जेठाबासँग बटौली

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महाभारत पढ्ने बेलामा भेटेको थिएँ– संसारमा तीन किसिमका मानिसले सुनै सुनका फूल टिप्न सक्छन् रे । वेदव्यासले शूरो, विद्धान र क्षमतावानलाई यो काम तोकेका छन् । उनले कुन आधारमा यसो भने त्यो छाडेर म भने अहिले बाजेका पालाको साहासिक क्षणतर्फ फर्किन मन लागेको छ । कुरा ६३ साल असार २९ गतेको हो । लामो समयपछि घर पुगेको थिएँ । संजोगले त्यो दिन भानुजयन्ती परेको रहेछ । घरको अत्यार र बिसाई मेटिएपनि वरिपरि भेटघाट बाँकी नै थियो । बिहानको खाना खाइसकेपछि आमा घरभित्रको गन्थन मन्थनमा लाग्नुभो, शायद छोरालाई मीठो खुवाउने धुन हुँदो हो । ठुलिआमा भने रामायण झिकेर पिंढींमा कस्सिन थाल्नु भो । म फाल्तु बनें । एउटा काम सक्छु भनेर बाटामाथि जेठाबाको घरतर्फ उक्लें । जेठाबा भर्खरै हात चुठेर पिंढीको खाटमा सुस्ताउँदै हुनुहुन्थ्यो । जेठी आमा चाँहि चुल्होमै हुनुहुँदो रहेछ ।

ढोग गरेपछि उहाँ भित्र फर्केर कराउनुभो– ‘ए एता आइज त को आ’को छ ।’ जेठी आमा भित्रैबाट कराउनु भयो– ‘को हो खाईसकेपछि आउने ? फेरि भान्छा गर्नुपर्ने भए आउँदिन नत्र बिचार्छु ।’ जेठाबा बोल्नु भो, – ‘तँ यहाँ आइस् भने दिनभरी पकाएको पकायै गर्दा पनि थाक्ने छैनस् ।’ यसपछि बल्ल मलाई भन्नुभो– ‘बस् न बाबु यता आइज…’ म पिंढीको डिलमा नउक्लिँदै जेठीआमा दैलाबाट निस्कनुभो । त्यसपछि मैले उहाँलाई पनि ढोगेर जेठाबा भन्दा उतापट्टि झ्यालनेर भित्र पनि देखिनेगरी बसें जहाँ म सानो हुँदा जेठीआमाले अगेनोमा खाना पकाएको हेर्थें । उहाँले पोलेको मकैको घोगा त्यही झ्यालबाट दिनुहुन्थ्यो ।

त्यसपछि केही मायाका कुरा भए । मेरो चिन्ताले केही दिन इन्तु न चिन्तु भएका र भगवानका कृपाले केही नभएका कुरा गर्नुभो । ६२ माघ अठार तदनुसार ३१ जनवरी २००६ को तानसेन आक्रमणताका म पाल्पामै थिएँ । सबै सम्पर्कहरु विच्छेद भएकाले मलाई काँडाले नकोरेको भएपनि धेरै आफन्तहरु सूचनाको हकबाट वञ्चित हुनाले बाँकी माया अहिले पोखिईरहेको थियो । मनमनै सोचें : मलाई केही भएको भए त ठूलै रुवाबासी हुने रहेछ ।

“कस्तो छ चुत्रा भञ्ज्याङ्को डाँडो ? लामीडाँडाका केतुकी त मरिसकेहोलान् ! दरवार त सबै जलो अरे भन्छन् । अनि नयाँ पार्टीका आँपका रुखहरु त यस्तै छन् कि ढालिसके ? रानीघाट त भत्किसके होला………….. ।”

म दंग पर्दै सोधें–“हैन जेठाबा कसरी थाहा पाउनुभयो हँ ?”

ल हेर त –“तँ जन्मिनुभन्दा पहिला हामी त्यही बाटो कति हिडिन्थ्यो । त्यो त हाम्रो पँधेरोको बाटो पो हो त ।

हैन कता जानुहुन्थ्यो र … लाहुर ? मेरो सवाल । बीचैमा जेठीआमा बोल्नुभो । बटौली नुन तेल गर्न जाने बाटो त्यही त हो नि बाबू । मलाई चित्त बुझेन ।

बोल्नै आँटेको थिएँ मनैले जवाफ दियोः ए अँ त नि मोटरबाटो त पछि पो आयो तर बुढाहरु कताबाट जान्थे होला त !

