तिनाउदेखि तानसेनसम्म

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म आफ्नो कोठामा बसिरहेको छु । त्यहाँ भएका सबै चिजहरु मेरो इच्छा बमोजिम छन् । मेरो हातमा रिमोट छ । टि.भी. मलाई हेरिरहेको छ तर मेरा आँखाहरु घरी भित्ताका तस्वीरहरु, घरी किताबको दराज अनि, घरी झ्यालबाट बाहिर सडकतीर दौडिरहेका छन् । मन चाँहि कतै बरालिईरहेको छ । बिहानको नौ बज्नै आँटेको छ । “ल खाना खाउँ” भन्दै ठूलो दाजु कोठामा भित्रिनु हुन्छ । खांदै गर्दा अन्य सामान्य कुराहरुसँगै राम्रोसँग जाने, पुगेपछि खबर गर्ने, समयमा खाने, समयमा सुत्ने आदि ममताका पाहुरहरु प्राप्त गरेर हामी दाजुभाई चितवनको टाँडी बाट राजमार्गको पश्चिमतर्फ यात्रा शुरु गर्यौं । भरतपुर आइपुगेपछि दाजुलाई उहाँको कार्यालयमा छाडेर मोटरसाइकल बढी गतिमा नचलाउने र अरु आशीर्वाद पनि पोको पार्दै म आफ्नो कार्यालयको लागि रमाना भएँ । पुल्चोकमा काम सकेर नारायणीको पुलमाथि ईश्वर स्मरण गर्दै नवलपरासीको एकनासे सीधा सडकमा अघि बढ्न थालें । तराईको केही गर्मी, एउटा सानो झोला र हल्का पोशाकमा चाहेको गतिमा हिंडिरहँदा मात्र एउटै सतर्कताले बचाउँथ्यो, त्यो के भने कि–रिङ्मा भएको रातो लकेट बढी गति हुने बित्तिकै थर्केर सकरमा टङ्–टङ् गर्दथ्यो ।

त्यो सडकलाई केही स्थानका जाँचपोष्टहरु, जङ्लहरु अनि बस्तीहरु र दाउन्नेको पहाडलाई पनि छिचोलेर बुटवलसम्म त राम्रै किसिमले आइपुगें । अब भने महेन्द्र राजमार्गलाई छाडेर सिद्धार्थ राजमार्ग हुँदै तिनाउको तिरैतिर मध्य पहाड तर्फ उकालिनु पर्ने थियो । सकेसम्म त्यो यात्रा मलाई एक्लै गर्ने मन छैन । केही भेटघाट पछि कोही चिनेको मान्छे पाइहाल्छु कि भनेर पाल्पाको लागि गाडी छुट्ने ठाउँमा केहीबेर बियाँलो गर्दा पनि विश्वासिलो यात्री फेला परेन । केही सिप नलागेपछि गोलपार्कलाई दाहिने पारेर म चिडियाखोलातिर निसासिन थालें । “असहायको दैव सहारा” भने जस्तै त्यहिनेरको ढुङ्गा खोपेर बनाईएको आस्थाको धरोहर तल्लो सिद्धबाबामा केही अनुनय अनि उपल्लो सिद्धबाबामा पुरै भरोसाको कामना गर्दै म बिग्रिएको र डरलाग्दो तिनाउको किनारको सडकमा सावधानीपूर्वक बग्न थालें ।

तल तिनाउ बगिरहेको छ । म बिपरित दिशातर्फ हुईकिरहेको छु तर म भित्रको एउटा व्यक्ति त्यसरी नै छङ्छङ् गरेर बगिरहेको छ, दिशाबिहीन, गतिबिहीन र उद्देश्यबिहीन बनेर । मेरो कल्पना कुनैबेला भुर्इँचालोमा खण्डहर बन्छ । कुनैबेला सुनामी बनेर आफैलाई तहसनहस पार्छ । अनि कुनै बेला रेगीस्तानको क्याक्टस् जस्तो जीवन संघर्षमा उत्प्रेरित भैरहेको हुन्छ । फेरि, कुनै यस्तो बेला आउँछ उक्त बखत सिमल भुवा जस्तो अझै शरद ऋतुमा पहाडका सुरम्य टाकुरामा गुच्छागुच्छी बनेर बस्ने बादलजस्तो कोमल, नरम, स्वभाविक र स्वतःस्फूर्त बनिदिन्छ । साँच्ची ढुङ्गा कस्तो उडन्ते र डुलुवा यो मन । मानसपटमा सिर्जित कल्पनाका गगनचुम्बी महलको टुप्पाबाट नडराइकन हामफाल्छ, आँखा चिम्लिएका बखत पनि यो यन्त्रलाई एउटा अनौठो मृगतृष्णामा फसाएर लोभ्याउँदै जंघारमा हेलिएर पारि तरेरै छाड्छ । अझै अनेक–अनेक तानावाना बुनाएर जीवन पद्धति माथि कायाकैरन खडा गरिदिन्छ । सायद, त्यसैले होला महात्माहरु सधैं मन बाँध्न सक्नुपर्छ भन्छन् र पनि अन्त्यमा आफैसँग हार खाएर मनले देखाएको बाटोमा लम्पसार पर्दारहेछन्– किताबका माछा नखाएर खोलाका माछा खाएजस्तो । म त भन्छु  यही मन नै त्यस्तो चिज हो जो चुसाहा हो, व्यभिचारी हो, अत्याचारी हो… एउटा छुचो लोभी र मनहुस कालो रातजस्तो शासक अनि कताकति आदर्शवादी पनि तर कहिल्यै पनि यथार्थलाई स्वीकार्दै नस्वीकार्ने घमण्डी र पाखण्डी । यो अझै बहुरुपी पो हुँदोरहेछ घरी श्रद्धाले झुक्छ, घरी कर्तव्यबोधले झस्किन्छ, घरी मायाले द्रविभूत हुन्छ, घरी खुशीले प्रफुल्लीत हुन्छ । फेरि घरी गर्वले गजधम्म फूलेर समस्याहरुतर्फ पिठ्यूँ देखाइदिन पनि तत्पर हुन्छ ।

