणको एकिरकण अभियान सार्थक भएको थियो होला भनेर मनमनै गमेँ तर मेरो सोचाईले बिट मार्न सकेन ।

त्यो बेला हामी हल्का हावा चलेको र सबै पात झरेको मन्दिरको आग्नेय कोणको लाँकुरीको बोटमुनि उभिएर आ–आफ्नो तवरले मन्दिर निरीक्षण गरिरहेका थियौं । उनीहरु दुवैले मबाट आफ्नो प्रश्नको जवाफ खोजेको जस्तो लागिरहेको थियो ।

मैले प्रमाणपत्रको खुड्किलो पार गर्ने क्रममा नेपाल परिचय विषयको पचास पूर्णांङ्कको अव्यवहारिक र अपूरो कोर्ष पढ्नु परेको थियो । त्यसबेला  जङ् चलेर शाहवंशको नालीबेली उतार्ने क्रममा भूपाल राणाजी राव यतातिर छिरेका थिए भन्ने कुरा जानेको थिएँ । पाल्पा राज्यको इतिहास कोट्याउँदा चितौडमा रत्नसेन राजा थिए । उनैका वंशज तुथासेनका पालामा मुसलमानी आक्रमण भएपछि आफ्नो प्रयाग बिटुलिएको ठानी उत्तरतर्फ चम्पारनको राजपुरमा जाडोमा र गर्मीमा हाल पाल्पाको ठिमुरे गाविससँगैको रिब्दिकोटबाट राज्य सञ्चालन गरेको पनि स्पष्ट हुन्छ । पछि उनैका नाती रुद्रसेनको पालामा रिब्दिकोटबाट पूर्वपट्टी श्रीनगरडाँडाको दक्षिणी पाश्र्वमा पाल्पा राज्य सारेका थिए जहाँबाट मणिमुकुन्दसेनको राज्यले हाहाकार मच्चाएको थियो ।

कुलदेवीको अर्चना गर्ने क्रममा खान वंशका सम्राट सूर्यखान जसले सोह्रौ शताब्दिमा भीरकोट राज्य हाँकेका थिए, उनैले आफ्नो राज्यमा मात्र आलमदेवीको थापना नगरेर परम्परा नै बसाईदिए । यसै क्रममा गोर्खा राज्यका द्रब्यशाह लगायत वरिपरिका राज्यहरुले आलमदेवीलाई नै कुलदेवीको रुपमा अंगिकार गरेर आ–आफ्ना राज्यमा कुलपूजा शुरु गरे भन्ने कुरा राजधानीमा बेरोजगार भएर कोठामा बस्दा कास्की राज्यको इतिहासमा बियाँलिने क्रममा भेट्टाएको थिएँ तर पनि यी कुनै पनि विषय वस्तुहरु उनीहरुको प्रश्नको चित्तबुझ्दो निकास दिन सक्षम थिएनन् ।

आफू भित्रका सबै गन्ठ्यौनाहरुलाई त्यतै थाती राखेर मैले उनीहरुको माझमा चन्द्र वंशावलीको अर्को मिल्दो प्रशङ्ग जोडें । जस अनुसार, चितौडगढमा भूपति राणाजी रावले राज्य गर्दथे । उनका उदय बम, फत्तेसिंह र मनमथ नामका तीन छोरा मध्ये फत्तेसिंहकी अतिव सुन्दरी छोरी थिइन् । तीनै सुन्दरीका कारणले मुगलहरुले आक्रमण गरेपछि अरु दुईभाइ अन्तैतिर लागे भने मनमथका सन्तानहरु त्यहाँबाट भागेर रिडीतिर राज्य गर्न थाले । यसरी राज्य गर्दै जाँदा रिडीका राजा भूपालका दुई छोराहरु कान्छा खान र मिच्छा खानले क्रमैसँग घोरपाटन क्षेत्र, बिरकोट, सतहुँ, गह्रौ र नुवाकोट जितेर छुट्टाछुट्टै राज्य गरे । आफ्नो राज्य बिस्तारका क्रममा कान्छा खानले त्यही स्थानमा देवीसहित आराम गरेको बेला हराएकीले अलाप गरी त्यही देवी थापना गरेकाले सोही समयदेखि वर्तमान सम्म यो प्रथा चलेको हुनसक्ने र भूपति राणाजी राव र  वर्तमान शाही खानदानको एउटै भारद्वाज गोत्र भएको भेटिएको कुरा बताएपछि बल्ल उनीहरुले प्रश्न गर्न छाडे ।