जेठीआमाले ठूलो लाहुरे गिलासमा निम्ठो हुनेगरी तहरसँगको दूध झ्यालबाटै पुग्न दिएर ढोकाको बाटो निस्की पल्लो पिंढींमा बसेर चोलो लगाउन थाल्नुभो । म भने बिलखबन्दमा परेर कुरो कोट्याउन थालें ।

हामी तत्कालीन पश्चिम ४ नं. पैंयू पर्वत अन्तर्गतको पाङराङमा गफ गर्दै थियौं । जसलाई नुवाकोट अड्डाले रेखदेख गर्दथ्यो रे । हाल यो पर्वत जिल्लाको क्षेत्र नं. २ मा पर्छ । यो बाटो कालीगण्डकीको किनार हुँदै भोट देखि बुटवल र लाहोरसम्म व्यापार हुँदोरहेछ । बाटाहरु त अझै पनि छन् तर समय र मानिसको जीवनशैली परिवर्तन भैसकेको छ । म पनि उहाँसँगै बटौली जाने निधोका साथ पलेंटी कसेर बसें ।

द्वापर युगमा पाल्पा र त्यसको आसपासको विशाल क्षेत्रलाई ‘उत्तरदेश’ भनिन्थ्यो रे । भगवान कृष्णका छोरा प्रध्धुम्नले काशी, अयोध्या जितेर अयोध्याबाट ‘उत्तरदेश’ पसि त्यहाँका राजालाई करप्रद गराई नयपाल (काठमाण्डौ) उपत्यकातर्फ गएका थिए रे । त्यसपछि कलियुगको दुई हजार वर्ष बितेपछि ‘सेन’ थर भएका बिसेन राजाका पूर्वज शुक्ल राजाले ‘अर्बुद पर्वत’का बौद्धमार्गीहरुलाई जितेर बैदिक धर्म प्रचार गरेका थिए भन्ने कुरा भविष्यपुराणमा भेटिनु र सोही अर्वाचीन कथनसँग मिल्नेगरी वर्तमानको प्रमाणयोग्य कथन महादत्त सेनले श्रीनगर सहर बसालेको र त्यो मनोरम डाँडोमा राणाहरु पनि आएर केही विकास गरेकाले अरु स्थानभन्दा तानसेन चिनिदोरहेछ । अझै भोटदेखि बटौली जाने बाटोमा पाल्पा पर्ने हुनाले प्रायः व्यक्तिको जिब्रोमा पाल्पा भेटिनु अस्वाभाविक होइन । हुन त खड्गशमशेरले पर्सिबलण्डनलाई ल्याएर खिचाएका त्यो बेलाका फोटाहरु र हेमिल्टनको यात्रामा पनि पाल्पा अछुतो छैन भने हाम्रा जेठाबा पनि किन पाल्पासँग अपरिचित हुनुहुँदो हो र । यी सन्देहास्पद कुराहरु भएपनि त्यो बेलाका बाटाहरुः कालीगण्डकीको किनार छिचोलेर मार्थागढी, जगतगोठादी र सुनवल हुँदै हरिहरपुर पुग्ने एउटा बाटो । सोही चक्रतीर्थको चारैतिर हाल पर्वतको कार्कीनेटा छिचोलेर मुक्तिनाथ र दामोदर कुण्ड पुग्ने अर्को बाटो, रिडीबाट तानसेन ताहुँ, रामपुर, देबघाट हुँदै त्रिवेणीधाम निस्कने अर्को धार्मिक बाटो अनि रिडीबाटै उतापट्टि अर्गली, गाईघाट, लगुवा, हार्थोक, रानीठाँटी झरेर भालुखोला हुँदै डुम्रे छिर्ने ढाक्रे बाटो सँगसँगै मुझुङ्बाट फेक, बतासे नाघेर भकारलुङ् (मगरशब्दः ठूलो ढुङ्गा) पनि हिडेर मस्याम हुँदै मर्याङ्कोट आई पुग्ने अर्को पुरानो गोरेटो पनि नभएका हैनन् । उतातिर अर्घाखाँचीको खनियाबास, खनदह र पाल्पाको बल्ढेङ्गढी, सुकेदमार र खुर्साने हुँदै सालझण्डी झर्ने यी सबै बाटाहरु भन्दा हाम्रा जेठाबाहरु हिड्ने गोरेटाहरु कत्ति फरक थिएनन् तर उहाँहरु यी शाखा बाटाहरु भन्दा पनि भोटबाट बटौलीसम्मको मुख्यबाटो समातेर पाङराङबाटै आफ्नो गन्तव्यतर्फ जानु हुँदोरहेछ ।

जेठी आमा जुठेल्नामा भाँडा मस्काउन थाल्नुभो । जेठाबा र म २०११–१२ सालतिर खाटैमा बसेर बिचरण गर्न थाल्यौं । घरी–घरी जुठेल्नाबाटै जेठीआमा सही थाप्नुहुन्थ्यो । कताकति दाँत बाँकी भएका जेठाबा आफ्नो बैंसमा फर्किनुभएको थियो । ओहो ! त्यो उत्साह… मानौं बुढाको बैंश अहिले जिउभरी सवार भएको हुनुपर्छ । तिलचाम्ले कपाल, कुप्रिन लागेको शरीर र चाउरी परेका गाला भएपनि उहाँको बोलीमा उही पुरानो आकांक्षा झल्किएको थियो । म जीवनलाई मेरो वाल्यकाल, वर्तमान र उहाँको वर्तमानलाई आफ्नो क्यानभासमा खिचेर हृदयको ऐनामा झैं छर्लङ्ग विम्ब उतार्दै थिएँ । कता–कता बुढ्यौलीसँग डर लागेको थियो तर खै र त्यस्तो ओज अनि जीवनशैली यो परिवर्तित अझै अत्यास लाग्दो हाम्रो अनिश्चित भविष्यमा ।

