जदौ तानसेन !

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तानसेनको मिनीबस,

झ्यालमा बसि बोलाउने को हो नि,

लाईहाल्यो मोहनी ……

शीतलपाटीमा,

घुमौला दिनभरीः जाउला रातीमा

“तपाईलाई थाहा छ : हुक्का, ढाकाटोपी र करुवाको लागि प्रसिद्ध ठाँउ कुन हो ? पर्खनुस्, एउटा प्रश्न सोध्छुः नेपालको एउटा यस्तो जिल्लाको नाम भन्नुस् जसलाई उल्टो सुल्टो जताबाट पढेपनि उही बन्छ । विचार गर्नुस् ।” यो गाँउखाने कथाजस्तै हो । गाउँ नदिएपनि खाने र बस्ने ठाउँ त दिनुहोला नि ।  तपाई कति जाती है ! जिब्रोको टुप्पोमा झुण्डिए झैं ट्याक्क भन्न कसरी सकेको ‘पाल्पा’ भनेर । ल तपाईलाई म उचित नम्बर र धन्यवाद दिउँला ।

पर्खनुस् है, एकछिन बात मारेर जानुहोला । म चिया अर्डर गर्छु । तपाईले भुतुक्कै पोल्ने तराईलाई पनि ङिच्च पार्न सक्नुहुन्छ । यति हो गाडी चढेर वीसै मिनेट  हुईकिन कस्सिनु पर्यो ।

चिया आइपुग्यो ल लिदै गफ गर्दै गरौं है त । ए साँच्चै तपाईले कौडेको काफल र ओलेसका आलु चाख्नु भएको छ ? मदनपोखराको गोलभेंडा, बराङ्दीको मह, तिन्टीआँपको लिची, आर्यभञ्ज्याङ्को निबुवा पनि भेट्नु भा’छैन होला । रम्भापानीमा पुगेर गोगनपातमा अमृतमय पानी पिउनुभा’छ ? अर्गलीमा रु ५ तिरेर कालो उखुको लाँक्रो टेक्दै, चुस्दै देउरालीको उकालो र उखु एकैचोटी सक्दा कति आनन्द आँउछ । अनि मस्यामको चुत्रो नि ? श्रीनगरको छटा मिश्रीत प्रेमल बतास र चापपानीको न्यूरो त झनै के खानुभएको होला र । कलकल अमृत बग्ने जीवन धाराको पानी, अमरगञ्जमा लटरम्म फूल्ने साकूरा, आडैमा याम छोपेर फूल्दै झर्दै गर्ने कोइरालो र सिप्लिकानको अचार जिब्रो फड्कार्दै खाएर टुडिखेल घुम्ने मन भए पाल्पातर्फ बाटो लागिहाल्नुहोला ।

त्यसपछि मात्र तपाईले राजधानीको कलाकौशल, दार्जिलिङ्को छटा र नगरकोटको मनोरमा बिर्सिनु हुनेछ । फुर्सद निकालेर रिडी र रामपुर जानुस् त म भन्दै भन्दिन किनकी त्यहाँ पुगेपछि तपाई फर्किन मान्नुहुन्न ।

“ए जानुहुन्छ । ल त ल । बेला बेलामा आउँदै गर्नुहोला । त्यस्तो जाने मनै गर्नुभयो भने २,३ दिनको मेसो मिलाएर जाउँला नि । कतिपय ठाम त म पनि देखिच्चु का । एकचोटी पाल्पा नपुगे पार कालले पनि टेरपुच्छर लाउदैन भन्थे रे राणाहरु ।”

ओहो ! भतुवाको तालमा डुल्दै आएर यो सुरम्य डाँडोमा बिसाई मेट्न लागेको पनि झण्डै तीन वर्ष हुन लागेछ । समय र परिस्थितिले लौ बाबु तेरो भोग सकियो भन्दैछ । सधैं कुहिनो टेकाएर साथ दिने टेबल उदास छ । झ्यालनेरको पारिजात बेखुशी  जचाउँन एक फिर्को बतास छाडेको छैन । सन्चो बिसन्चो सोध्नेहरु मोवाइलको स्वर यन्त्रसम्म आउन सकिरहेका छैनन्, कारण नखोतलौं । पूजाकोठाको लिटिल बुद्ध र देवी देवताका तस्विरहरु कलशमात्र लगेर आफूलाई छाड्ने शंकामा मौन हुनुपर्छ । केही मच्छरहरु, ट्यूव लाइटको मधुर प्रकाश, त्यही टेबल, उही कुर्सी र तिनै विष्मयकारी भोगाइहरुको बीचमा मेरो पाल्पा बसाईको अन्तिम दैनिकी लेख्न बसिरहेको छु ।