“ए दिदै ल छितो भाले लेउ त । पूजा शुरु भओ” – एकजना मगर भाइले बाहिरी ढोकाबाट चिच्याएको आवाज हो यो । हामी पनि झटपट गरेर त्यही वरिपरि घेरियौं । नौ बजिसकेको थियो । नारायणजीले दश बजे जसरी पनि मास्टरी गर्न बोर्डिङ्मा नगै नहुने थियो । हामीले बाहिरी परिसरमै जुत्ता काढेर भित्र पस्यौं । पूजारीले भित्रैबाट पूजा छाडेर पुलुक्क हामीलाई हेरेका बखत भेषराजले “हामी रेडियोबाट आएका हौं, मिल्ने भए केही कुरा भन्देऊ है भाइ” भनेपछि बल्ल केही छुट भयो ।

जोसुकैले पनि कल्पना गर्न सक्छ कि देवीको थानमा एउटा मन्दिर होस्, केन्द्रमा सम्बन्धित देवी हुन् अनि आसपासमा उनका सहयोगी अन्य देवगणहरु पनि हुन्,… तर त्यहाँ त्यस्तो केही थिएन । मुख्य स्थानमा एउटा भीमसेनपातीको बोट थियो । त्यसैलाई चारपाटे पर्खाल आकारमा घेरिएर चारैतिर ढोकाहरु थिए । भित्रपट्टि भीमसेनपातीको रुखलाई मात्र समेटेर तीनओटा सिंढी भएको पेटी माथि छाना नभएको पर्खाल थियो । त्यो घेरा भन्दा बाहिर जमिनमा ढुङ्गा छापिएको परिसर र त्यसको वरिपरि घण्टहरु झुण्डाईएका थिए तर उत्तरपट्टि एउटापनि घण्ट झुण्डाईएको थिएन । त्यो पर्खालभन्दा बाहिर दक्षिणपट्टी पुरानो काठको मौलोले रगतका खाटाहरु सुकाइरहेको थियो । मैले नीतिबचन सम्झें: मान्छेले देवता साक्षी राखी कामरुपी बोको र क्रोधको राँगोलाई मौलोमा बलि दिन्छ । आफूलाई पनि भगवानको काखमै भएको सम्झेर त्यही रगतले तीन फन्को घुमाएर लक्ष्मण रेखा कायम गर्छ जसलाई नाघेर पुनः कुकर्म गर्न नसकियोस् । यो कुरा सायदै मन्दिर परिसरमा मात्र लागू हुन्छ होला नत्र विवेकी मान्छे मौकाको फाइदा लिन किन चुक्छ होला र !

‘ए स्याना, ला यो भेटी पनि चढाइदे’ भनेर बाहिरी ढोकाबाट एउटी अधवैंशे महिला कराइन । फुच्चे दौडेर गएर मोहोर लिएर फर्क्यो ।

त्यहाँको चलन अनुसार नारीहरु रजोवस्थामा पनि हुने हुनाले मन्दिरको बाहिरी ढोका छेउबाट मात्र दर्शन गर्न पाउने चलन रहेछ तर ठकुरी खलकका महिलाहरुलाई भने कुनै नियम रहेनछ । मैले धर्मशास्त्रकी जननी दुर्गा, काली र देवीको मन्दिरमा नारी स्वरुपलाई नै गरिएको भेदभावलाई समावेसी नारी हक र स्वतन्त्रताको कोणबाट महसुस मात्र गरें, केही बोलिनँ ।

“भाइ तिमी मास्कीराना हौ ?”

–अँ हो ।

“पूजारीले त जनै लगाउनुपर्ने, खै  त ?”

–छैन ।

“तिमी एक्लै हो, अरु छैनन् ?”

–हुन त हामी चार जना हुन्चम्, ठूलोपूजामा अरुनि आउँचन् ।

“कुन पूजामा कति जना हुन्छौ त ?”