उहाँहरु पहिलो दिन बाच्छा, बिहादी, लामागह्रा, गोर्लाङ्, सेतीवेणीमा सेतीखोलो (सेप्तानदी) तरेर काली नतरी वारी पाखैपाखा स्याङ्जाको बिरौटामा पुगेर पहिलो बास बस्नुहुन्थ्यो रे । भोलिपल्ट महनडाँडा ओर्लेर आँधीमुहानबाट आँधीखोलो तरेर मिर्मी, बेलौतीडाँडा, बिरघा, ओईघा र सटुकाको ओरालो सकेर रानीघाटमा डुङ्गाबाट कालीनदी पार गरी अब्बल, चुच्चेपौवा, टिमुरे, कैलाशनगरस्थित चुत्राभञ्ज्याङ्, धोबिधारा, नयाँपाटी हुँदै डुम्रेको उकालो सकेर मस्याममा दोस्रो बास बस्नु हुँदोरहेछ । पर्सीपल्ट मराङ्कोट, सिस्नेखोलाको पखेरो, मरेकको ओरालो, दोभान, नालाको मुख, पुतलीबजार र खस्यौली हुँदै बटौली पुगेर भारी हाली फर्किन पनि बेर लाउनु हुन्थेन रे ।

म भने सिद्धार्थ राजमार्गमा त्यो पुरानो बाटो गुन्द्रीमा बसेर खोज्दै थिएँ, गम्दै थिएँ । छिटोमा ७ दिन र ढिलोमा १०  देखि १२ दिनसम्म लाग्ने उक्त ढाक्रेयात्रा भारी हालेर फर्किदा मेसो मिले पाल्पा नयाँपाटीको आँपको गाछीसम्म बिसाई मेट्न आइपुग्ने हुनाले ती आँपका बोटलाई विशेष गरी सम्झिनु भएको रहेछ ।

बटौलीको अध्यायलाई थाती राखेर जेठाबा थाकखोलातर्फ लाग्नुभो । हाम्रो घरबाट बटौली जाने बाटोको ठिक विपरीत बाटो हिडेर थाकखोला जानु पर्दथ्यो । मतलव थाकखोला भोटतर्फ पर्दथ्यो भने बटौली भारततर्फ । उसबेला गाउँमा बटौलीको नुन खाए लुतो लाग्छ भन्थे रे । बटौलीमा सामान पैसाले किन्नुपर्दथ्यो भने थाकखोलामा चामलसँग नुन साँटिन्थ्यो । जाँदाजाँदै लेते, धुलेको थाप्लो, घाँसा अनि टुकुचेसम्म पुगेर नुन साटिन्थ्यो । भोटेले राम्रोसँग फलेको चामल नभए डेढे र फलेको भए दुने नुन दिन्थ्यो । उहाँले मेरो मुखमा हेरेर भन्नुभो डेढे भनेको २ पाथी चामलको तीन पाथी नुन, दुने भनेको दुईको चार । मैले ए… भनेर मुन्टो हल्लाइदिएँ । बेलाबेलामा थाकखोले नुन र चौंरीपट (मसिनो ऊनबाट बनेको स्त्रीले कम्मरमा बाँध्ने चुच्चे कपडा) लगाएका भोटिनीको बखान गर्दा बुढा जुठेल्नातर्फ एक झुल्को हेरेर मसँग मस्किनु हुन्थ्यो ।

जेठीआमा उतैबाट कस्सिनु हुन्थ्यो– ‘के गर्नु एउटी ढिंडीनीले पत्याएकी भए आज भाँडा त माझ्दि हो नि ! खुबी नभएका बुढा अब गफै लाउ बस… ।’