उहिल्यै नेपाल हुनुभन्दा पनि पहिला भारततिरबाट राजा महाराजाहरु आफ्नो साम्राज्य फैलाउँदै जानेक्रममा पनि यही डाँडोले मोहनी लगाएर यही राजधानी बसा’का थिए रे । पछि राणाहरु पनि आनन्द र भोग बिलासमा रम्न यता पसेको  कुरा केही बाँकी टहरा र भग्न दरबार देख्नेले अझै केही वर्ष अनुमान गर्नसकिएला तर आफू त असाध्यै जटिल मेसोमेलोमा यता छिरिएछ ।

पुराना कुराहरुको त खातै नपल्टाऊँ । यही आएपछिका परिघटनाहरु पनि मनभित्रबाट आज त कलमको निबसम्म पुग्न पाइन्छ कि भनेर तँछाडमछाड गरिरहेका छन् । यतिरोचक, वास्तबिक र आवश्यक कुराहरु पनि लेख्न म असमर्थ छु । मानौं तिनै कुराहरुले भतक्क पेट पोलिरहेको छ कि सबै कुराहरुलाई कुनै फूलबुट्टा नभरिकन लेख्ने हो भने पनि एउटा उत्कृष्ट दस्तावेज वा उपन्यास बन्ला । भैहाल्यो त्यतातर्फ नलागौं । नजाने गाँउको बाटो सोधेर किन सबैलाई हैरान पार्नु र ।

मेरा बेचैन अन्तर आँखाहरुले सबै ढुंडेपछि पनि मुख्य कुराहरुलाई पुनः बिर्को लगाई केही लेख्नै पर्ने कुरालाई मेरो माउ काम ठानेर व्यक्तिगत कल्मषयुक्त चित्त शुद्ध गर्ने उपयुक्त अवसरमा यो भूमि प्रतिको प्राणभन्दा प्यारो आस्थालाई सघन सन्नाटा र बिराट रिक्तताको मझेरिमा बिसाएर सन्तुष्टि लिन खोजिरहेछु ।

तेह्र हजार छैसठ्ठी वर्ग किलोमिटर माथि समुद्री गहिराइबाट ४१३० वर्गमिटरमा फैलिएको मनोरम डाँडो पाल्पा, जहाँ म पुन जन्में, माया ममता बाँडे, धेरै कुराहरु मध्ये कसैसँग त आत्म सम्मानको लेनदेन पनि भयो । यसो भन्छु जन्मेर ताते–ताते गर्दै हिड्न जानेपछि आमाको काख छोडेर जाँदैछु । मानौं,  म जन्में, हुर्कें, अनि हिडें जसरी सबै जान्छन् ।

म धिक्कार्छु आफूलाई केही गर्नु पर्ने हो जन्मभूमिको लागि तर ….. । के यही नियति हो त । मलाई चिन्ता भन्दा पनि माया लागिरहेको छ । सबै भन्छन् यो अर्को नगरकोट हो, नेपालको दार्जिलिङ् अनि भाषा, कला र संस्कृतिको धनी पहाडी रानी हो । ऐतिहासिक महत्व बोकेको काठमाण्डौको भाई तानसेनको डाँडो अझै पनि प्रेमको त्रिवेणी रिडी र ममताको ताजमहल रानीघाटलाई पर्ख–पर्ख भन्दै थम्थमाएर  कच्ची बाटोमा घुत्रु–घुत्रु घस्रिरहेछ । यो यसको इच्छा नभएर बाध्यता होः यसका मुकदर्शक हामी ।

साँच्ची स्वस्थ्य, स्वच्छ र सभ्य यो थुम्किलोको बारेमा नसोच्ने हो भने एउटा नमूना समाजको परिकल्पना इतिहासका पानामा सिमित हुनेछ ।

वि.सं. १९६९ मा तत्कालीन जनरल प्रताप शमशेरद्वारा निर्मित चारतल्ला २ बुर्जा, ६३ कोठा र २ बैठक हल भएको सिंहदरबारको भाइ ६३ माघ अठारमा आँखै अगाडि बिदा माग्यो ।