–ठूलो दशैंमा सात जना, चैते दशैंमा ५ जना र न्वागीमा ६ जनाले पूजा गर्नुपर्छ ।

“तिम्रो बिहे भयो ?”

–बिहा गरे तस पूजेरी बस्न मिल्दैन ।

“खै त देवीको मूर्ति ? यो के को रुख हो ?”

–देवी त यही दुल्कोबाट भासिएकी हुन रे । यो रुखलाई यहाँ धुर्सेली भन्छन् ।

हामी ढोका बाहिरबाट प्रश्न गरिरह्यौं । उसले भित्रैबाट जानेजति भनिरह्यो । हामीले भित्रै गएर उक्त सुरुङ्को प्वाल हेर्ने मनसाय राख्यौं तर उसले पाईदैन भन्यो । त्यो धुर्सेलीको जरानेर परेको प्वालमा काली नदीको सुसाएको र दङ्दङ् छालको आवाज सुनिन्छ साथै दुइवटै दशैं र न्वागीमा त्यहाँबाट मध्यरातमा तेजस्वी ज्वाला निस्केर मानसरोवर कैलाशतिर लाग्ने कुरा पनि उसले हामीलाई बतायो । मैले कार्यालयका साथीहरुसँगबाट लगेको एकमूठी सिक्का र केही नोटहरु जकेटको खल्तीबाट झिकेर पुरै आस्थाका साथ आफ्नो, भेटी पठाउनेहरुको र मलाई माया मान्नेहरुको स्मरण गर्दै एकमुष्ट चढाएँ । पश्चिमपट्टिको ढोकाबाट स्पष्ट देख्न सकिनेगरी भीमसेनपातीको फेदैमा आधा गडेको पुरानो घण्ट पनि थियो । यही मन्दिरप्रति भक्ति राखेर जैनखानले उक्त ढुंडारमा भीमसेनपातीको रुख रोपिदिए ।

जमानामै साङ्लोमा झुण्ड्याईएको घण्ट अहिले रुख बढेकाले धसिँदै गएजस्तो देखिएको थियो । त्यो सबै दृश्य स्पष्ट आउने गरी फोटो खिच्ने हाम्रो मनोकांक्षा त्यतिबेला पूरा भयो जुनबेला ऊ आफै बली दिन गयो । कि आफैले बली दिनुपर्ने नत्र पूजारीले तोकेको मान्छेले मात्र मार हान्ने चलन रहेछ । त्यसैले पूजारी भाले काट्न उतातिर लागेका बखत हामीले मौका त पायौं तर भित्र पसेर फोटा खिच्न भने डर लाग्यो ।

मैले कताकति त्यहाँ प्राचीन समयका बढाँई गर्ने बाजाहरु ढोलक र अर्बाजोहरु पनि भएको सुनेको थिएँ तर देख्न पाएनौं । मेरो जानकारी अनुसार बढाँई दिनको लागि तानसेनस्थित सेनकालीन म्यागजीन अड्डाबाट नियमित रुपमा बारुद लग्ने गरेकाले अरु साजभाँडाहरु पनि त्यहाँ पक्कै छन् होला ।

सायद यस्ता आस्थाका बन्दी पथिकहरु यो स्थानमा धेरै आउलान् । अझै मसंग भगवानप्रति यति नै भरोसा छ भनेर भन्न पनि सक्दिन । एउटा कुरा बाजी ठोकेर भन्न सक्छु कि नयाँ ठाउँ घुम्ने मेरो रहर हो र बिरानो देशमा अघिपछि पर्गेलेकै भएपनि भगवान सिवाय को नै आफन्त हुन सक्ला र ! कुनै गल्ती गर्ने बेलामा सर्वप्रथम म आफैसँग डराउँछु त्यसपछि देवतासँग । मानौं भगवान मेरो लागि एउटा साक्षी हो र उसलाई ढाँट्नु हुँदैन । ऊ त मेरो असल साथी पनि हो । मलाई त यस्तो लाग्छ भगवान मान्छेको एउटा यस्तो आविष्कार हो जसलाई चोर, साधु, विद्दान, भक्त जसले पनि आस्तिक बनेर आफ्नो प्रयोजनको लागि उपभोग गरेर बर माग्छ ।