एउटा रमाइलो प्रसङ्ग पनि थाकखोलाको जोडियो । शायद त्यतिबेला तिब्बतबाट दलाई लामालाई लखेटेका रहेछन् क्यारे । उहाँ भन्दै हुनुहुन्थ्यो –मुगलानबाट आएका भोटेहरु ईशारामात्र गर्थे बोल्न जान्दैनथे । उनीहरु आफ्ना गाई, भैंसी, भेडा, चौंरी, लुलुझोपा (लामा झ्यापुल्ले रौं भएका चौंरीका खच्चड) सहित नेपाल पसेका रहेछन् । यो त्यस्तै १६ साल तिरको कुरा हुनुपर्छ । उनीहरु बाटा बाटामा पाल हालेर गुजारा गर्दै भारत छिरेका थिए रे । आफ्ना सरसामानहरु बेच्दै त्यही खाँदै जाने क्रममा उहाँहरु थाकखोला गएको मेसो परेछ । तेह्र जनाको ढाक्रेको समूहलाई शिकार खान मन लागेछ । उक्त भोटेसँग झण्डै २० रुपैयाँ पर्ने भेंडो किन्न खोज्दा बोल्न नजान्ने भोटेले औंलाका साहाराले १३ रुपैयाँ भनेछ । त्यसपछि उहाँहरुले बठ्याँई गरेर छम्छम् तेह्रवटा मोहोर उसको हातमा गनिदिएर साढे ६ रुपैयाँमा भेडो फुत्काउनु भएछ । “त्यसपछि मासु कति खान्छौ, धन्नै हैजा लागेन ।” उहाँ भन्दै हुनुहुन्थ्यो ।

मेरो खुल्दुली बटौलीको थियो । जेठाबा पनि अनवरत आफ्नो विगतमा छिल्लिदै हुनुहुन्थ्यो । म त्यो जिउँदो इतिहासको आडैमा यात्रारत थिएँ ।

कम्मरमा पचास रुपैयाँ चाँदीका मोहोर, पुषमाघको जाडो, डोकोमा बाटाको राशन बोकेर काँधमा खकन र हातमा तोक्मा हल्लाउदै २०–२५ जनाको समूह रमाइलो गर्दै जाँदा बहुत आनन्द आउथ्यो रे । बास बस्नको लागि तीनचार जनाका समूह हुनाले कसैले काम्लो, कसैले दोलाई (सानो सिरक) कसैले खास्टो र कसैले पछौरा लगेर मिलीजुली सुतिन्थ्यो । जानुभन्दा अघिल्लो दिन भारी मिलाउने भनेर सल्लाह गरी खानको लागि व्यक्तिगत रसदको अलावा कसैले डाडुपन्यू, कसैले कसौंडी, कसैले सातु,चामल, आटो र कसैले डेक्ची आदि भागबण्डा गर्ने काम हुन्थ्यो । जेठीआमाले थप्नुभो– जाने दिन त दुई चोटी दैलो लिपे पनि हुन्थ्यो । ५ घडी रात छँदै हिड्नु हुन्थ्यो, पहिल्यै दैलो पोतिहाल्यो पछि जति गरेपनि उज्यालै नहुने ।

खै अहिले त तिमीहरु के गर्छौ कुन्नी… ऊ बेला त के गर्ने बाहुनको छोरो, धर्म छोड्न नसकिने, नुहाई धुवाई गरेर नाङ्गै चोखो खाना पकाएर खाइन्थ्यो । होटलमा चिया खान पनि जात जान्थ्यो । उत्तिखेरै चुल्हो खोज्यो, दाउरा खोज्यो अनि पकाएर खाइन्थ्यो । भारी कुम्लो कसेर ठिक्क पारिन्थ्यो । बिहान पाखुराको रौं देखिने बेला नहुँदै खकन र तोक्माको भरमा उकाली ओराली शुरु भैहाल्थ्यो ।

खाना पकाउँदाको पनि छुट्टै उपकथा रहेछ । जेठीआमाले कोट्याउनु भो अनि जेठाबा मुख मिठ्याउँदै मलाई अथ्र्याउँदै हुनुहुन्थ्यो । एकैछिन अगाडि भोटेले ढिंडो ओढालेर छोडेको चुल्होलाई साथीहरुले ‘ए दुध तताएको चोखो चुल्हो’ भेटियो भनेर ओगट्थे रे । “रुवानी”हरुले नओगटेको भए अल्लि छिटो पुगेर पाटी, पौवा र सत्तलहरु ओगटेर बास बस्न पाए आनन्द र ढुक्क हुन्थ्यो । होटलमा बस्नुपरे पोतपात पारेर जुठो बढारेर अगेनो छाडिदिन्थे त्यसपछि हामी खाना पकाएर खान्थ्यौं । रहलपहल खाना छाडिदिने र दस्तुर तिरेपछि भाँडाकुँडा उनीहरुनै माझिदिन्थे । सन्जोग नमिलेर ठाँटी पनि नपाए केतुकीको गाँज, आँपको गाछी, पहराको काप, खन्यूको रुख आदिको बोटमुनी झारा टारिन्थ्यो । एकपटक लामागह्रामा हामी १७–१८ जना लाइनमा खाई ओरी सुतेका थियौं । एकजना गाउँले आएर उट्टाटाप लगाइदियो– “यहाँ त राती निदाएको बेलामा बाँसको घनाले ओल्लोछेउ पल्लोछेउ अठ्याएर एकै चिहान पारिदिने मुर्कट्टाले तर्साउँछ भनेपछि मध्यरातमा भारी कसेर ओल्लो पाखाको खरबारीमा उजेलो बनाएको मायालाग्दो घटना पनि उहाँले सुनाउनुभयो । सबै त बुझें तर “रुवानी” भनेको के हो ? भन्न मेरो छुचो मुख चुकेन ।