अरु कति पर्यटकीय गन्तव्यका परिकल्पनाहरु गर्भमै तुहिए । अद्दितीय सम्भावना बोकेका माडीफाँट, सूर्यकुण्ड, मदनपोखरा, रम्भापानी, रिडी र श्रीनगर ट्वाल्ल परेर हेरिरहेछन् ।  साँच्चै यी पाखाहरुसँग मैले केही सिकें, अझै धेरै सिक्न बाँकी छ । कुन्नी किन मलाई त यी पखेराप्रति असिम श्रद्धा जागिरहेको छ यही माटोको ममता र आभाष शिरा–शिरामा दौडाएर आफैलाई निरीह र पाखे भन्नु एउटा सम्मानजनक अपमान ठान्छु म । विकसित समयको अर्कै परिभाषा होला तर हाम्रो आफ्नोपन र माटो सुहाउँदो तर्कलाई त्यागिहाल्नु पर्ने बेला आइसकेको छैन होला । हाम्रा मूल्यवान सांस्कृतिक बृक्षहरुलाई हामीले उखेल्दै गयौं भने के हामी रहौला र ? आफ्नो संस्कृतिमा अरुचि पैदा भएर हो वा अरुको बहकाउमा लागेर यसो भएको हो, एकपटक दर्पण हेर्नुपर्ने हो कि ।

वास्तवमा यो रचनात्मक आलोचना पनि नभएर चिन्ता हो । यहाँको बसाईपछि मैले कताकति छनक भेट्टाएको कुरा पनि महत्वपूर्ण छ । कतै शुरुवात भएको हो कि जस्तो लाग्छ । सचेत नागरिक हुनु भनेको आफू जन्मि हुर्केको माटो, बाटो र समाजलाई डोर्याउने खुबीको खोजतलास गरी गतिशील बनाउनु पनि हो । आफ्नो घरको दैलो कसैले लिपी दिदैन । माखा लर्कने गरी घरआँगन सफा गर्यौं  भने पल्ला घरकी बुहारी पनि चिढिएलिन् जब उनका सासुहरु उनलाई गाली गर्ने छन् । हरेकले घरभित्रका जटिलताहरुलाई अन्वेषण गरि आँगन सुधार्ने हो भने आमाको दुधको भारा तिर्न नसकेपनि छोरा नातीले सराप्ने छैनन् ।

यहाँका केही नमूना गा.बि.स.को भ्रमणपछि एउटा आशा मेरो मनमा पनि पलाएको छ । सबैले यत्ति गर्ने हो भने राम्रै हुनेछ । नढाँटेर भन्नुपर्दा मनका आँगनहरुमा लालीगुराँस र असारे फूल फूलाएर औंशीको रातमा पनि आफ्नै चाँदनी पिल्पिल्याउने पाल्पालीको महत्वाकांक्षभित्र समुन्नत नेपाल र शान्तिको नौलो सन्देशरुपी दृढता अडिग भएर बसेको छ । त्यसैले उनीहरु हिमालयको जस्तो अटलता देखाउन हिच्किचाउँदैनन् । पहाड उनको घर, हिमाल तिनको छानो र तराई आँगन हो । त्यही डण्डिबियो र कपर्दी खेल्दै उकाली र ओरालीहरुमा जीवनका नयाँ पानाहरु पल्टाउन उद्धवेलित छन् पाल्पालीहरु हरेक नेपाली झैं । सबैभन्दा सानो र अरुभन्दा समृद्ध राष्ट्रको रुपमा यसलाई तिखार्दै लान गाउँ र टोलबाट शुरु गर्नुपर्छ भने एउटा उदाहरण पेश गर्न सक्षम पाल्पालीहरुलाई मेरो साधुवाद पुगोस् ।

आगतलाई चस्मा खोलेर हेर्दा मध्य पहाडको यो सुरम्य डाँडाको समुन्नतिको लागि यदि कसैले म नेतृत्व गर्छु भन्छ भने शान्त, समृद्ध र पर्यटकीय गन्तब्य निर्माणको आत्मविश्वास बोकेर दरिलो पाइला टेकी अघि बढोस्, उसको लागि सबै घर र कुरिया मात्र हैन डेरावाला पनि साथ हुनेछन् तर उसले अरु कुराहरुको साथमा बुद्ध भूमिबाट बहेको शान्तिको आभाषलाई श्रीनगरको आँचलमा बिसाएर हिमालसम्म विस्तारित गर्न सकिन्छ भन्ने कुराको प्रमाण पेश गर्न सक्ने हुनु पर्नेछ, गफ होइन । के स्विट्जरल्याण्डको धरातल हिरामोतिले बनेको छ र ? गोवा, दार्जिलिङ्, देहरादुन र पेरिस रेडिमेड हुन र ?