किन–किन त्यो बेला मलाई उक्त पहाडी डाँडोले गँगटोले झैं पक्रिरहेको भान परेको थियो । म आफैमा खुशी र रमाइरहेको थिएँ । साथीहरुसँग प्वाक्क–पुक्क बोल्नुको अलावा केही बहहरुमा रुमल्लिन पनि म चुक्दिनथें । केही बहसहरु म आफैमा निहीत थिए र मन मस्तिष्कमा एउटा आस्थाको संवेग वा कम्पन प्रसारित गरिरहेको महसुस भैरहेथ्यो ।

रेकर्डर झोलामा थन्क्याएर मेरो हातमा क्यामेरा थमाउँदै भेषराज बोल्नुभो । ‘मलाई ऊ त्यो डाँडोबाट हेर्न मन लाग्यो ।’

ढिलो भैसकेको हुनाले अन्यमनस्क भाव नारायणको मुहारमा झल्किरहेको थियो । “ल छिटो जाउँ” भनेर उहाँ नै अघि लाग्नु भो । हामीले नारायणलाई अनुशरण गर्‍यौं । त्यतिबेला मलाई साथी मात्र नभै असल मित्र पाएकोमा गर्वानुभूति भैरहेको थियो । मेरो चलाख नाकले थाहा पाउँदा नपाउँदै छुचो मुख बोल्यो –‘आहा कति मीठो गुन्द्रुक बसायो ।’

भेषराजको जवाफ: खाँदेको सिन्की भर्खरै निकालेर सुकाएको रहेछ । नाङ्लाभरि आँगनमा सुकाएको सिन्की हेर्दै हामी सबै एकपटक रसायौं । बिहेबारी नभैसकेको भएपनि नारायणजीले भावी सालीलाई जिस्क्याउन बिर्सनुभएन । होचा बुकुरा जस्ता खरले छाएका घुमाउने घरहरु प्राचिन र वास्तविक लागिरहेका थिए । कता–कता मलाई पनि मेरो पाखा र घडेरीको यादले सतायो ।

मन्दिरको पश्चिमपट्टीको त्यो डाँडोबाट वारपार छर्लङ्ग भुवन–मण्डली देखिएको थियो । वारिपट्टि गुल्मीको ठूलोलुम्पेक बाँयापट्टि अनि दाहिनेपट्टि मनोरम हर्मिचौर बजारका छानाहरुले फूर्केसल्लाको चन्द्र हेरेझैं हामीतिर हेरिरहेका थिए । यतापट्टि लसर्घाको बिस्तारै सोतोपरेर गएको डाँडोलाई प्रसिद्ध कालीगण्डकीले तीनतिरबाट काखमा लिएर बगेकी । क्रमैसँग परसम्म आकासको साँध लगाएर उकालिँदै गएका पहाडी सिलसिलाहरु । त्यसैको कापमा हाम फाल्लान् जस्तो गरेर बनाइएका घरहरु । जीविका धान्न बाठो भनाउँदो मान्छेले खोस्रिखास्री गरेर स्वामित्व स्वीकारेका पाखा पखेराहरु आफैमा गहन परिचय बोकेर उभिईरहेका थिए । त्यो जीवन्त चित्र मेरो क्यानभासमा घुमिरह्यो । प्रतिभाशाली भिन्चिको मोनालिसा भन्दा यी डाँडा पखेराहरुलाई आकार दिने हो भने आकर्षक बन्छ होला ।

त्यहाँ उभिइरहँदा हामीले केकानै योजनाकारले जस्ता छलफल गर्न पनि पछि परेनौं । त्यो सुख्खा डाँडोमा पानी ल्याउने, होटेलहरु खोल्ने, बाटो पनि खन्ने र आफ्ना देशभित्रकाले थाहा नपाएपनि गोराहरुलाई त्यहाँ ल्याइपुर्याएर छ्याप्छ्याप्ती डलर फलाउने, महिला पुरुष दुबैलाई दर्शन सुगम बनाउने आदि–आदि । कुरै कुरामा नारायणजीले रानीघाटबाट त्यहाँसम्म केबुलकार चलाउने महत्वाकांक्षी एजेण्डा पेश गर्नुभो । उक्त व्यङ्ग्यले हाम्रो छलफल पनि पेन्डिङ्मा थन्कियो ।

“अब हामी के गर्ने होला ?”