प्यूठानतिरका “रुवानी” भन्ने तर जात पत्ता नलागेका भरियाहरु हुन भन्थे । नाडीभरी कुहिनासम्म ‘हाँसुली र बाँसुली’ (चाँदी र गिल्टेका बाला) लगाउने बलियो जिउडालका नबुझिने भाषामा गीत गाउँदै एकदमै ठूलो भारी बोकेर हिडिरहन्थे रे । उनीहरुले त आठओटा ठूला टिनसम्म बोक्थे साथै अगाडि बच्चा झुण्डाएका पनि हुन्थे । बाटोमा जिउँदा–मरेका भैंसी, गाई, आटो पिठो खाँदै हिड्थे रे । बाटोका ठाँटी र सत्तलहरुमा कति त बिफर भएर मरिरहेका पनि हुन्थे रे । थाकखोलाबाट ऊन र पहाडी कागज बुटवल अनि बुटवलबाट अरु सामान थाकखोला हुँदै प्यूठान र भोटसम्म पुर्याउने जिम्मा यिनीहरुकै थियो । हामीले सुनेको तिनीहरुको ठूलो चाड श्रावण संक्रान्ति हो । यो वर्ष संक्रान्तिमा काम सकेर निस्केको मान्छे अर्को साउने संक्रान्तिमा पनि आइपुगेन भने स्वतः क्रिया गर्ने गर्छन् रे भन्ने सुनिन्थ्यो । मनमनै सोचें : मान्छेले मान्छेलाई नै खच्चड बनाएको रहेछ । यो पेट नभए मान्छे कति खुशी हुँदो हो मैले सानोमा दंदेरो भएर दाईमा गोरु भट्टाउन गाउने गरेको टुक्का सम्झें :

उघोखोला रुवानीले पानी बोक्यो टिनमा

आज मलाई दुःख पर्यो खेली खाने दिनमा

हो माले हो…

म आगन छेउको काँक्रोको झाल र दैलामुनिको आँपको बोटमा आँखा डुलाउँदै थिएँ तर जेठाबा उही रफ्तारमा हुनुहुन्थ्यो ।“पहिलो दिन अल्लि बढी बाटो काट्नुपर्छ भनेर सके बिर्घा नत्र बिरौटा पुगेर बास बसिन्थ्यो । उता जाँदा फर्केर आउँदाको बाटाखर्च बिरघामा राखी छोड्थ्यौं । त्यो बेला पैंयू पर्वत इलाकामा नोतप्रसाद नामका बिचारी थिए । उनको सालाको घर बिर्घामा पर्दथ्यो त्यसैले त्यही सम्बन्धको आडमा दोस्ती गरेर हाम्रो समूहले घ्यू र चामल उनैकोमा राखेर जान्थ्यौं । फर्किदा सबैले एक–एक डाडु चामल र अन्य सामान उनलाई दिइन्थ्यो । यसरी सामान राखिदिएबापत दिने रकमलाई ‘मुसाखर्च’ भनिन्थ्यो । २०–२५ जनाले दिंदा उनलाई पनि जाती नै हुन्थ्यो । हामीहरु जाँदा आटो र सातु खाँदै जान्थ्यौँ, आउँदा घ्यू र भात खाइन्थ्यो ।

भोलिपल्ट बिरौटाबाट रन्केर गएपछि महनडाँडा, आँधीमुहान, मिर्मी, बेलौतीडाँडा, बिर्घाको कुइनेटो अनि ओइघाको पखेरो र सटुकाको ओरालो मध्यान्हमै सकेर रानीघाटमा डुङ्गा तर्न पुगिन्थ्यो । जेठाबा भन्दै हुनुहुन्थ्यो– के गर्नु पानीमा ज्यान होम्यो पारी पुगिने हो होइन शङकै लाग्थ्यो । मैले सोधें–‘कालीमा पुल थिएन र ?’ ‘कहाँ हुनु नि बाबु डुङ्गामा बस्यो ल है ल है पार्दथ्यो पारी पुगेपछि बल्ल प्राण त पस्थ्यो तर फर्कदा गइने हो कि भन्ने पिरले फेरि कोपर्दथ्यो ।’ “कसरी तर्नुहुन्थ्यो त ?” मेरो सवाल ।‘एउटा ठूलो सिमलको डुङ्गा थियो । त्यही पनि प्वालै प्वाल परेको । प्वालहरुमा छालाले टालेको, कताकति त पानी रसाउँथ्यो । पछि पटला (फ्ल्याक) जोडेर बनाएको डुङ्गामा अल्लि सजिलोगरी तरियो ।’