शायद तिनीहरु भन्दा प्राकृतिक बैभवतामा हाम्रो यो तेश्रो ध्रुबको डाँडो साहु होला आसामी पक्कै पनि छैन ।

राष्ट्रको ऐतिहासिकता चाहिए नेपाल खोज्न यही आए हुन्छ । प्रणयले  गाले ताजमहल (रानीमहल) कुरिरहेको छ । धार्मिकता चाहिए रिडी, रम्भापानी, सूर्यकुण्ड, र सुन बग्ने नदी यतै पर्छ । हातमा खेलौना र मुखमा लालमोहन जुटाई दिंदा रुने बच्चालाई आमाले पनि कदापि बुबुमाम खुवाउने छैनन् । हैन, सामाजिक मर्यादाको लागि पनि केही त गर्नुपर्ने हो । हुनतः गर्नेले सास फेरेका छैनन् तर एक हातले ताली बज्ने भए सबैले सुन्नुपर्ने हो ।

जानेबेलामा मस्तिष्कमा अनवरत गुञ्जिरहने प्रिय रेडियो स्टेशनहरुको सामुहिक समृद्धिको कामना पुगोस् । अझै केही लाउके भनाउँदाहरु रेडियोको मर्ममाथि पहरो झैं नतेर्सिदिने हो भने इलेक्ट्रोनिक मिडियामाथिको वितृष्णा घट्ने थिएन । हुनत पाल्पाली श्रोताहरु त्यस्ता व्यवस्थापक र पेटपालुवाहरु पत्ता लगाई सकेका छन् । अब कठालो समात्न मात्र बाँकी छ । चोरले आफै खुट्टा उचाले त काट्न सजिलो हुन्थ्यो नत्र ती ऐंझेरुले कतै बोटै खाने पो हुन कि ! भन्ने शङका लाग्छ ।

यहाँका कति डाँडाहरु त मैले ह्दयभरी माटोको ममता बोकेर छद्मावरणमा डुलें । त्यसैले कति टाकुरा र गल्छेंडाहरु मलाई चिन्छन् तर मेरो नामसँग अनभिज्ञ छन् । पूर्वको रामपुर, यताको पणेना, अनि उतातिरको बहादुरपुर, ज्यामिरे अझै तनहुँको गजरकोट, पल्लापाखाको गल्धा र पारिपट्टि मदनपोखरा छापको रक्त रञ्जित भूमि ती सबैलाई एक–एक थोपा आँशुको कोसेली पुगोस् । कदापि जीवनचक्र घुमेर पुनः यतै सुस्ताएछ भने बाँकी थुम्किला, शक्तिपीठ, गल्ली र टोल–टोलमा पुग्ने बाचा बाधिहालौं ।

३५–३६ सालतिर सालनाल छुट्टाएर ६३ सम्म आइपुग्दा अनेकन उकाली ओराली भोगिसकिएछ । संयोगबस अस्तुकलश पोको परेर जानबाट जोगिएको यो सुरम्य डाँडोसँग आत्मा साछी राखी यो माटोमा रहुन्जेलको त्यो इतिहासलाई कृतज्ञतापूर्वक स्मरण गर्ने मनको धोका भविष्यको पोल्टामा गुटुमुटु पारेर शिरमाथि सम्मान पूर्वक राख्न ममतामयी प्रेरणाकासाथ उपलब्ध पाल्पाली ढाकाटोपी दिनेप्रति कृतज्ञ बन्दै भूगोलको नयाँ बारीको मेलामा कोदो रोप्न जान अनुमति माग्छु : जदौ तानसेन फेरि भेटौला …………………..

२०६३,साउन, १० वुधबार

Lok Raj Pathak
Lok Raj Pathak Administrator

Lok Raj Pathak is a Professional Computer Engineer and Technology enthusiast. He has completed Master in Science in Information Technology (M. Sc. IT) and Master in technology in Computer Science and Engineering (M. Tech. Eng). He usually writes in science and technology, life style and religion.

follow me

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave comment