नारायणजीको सङ्कोची भावको यो प्रश्नसँगै एकपटक मुखामुख गरेर त्यो रमणीय डाँडोलाई त्यही छाडेर हामी ओरालोमा हुँइकिन थाल्यौं त्यही बाटोतर्फ जताबाट हामी पच्चीस मिनेट अगाडि आइपुगेथ्यौं ।

त्यो ऐतिहासिक स्थलबाट झरिरहँदा ओइघा भञ्ज्याङ्को मुनिपट्टि उत्तरतर्फको काली नदीको किनार हुँदै आँधी खोलाको दोभान समेटेर बिर्घा फाँट जाडोको हुस्सुसँग जिस्किन तयार भएको थियो । आलमदेवी मन्दिरको लागि छुट्याईएको नौ सय रोपनी गुठी जग्गा त्यही फाँटमा पर्दथ्यो । श्रीकृष्ण गण्डकी गाविसको वडा नं. ८ र ९ समेत मिर्मीसम्म फैलिएको उक्त गुठीको जग्गामध्ये कालीगण्डकी जलविद्युत आयोजनाले दुई सय बाइस रोपनी ओगटेकाले पच्चीस लाख रुपैया मुआब्जा गुठी संस्थानलाई बुझाएको कुरा नारायणजी भन्दै हुनुहुन्थ्यो ।

“ल फाँट आउने गरी फोटो खिच्नुस् ।”

फोटो खिच्न मन त थियो तर “तिम्रो फाँटको के त्यस्तो विशेषता छ र फोटो खिच्नु पर्‍यो ?” भनेर मैले खिच्चे थापें ।

‘यो फाँटको फसल खाएपछि त अनौठो पो हुन्छ त’ उहाँ भन्दै हुनुहुन्थ्यो– विर्घा फाँटको उब्जनीमा अमृत मिश्रित हुन्छ जसले वीरहरुको जठराग्नीलाई समेत शान्त पार्छ र धेरै बिगाहा समथर जग्गा भएकाले विरघाबाट विर्घा भएको हुनसक्ने प्रसङ्ग साथमा तरकारीजन्य खेती औधी राम्रो हुने कुरा पनि उहाँले बताउनुभो । मैले हिजैमात्र उहाँकै बारीमा देखेको दुई हातले उखेल्नुपर्ने मुला सम्झेर सहमति जनाएँ । हामीले त्यहीबाट नअघाउन्जेल फाँट नजरले पढिरह्यौं अनि हाम्रा साहित्यिक साथीहरुले पढ्ने कालीगण्डकी बहुमुखी क्याम्पस र पुरानो पुस्तकालय पनि आउनेगरी फोटाहरु खिचेर राजभाइकोमा आइपुग्ने बित्तिकै नारायणजीले केही औपचारिकताका साथ हामीलाई त्यही छाडेर स्कूलतिर बाइपङ्खिनुभो ।

राजभाइले आफ्नो अडियो पसलमा हामीलाई मनपर्ने गीतहरू र चिया तयार गरेर राखिरहनुभएको रहेछ । ती सबै कुराहरु स्वीकार्दै केही आफ्ना कुराहरू, विशेषगरी साँझ तानसेन पुग्नेगरी जानसकिने स्थलहरूको बारेमा सोध्यौं । राजभाइले पहिलो बाटो कालीगण्डकी जलविद्युत गृह मिर्मी हुँदै सिद्धार्थ राजमार्गबाट गाडी प्रयोग गरेर संयोग मिले पुग्न सकिने । दोस्रो बाटो २–३ घण्टाजति हिडेपछि प्रसिद्ध रिडीघाट हुँदै गाडी चढेर जानुपर्ने र तेस्रो बाटो पैदल हिँडेर जाने, भेट्यो भने एक घण्टा जति गाडी चढ्न पनि सकिने । कदाचित असम्भव भए साँझसम्म हिडेरै भएपनि पुग्न सकिने तर त्यस्तो विशेष घुम्न योग्य स्थान चाँहि नभएको बताउनु भो ।