हैन बोटेहरुले राम्रो व्यवस्था गरेका थिएनन् र ? पूनः मेरो प्रश्न……! ‘खै बाबु त्यो त मुख्य गौंडो पर्यो त्यसैले ठेक्कामा चलाउने गर्थे रे । पहिला बोटेले के गर्दथ्यो थाहा भएन पछि सुने अनुसार ठेकेदारले राजस्व तिरेर तीनदेखी पाँच वटासम्म डुङ्गा चलाएको हो भन्ने सुनिन्थ्यो ।’ उहाँ थप्दै हुनुहुन्थ्यो– ‘एकपटक कुन्नि के काम परेर गएको भदौरे भेलमा परिएछ धन्नै कालीले गुट्मुट्याएन । माथि रानीमहल मुनिबाट पसेको पुछारको घाँटीनेरको छिहिरोमा पुगेर बल्ल पार लागियो अनि बिहानभरी बगरै बगर हिडेपछि बल्ल पारीपट्टी पहिले तरेर पुग्ने ठाममा निस्कियो ।’ मेरो खुल्दुली अझै मरेनछ । पूनः सोधें– भारीसँगै हो डुङ्गा तर्ने ? जेठाबाले हौसिदै थप्नुभो : ‘भारी छोड्ने त कुरै भएन नि । २५–२६ धार्नी भारी बोकेको बोक्यै खकन सहित घुँडा टेकेर कुक्रुक्क १२–१३ जना एउटा डुङ्गामा बसि घाटको ओल्लो किनारमा आउँदा आफ्नै आँगनमा आइपुगेजस्तो लाग्थ्यो । खाली भए मोहोर,भारीसँग रुपैया बोटेले लिन्थ्यो । त्यो पनि औंलाले फिरिरी पारेर जमिनमा बजारेपछि टिङ्ग्रीङ्ग गर्नुपर्ने । खोटो भए मरिगए लिदैनथ्यो ।’ मैले केकानै गणित पढेकाले मनमनै हिसाब निकालें– मोहोरमा त आधीतोला चाँदी हुन्छ । यसको मतलब चार-पाँच सय अहिलेको पर्दोरहेछ । जेठाबा आफ्नै शब्दयात्रामा हुनुहुन्थ्योः ‘त्यत्रो लामो बगर थियो, त्यहाँ पुल बनाको छ भन्छन्, कस्तो बना’को होला, एकपटक देख्न पाइन्छ कि पाइन्न कुन्नि ।’ त्यहाँ २२२ फिट लामो पुल बनेको छ भनेर भन्न म हच्किएँ । त्यो गहन कुरा भैरहेको बेलामा आजभोलि मिर्मीबाट गण्डकी थुनिएपछि हिडेरै तर्न सकिन्छ भन्न म असमर्थ भएँ कतै बुढाको दिलमा ठेस नलागोस् ।

त्यसपछिको बाटो रानीमहल हुदै जान्थ्यो । केही महिना अघि त म पनि पुगेको थिएँ तर जेठाबाका पालामा कस्तो रहेछ भन्ने उत्सुकता उत्तिखेरै टुसायो । उहाँले आश्चर्य व्यक्त गर्दै भन्नु भो –“त्यस्तो एकलास घाटमा आएर त्यस्तो भव्य दरबार बनाएका रहेछन् । वारीबाट हेर्दै जाउँजाउँ लाग्थ्यो । झलल टल्कने सेतो भित्तो, बरण्डा र आँगनमा पनि मुड्कीजस्ता बाक्ला गलैंचा ओछ्याएका थिए । वारीपट्टि ढिस्कोमा एउटा पौवा थियो । बाटो काटेर जान हुन्न ढिलो हुन्छ भन्थे । त्यही भएर ठाँटीमा एकछिन बिसाएर हामीले दरबारलाई फर्काई–फर्काई हेथ्र्यौं अनि बातमार्दै उकालो लागिन्थ्यो ।” जेठाबा अझै रानीघाटकै बारेमा बोल्न खोज्नु भो –“उसबेला तीन सरकारका पालामा जे बोल्यो त्यही हुन्थ्यो । त्यसैबेला पुरै गाउँ जम्मा पारेर बना’का थिए भन्छन् । ‘त्यो त नेपालको ताजमहल हो त्यहाँ गए घर स्वास्नी मर्छे भनेर हामी भन्दा जेठाबाठाले जिस्काउँथे । अरे–अरेका कुरा सुनेको : उसबेला राणाहरुले पल्लो डाँडो छिचोलेर गण्डकीलाई दोभानतिर पठाएर त्यहाँको ठूलो बगरमा टुँडिखेल बनाउन चाहन्थे भन्ने सुनिन्थ्यो ।

हेर, बाबु अर्काको बिगार नगर्नु है, त्यस्तो मोज गरेर बसेका पनि पछि खेदिएका हुन् अरे । अहिले त पाँच सरकार पनि फेरियो भन्छन्, के के सुन्नुपर्ने हो…।” म अवाक बनिरहेँ ।