प्राकृतिक छटासँग रमाउन मन त किन नहुँदो हो र तर पनि अघिल्लो दिनको थकान पुरै बाँकी भएपनि दुबैजना साँझसम्म जसरी पनि कार्यालयमा पुग्नुपर्ने हुनाले बिद्यमान परिस्थितिमा पाङ्ग्राहरुको भर पर्नुभन्दा खुट्टा नकमाउने निधो गर्‍यौं ।

केहीबेर हामी त्यो डाँडोमा नौलोपौलो बनेर बियालियौं । प्रायःले हामीलाई पनि कुनै बिचार बोकेका कानै चिरेका जोगी सम्झे होलान् । मुखामुख गरेपछि केही नबोलेर सुरु–सुरु बाटो लाग्थे । पर पुगेपछि बाटोको कुइनेटोबाट एकपटक शङ्का बर्षाएर पुनः आफ्नै गन्तव्यतिर घाँटी घुमाउँथे ।

पारिपट्टि गुल्मी, बीचमा स्याङ्जा र यतापट्टि पाल्पाका पहाडहरु चुपचाप मिलेर कालीको कलकल बहाबसंगै अद्भूत सौन्दर्य वर्षाइरहेका थिए तर त्यो सन्नाटामा हाम्रा नयाँ अनुहारले कुनै त्रासदी छरेजस्तो भान परेको थियो ।

मेरो मन खुम्चियो । सँगै नाकको टुप्पोमा पसिनाको चिसो महसुस गरें ।

कठै कस्ता दिनहरु बाँचिरहेछौं हामी नेपाली !

त्यो भञ्ज्याङ्को कौसीमा बसेर हामीले रानीघाटको बेलायती शैलीमा निर्मित प्रणयको ज्वलन्त उदाहरण रानीमहललाई ओल्टाई पल्टाई गर्दै सेलरोटीको साथमा विभिन्न नेवारी परिकारहरु राजभाइको आतिथ्यलाई हार्न नसकेर मज्जासँग खायौं उहाँकै घरमा । हिँड्ने बेलामा दुईवटा लौरा उपहार दिएर उहाँले हामीलाई अझै लज्जित बनाउनु भो । अनन्त वैभव समेटेर पसारिइरहेको त्यो डाँडो अनि श्रद्धाभावले ओतप्रोत अनुकरणीय बानी भएका ओइघा भञ्ज्याङबासीहरु र राजभाइसँग हात हल्लाउदै हामी दैलातुङ्को पैदल बाटोतर्फ सोझिन थाल्यौं । माथिबाटै पुग्ने ठाउँ देखेका भएपनि यात्रामा हामी कहिले पाखातिर पुग्थ्यौं अनि कहिले गोठतिर र कुनैबेला विद्यालयको प्राङ्गणमा पुगेर पुरानै बाटो दोहोर्याउँदै ओरालो झरिरह्यौं ।

दैलातुङ् घाटमा त पुगियो तर पारिपट्टी केही भुराभुरी र डुङ्गा मात्र पौडिरहेको थियो । भएजतिको पानी सबै मिर्मिबाटै थुनेर लगेको भएपनि नदी हामीले हेप्न सक्ने भन्दा ठूलै थियो । अझै जुनसुकै बेला पनि ड्याम खोलिने र बन्द हुन सक्ने हुनाले किनार र घाटहरूमा कहिले लास पखाल्ने पानी पनि नहुने र कहिले आधा लास नै बगाएर लाने हुनाले हामी बिलखबन्दमा पर्‍यौं ।

चोक्टा खान गएकी बुढी जस्तो बनेर टाउकै माथि पुगेको सूर्य हेर्नु सिवाय हाम्रो केही काम भएन एकछिन् । ख्याल ख्यालमै फुच्चेहरूले लौराका सहाराले डुङ्गा वारी ल्याए । एकछिन कान्छो बाबुको अनुहार ठानेपछि माझीको अत्तोपत्तो नभएकाले आफै डुङ्गा चलाउने दृढताका साथ पानीमा होमियौं बुढो सिमलको काठमाथि बसेर । बीचमा पुग्ने बेलामा डुङ्गा डग्मगाएको भएपनि घाट यही हो पीर गर्नु पर्दैन भनेर बेचैनी हाँसोको एक फिर्को ओकल्यौं ।

‘आगो, पानी र बैरीसँग ख्याल नगर्नु ।’ डर र दृष्टान्त मिसिएको प्रतिक्रिया थियो भेषराजको भनाईमा ।

ठाउँ नौलो भएपनि त्यस्तो किसिमका उकाली ओरालीहरू मैले धेरै गरेको छु । यही कालीको कुनै किनारमा बाबियो र खरका चुल्ठीहरूसँग रक्ताम्मे हुँदै बाँदर कुरेर लखट्दै खोलो कटाएको छु । साथीहरूसँग खर्मरिदै सालघारीमा स्याउलामाथि पछारिदै ऐसेलु टिपेर खाएको छु । बिहानभरी बाँदर लड्ने भिरमा पुगेर डोको र मुठो घाँस ल्याएर मोही र आटो खाने बित्तिकै बाख्रा चराउन बुर्कुसी मार्दै चउर र खर्कमा जिस्किएर फर्कदा पनि झन उर्जा बर्सिन्थ्यो तर आजभोलि त यस्तो लाग्छ मेरा खुट्टा कुजिएका छन् ।

त्यो उकालोमा हामीहरु एक किलोमिटर नउक्लदै खुईय गरेर फोक्सोको एक्सिलेटरलाई बिचार्दै हातले उकालोमा लठ्ठीको गियर फेरिरह्यौं । यति हुँदाहुँदै पनि आफैले इच्छाईएको दुःख हुनाले आनन्दित नै थियौं । भेषराज ओठमुख सुकाउदै पुयाइ–पुर्याई बोल्नुभो– ‘बल्ल खाइस् मंगले आफ्नै ढंगले ।’ एकछिन बोलचाल बन्द । हिडाई मात्र चालु रह्यो ।

एक त उकालोले गालेको अझै ममाथि अल्लि विश्वास टुसाएछ कि साथीले आफूभित्र गुम्सिएको एक प्रकारको जवानीको अनुभवको बारेमा गोप्य पाराले उच्चारण गर्नुभो र सम्बन्धले मित्रताको हैसियतमा बाधा पारेको पनि जँचाउँनु भो ।

मैले भनें : ‘कुनै युवा र युवती बीच साथित्वको सम्बन्ध धेरैबेर कायम हुनै सक्दैन । बीचमा प्रेमले तगारो हाल्छ । प्यार जन्मेन भने सम्बन्ध बन्द हुन्छ । यदि ममता टुसायो भने सम्बन्धले रूप बदल्छ ।’

“छोडिदिनुस् यी कुरा, सब वाहियात ढुङ्गा जलाउन जानेकाहरु !” साथीले फेरि पीडा दबाए।

फेरि बोल्नुपर्ने भयो : हेर्नुस् कसैको ज्यादै नजिक जानाले नाशको कारण हुनसक्छ र टाढा रहँदा पनि फल प्राप्त हुँदैन । त्यसैले आगो र स्त्रीलाई बीच भागमा बसेर मध्यम पाराले सेवा पुर्याउनुपर्छ । यसो भयो भने मात्र सृष्टिको रथ सक्षम तरिकाले चल्छ तर हामीले भालेवाद र पोथीवादका कुरा गरेर नारीलाई एउटा कमजोर लिङ्गका उपमामा सजाएर उनीहरुको बेगमा लगाम लगाउने कुचेष्टालाई सधैं सार्थकता दिएर एउटा सानो घेरामा सीमित राख्दै विवेकहीन कार्य दोहोर्याईरहेका हुन्छौं । वास्तवमा उर्जा नथपेपनि उनीहरुको प्रति समष्टिगत र  सहअस्तित्व स्वीकारी दिने हो भने पनि स्त्री चरित्रको क्रियात्मकताले विश्वलाई कायापलट गरिदिनेछ ।