हामी पिंढीमा बसेको भएपनि रानीघाटबाट माथि कैलाशनगर सम्म पुग्न निकै अप्ठ्यारो खोँच र उकालो झेल्नु पर्दथ्यो । बैकुण्ठे झरना माथिको बाटो, अवल र चुच्चे पौवालाई जेठाबाले एउटा अनौंठो घटना सुनाएर पार गराइदिनुभयो । अवलको पहराको कापमा एकजना ढाक्रे कपडाको भारीमा अडेस लागेर अगाडि सातुको थाल लिएर बसेको बस्यै भएको रहेछ । एकदुई पटक बोलाउँदा पनि नबोलेपछि निदाएको ठानेर उसलाई जिस्काउनु भएछ “हैन हिजो रातभरी झाम्रे गाउन गै’एको थियो कि कसो ?” बिचरा त हैजाले ठहरै भैसकेको रहेछ, त्यसपछि एउटा शुरो खालको ढाक्रेले उसलाई लतारेर बाटोबाट पाखा लगाई दिएछ । सामान माथि ल्याएर तत्कालीन पञ्चायतलाई जिम्मा लगाइदिनु भएछ । मनमनै त्यो ढाक्रे र उसका आफन्तजनलाई समवेदना दिएँ मैले।

त्यो उकालो सकेर माथि श्रीनगरको घाँचमा पुग्दा बल्ल जिऊ सर्सराउँथ्यो रे । त्यसपछि तानसेन बजारलाई शीतलपाटी, दरबार, लहरेपिपल र कारागारलाई झल्याक्-झुलुक् हेर्दै धोबिधाराबाट नयाँपाटी झर्नु हुँदो रहेछ उहाँहरु । म त्यत्रो वर्ष पाल्पा बसें तर मेसै पाइनँ तर उहाँहरु प्रभासको सूर्यकुण्डमा नछुटाईकन हातमुख धोएर जानुहुन्थ्यो रे । भालेबासको खोंच नाघेपछि डुम्रेबाट फेरि मस्यामतिर उकालिएर बास बस्नु हुँदो रहेछ । म पनि केही उत्साह र केही तत्कालीन जीर्णताको मझ्धारमा पछि–पछि जाँदै थिएँ । मस्याममा रिडीतिरबाट आएका बाटाहरु पनि मिल्थे । हामीहरु त्यही पाखोमा आ–आफ्ना टुकडीमा बस्थ्यौं । उहाँको भनाई र मेरो सोचाई भिन्न थियो ।

म भने जयन्तिलुङ्को अन्तर्राष्ट्रिय टेलिफोन टावरबाट ओरालो लागेर जुद्धशमशेरको मस्याम दरबारमा एकछिन बिसाउँदै थिएँ । अनि चियो गर्दै थिएँ : कतै बालकृष्ण समको प्रेमपिण्डमा बर्णित पात्र नकुल र सविताहरु मस्याममा बास बस्दै पो थिए कि । मेरो आत्मिक यात्रा र समको भावनाको सयरले के मेल खान्थ्यो होला र ।

मस्यामका काँक्रो विशेष तवरले उहाँले सम्झिनुभो –त्यो बेला एक सुकाको बडे–काँक्रो किनेपछि ६–७ जनालाई अघाउन्जेल पुग्थ्यो रे । त्यहाँबाट झोला कुम्लो बोकेर अर्को दिन बिहानै मराङ्कोट ओर्लेर सिस्ने खोलाको पखेरो र मरेकको ओरालो सकेपछि बल्ल दोभानको प्राचीन रामापिथेकसको अस्तित्व भेटिएको स्थानमा पुग्नुहुदो रहेछ उहाँहरु । त्यसपछि हाल नेपालको पहिलो भूमिगत जलविद्युत आयोजना हुदै नालाको मुख भन्ने ठाउँबाट पुतलीबजार अनि खोलो तरेपछि बटौली पुगिन्थ्यो रे ।

एकपटक सिद्धार्थ राजमार्ग निर्माणताका सिद्धबाबामा बाटो थुनेको थियो । धेरै कुर्नु पर्ने भएकाले दोभानबाटै तिनाउखोला तरेर माथि झिर्दी हुँदै बुटवल पनि झरेका के थियौं त्यहाँ हैजा फैलिएको छ भनेर सबैका पाखुरामा खोप लगाइदिएकाले रातभरी ढाक्रे कहराएर सुत्नै सकिएन । भोलिपल्ट फर्कदा साँझमा सिठ्ठी फुकेर छाडिदियो अनि अबेरसम्म ढाक्रेहरु चार हातखुट्टाले पहरो नाघेको घटना सुनाउँदा आजभोलि हिड्दै गरेको ट्रक ढुङ्गाले अंठ्याउने गरेको दृष्य सम्झें मैले । म सुनिरहेको थिएँ, त्यो बाटो त सधैंलाई रोगै हुने भयो । अब त हाम्रो यात्रा बुटवल छिर्दै थियो ।