यसपछि भने हामी दुबैले सहमतिमा आएर मौका परे दुर्गाकाली नत्र एउटी अवला पनि बन्न सक्ने नारीलाई हेर्ने हाम्रो दृष्टिकोणमा नौलो प्रभाव परेको महसुस गर्‍यौं । चार पाङ्ग्रेको आसमा दुई तीनवटा बस्तीका स्टेशनहरु पार गरिसक्दा पनि जोर नचलेपछि मनभरीका इच्छाहरुलाई भित्रै गुन्द्रुक झैं खाँदेर आफ्नै एघार नम्बरको ईश्वरीय साधन प्रयोग गर्न बाध्य थियौं हामी । यम्घा, दैलातुङ्, खानीगाउँ र बराङ्दीका प्राकृतिक सौन्दर्यहरु र व्यवसायिक माहुरीपालन गरेका स्थानहरुलाई मुखमा परेको सूर्यको किरण र जाडो महिनाको वास्पिलो उष्मासँग कुहिरिमण्डल बनेको कच्ची सडकमा केकानै उपलब्धि बटुल्न झैं लुखुर–लुखुर गरिरहेका थियौं । ठूलै थकानको बोझ आँखामा बोकेर सहयात्रीलाई हेर्दा स्पष्टरूपमा उनको पनि मेरै हविगतमा बेकारीभावले मुहारको मधुपर्कलाई गुट्मुट्याई रहेको थियो ।

दैलातुङ्मा सेनबंशी ऐतिहासिक अन्नपूर्णेश्वर मन्दिर र थुप्रै घुम्न योग्य स्थानहरू भएपनि अर्को दिन छुट्टै कार्यक्रम बनाएर उत्खनन् गर्न आउने निर्णय गरेर ठिमीको उकालोमा मरेको बिरालो च्यापिरहँदा बल्ल–बल्ल एउटा जीपले अठार बीस जना यात्रीसहित एउटा बिरामी पनि बोकेर आइपुग्यो । हठात हामीहरू पनि जीपको छतमा कोचियौं ।

कुनै शान्त राजमार्गमा डाँक सेवाले लिनेजस्तो गति, कच्ची र घुमाउरो बाटो अझै केही दिन अघि मात्र यस्तै बाटोको दुर्घटनामा ८–९ जनाको ज्यान गएकोले मस्तिष्कले खबरदारी गरेको थियो तर चालक बाहेक हामी सबै विवश थियौं ।

आखिर जे भएपनि हुटका रडहरू समाउँदै हुरी लागेको बेलाको डाँडोको सुरिलो पोथ्रोजस्तो बन्दै तीस रुपैयाको धुलो किनेपछि मात्र मिसन अस्पतालको गेटमा सास फेरेर तानसेनको नारायणस्थानमा आएर जीप बिसायो ।

त्यहींको धारोमा सामान्य चिनजान हुनसक्ने गरी हातमुख धोएर शरीरको धुलो झार्न गलबन्दीले एकछिन् कुटाकुट् गरेपश्चात् फोटा साफ गर्न दिएर भोकको औषधी गर्ने बेलामा यात्राको मूल्याङकन गरियो । नौलो स्थानको यात्रापछिको सकुशल अवतरण र मीठा स्मरणका पानाहरूलाई मानसपटलमा थन्क्याएर भविष्यमा पनि दर्पणसरी ओल्टाई पल्टाई गर्ने हाम्रो मनोकामना पूरा भएकोमा २०६२ साल पुस १३ गतेको साँझमा मलिन किरणका साथ पश्चिमी डाँडोमा ओझेलिन थालेका भानूलाई हात हल्लाउदै एकापसमा बिदाईका जोसिला हात मिलाएर आ–आफ्नो कार्यालयतिर लाग्यौं ।

२०६२ माघ १० गते, तानसेन

Lok Raj Pathak
Lok Raj Pathak Administrator

Lok Raj Pathak is a Professional Computer Engineer and Technology enthusiast. He has completed Master in Science in Information Technology (M. Sc. IT) and Master in technology in Computer Science and Engineering (M. Tech. Eng). He usually writes in science and technology, life style and religion.

follow me

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave comment