“आजभोलि त चिडियाखोलाको मुखैसम्म घर बनेका छन् अरे । उ बेला त जताततै बाँस र वयरका झाडी मुनि च्वाँचे डुक्रिरहेका हुन्थे । चारैतिर बालुवै–बालुवा थियो । खाली खुट्टा हिडेका ढाक्रेहरु जति हिडे पनि मेलै नसर्ने भनेर ठट्टा गर्थे । हाल महेन्द्र राजमार्गको तिनाउखोला माथिको पुल भएको ठाउँमा काठे पुल थियो । पुलपारी मुख्य बजार थियो । अलिपर ठुटीपिपलमा एउटा थकालीले टिन खरीद गरेर बेच्थ्यो । हामी त्यही गएर टलक्क टल्कने टिन किन्थ्यौं जसले भारीको शोभा दिन्थ्यो ।” जेठाबा कत्ति पनि नरोकिई बोलिरहनु भएको थियो ।

सग्लो बाख्रो सकेर किन कान बाँकी राख्नु भनेर म तत्कालीन मुल्य पनि सोध्न तम्सिएँ । उहाँ भन्दै जानुभयो : चार पाथी अन्न जाने ठूलो बाँदरमारा छाप मट्टितेल सहितको टिनलाई रु १५, नुन एक रुपैयाँको ५ पाथी, एक धार्नी चिनीको दुई रुपैया पाँच आना, डल्ले सर्बोदय छाप धुने साबुन एक रुपैयाको तीन वटा जसलाई काटेर ४ टुक्रा पारी प्रयोग गर्न सकिन्थ्यो । १० खिल्ली हुने बेटमार्का (चमेरो छाप) चुरोट रु २ को पाँच पाकेट, सलाई रु. १ को १२ वटा… यस्तै के–के भन्दै हुनुहुन्थ्यो धेरै सम्झिन सकिन मैले । म धार्नी र आनापैसामा अल्झेंछु  । त्यसको निवारण उहाँले सजिलै गरिदिनु भो–“आठ सेरको एक धार्नी हुदोरहेछ, उता ४ पैसाको एक आना र १६ आनाको एक रुपैंया…।” तर मैले फारो लाउदा नमिलेपछि त्यो पनि स्पष्ट्याई दिनुभो । सगैं उबेला फलाक्ने एउटा गीत पनि खरर पढ्नु भो । भाका आफ्नै पाराको थियो । यो एउटा अन्तरा गुर्सेनीले गाएको चाहिँ अझै मेरो स्मृतिमा रहेछ ।

“रातो लाल्टीनमारा

सुका पाकेट बेटमारा

सक्छौ भने मेखमार ।”

मलाई सुन्दा सुन्दै थकाई लागिसकेको थियो, तर जेठाबा भर्खरै भारी कसेर फर्कने जोश गर्दै हुनुहुन्थ्यो, मैले उहाँको अनुहारमा त्यही पढें।

फर्किदा बाटोमा काम गर्नुपर्छ भनेर पहिला बिरामीको स्वाङ् पार्ने पछि झन् ठूलो भाग खान टक्रिने साथीलाई “भाग पारिको को हो ?” भनेर जिस्काएको, यात्राको सिलसिलमा अरुलाई होच्चाएर ‘अछूत उता जा !’ भन्दा पछि त्यही हेपिएकाले जनै देखाएर “खै लेउ मेरो जात ?” भन्दा के गरौं कसो गरौं भएर आफू नै अछुत भएको –“झन् तिमी नै छोईयौला बराजु उता बस भन्दा झन निहु पो खोज्दा रहेछन्” भनेर उम्केका ठट्टाहरु अझै कैयौं थिए तर दिन ढल्किसकेको थियो । त्यसैले म जेठाबासँग फेरि आउँछु भनेर डहरबाट फुत्त हाम्रो घरको करेसामा ओर्लें। त्यसको पर्सिपल्ट साउने संक्रान्तिको दिन त्यही बाटो एकाबिहानै हिँडेर मिर्मीसम्म पुगी त्यहाँबाट कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको बाँधलाई आँखाभरी कैद गरेर गाडी चढी एकैछिनमा पाल्पा पुगें । दिन बाँकी नै थियो । बटौली पनि पुग्न सक्थें, तर गन्तव्य तानसेनसम्मको थियो । फेरि मौका मिलेछ भने आफन्तले पैतला खियाएको त्यो पुरानो बाटो यिनै अक्षरहरुको साथमा जानु पर्ला । बूढा त कति पो बाँच्लान् र।

 

२०६३ कार्तिक ५ गते

Lok Raj Pathak
Lok Raj Pathak Administrator

Lok Raj Pathak is a Professional Computer Engineer and Technology enthusiast. He has completed Master in Science in Information Technology (M. Sc. IT) and Master in technology in Computer Science and Engineering (M. Tech. Eng). He usually writes in science and technology, life style and religion.

follow me

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave comment