वास्तवमा जति निहुँ खोजेपनि पानी मुनि बसेर माछासँग शत्रुता मोलेजस्तो यही निराकारी मनसँग सम्झौता नगरी पनि नहुने । त्यसैले एउटै परिवारका लोग्नेस्वास्नी जस्तो घच्याक् घुचुक् गर्दागर्दै आगोको अगाडि बिशाल मुढो डढेर खरानी बनेजस्तो यो जीवन पनि मनको सामु घटिरहेछ, बिलाइरहेछ अनि घुँडा टेकिरहेछ एउटा रहर र व्यथाको बीचमा ।

म अहिले दोभानमा आइपुगेको छु । मैले यताउती गौण गरेर हेरें । माथिबाट सेतो ढेडु बाँदरको एक बथान बाटो अनुगमन गर्दै सडक पार गरिरहेको थियो । म ठूलो गियरमा यात्रारत हुनाले त्यो परिबेशले मेरो गति अनायासै घट्दा यन्त्र बन्द भयो । म भने आदिम युगतर्फ बिचरण गर्न थालें ।

इतिहासको गर्भ खोतलेर हेर्दा भर्खरै मात्र पुष्टि भएको छ कि मेरा पुर्खा रामापिथेकस, यही डाँडोमा, यसरी नै अहिले यी ढेडुहरुजस्तै विचरित गर्दथे । सडक खाली थियो । कही कतै साधनहरु पनि आउने जाने गरेका थिएनन् । मलाई एक्लो देखेर ती वरिपरि भएका समूह पनि एकत्रित हुन खोजेछन् क्यारे । एउटा ढेडु माथिपट्टिको पहराबाट सडकमा झरेर रोकिंदै भएजतिका सबै दाँतहरु मलाई देखाएर रोड मुनि झर्‍यो। त्यसपछि उसका सबै टोली त्यसैको सिको गरे । मैले त्यहीं सडकको छेउबाट हेरिरहें । कता–कता मेरो मन पनि त्यसरी नै फुत्त–फुत्त हाँगाहरु, थुम्काहरु, लहराहरुमा झुण्डिदै पारी पुगिसकेको रहेछ । एक्कासी पछाडिबाट आएको जीपले हर्न बजाउँदा पो यथार्थमा बजारिन पुगें । मोटरसाइकल घिच्याएर बाटो छोडिदिएपछि बिस्तारै अघि बढ्न थालें । यस्तो लाग्थ्यो यी अर्धचेतना बोकेका रामापिथेकसका अस्तित्वहरु सबै चुनौतीहरुलाई सामना गर्दै आफ्ना बराजुको डाँडोमाथि धावा बोलिरहेछन् । विश्व जित्ने ब्रिटिसलाई पाल्पाली जर्नेलले जितगढीमा हुर्मत लिएर सुगौली सन्धिको चंगुलमा छिराएजस्तो गर्न मात्र सकिरहेका छैनन् ।

मैले आफैलाई धिक्कारें  “कतै हामी सभ्यताको नाउँमा बाँदर भन्दा पनि पतित् त भैसकेनौं हँ ?” होइन, होइन, फेरि म मन बुझाउन थालें । हामीले त यो लोकमा यति धेरै विषयहरु माथि बिजय हासिल गरिरहेका छौं । ती बाँदर भन्दा हामी निम्न स्तरको हुनै सक्दैनौं । फेरि मेरो आत्मा बोल्यो– “जे सुकै होस्, तैंले यो डाँडोसँग कृतज्ञ हुनैपर्छ किनकि यहीँ कतै कुनै कापमा रामापिथेकस जन्मेको हुर्केको अनि बढेर आज तँ सम्म आई पुग्ने अस्तित्व छाडेर गएको थियो ।”

यो मनले कहिले दुखाउँदो रहेछ अनि कहिले झुकाउँदो पनि रहेछ । बल्ल म सहमत भएँ । “हामी बाँदरै त हो नि” … अनि अर्घाछाप सकिएर झुम्सा शुरु हुने ठूलो घुम्तीबाट दोभानको पाखोतर्फ फर्कदै मनभरिको श्रद्धासुमन अर्पें र अघि बढिरहेँ । यस्तो लाग्यो दोभानको टोपी बनेर बसेको नुवाकोट गढीले पनि मलाई देख्यो र शुभयात्रा भन्यो, जहाँबाट बुटवलको जितगढीसम्म सुरुङ बनाएर हाम्रा पुर्खाहरु लडेका थिए । झुम्साको सानातिना घुम्तीहरु त्यसपछि तुरुन्तै आइपुग्ने सिस्नेखोलाको नागबेली सडक यसलाई पनि पार गरेर अगाडि बढेपछि म पानीमिलमा आइपुगें । म एकदमै चनाखो भएर यो परिवेशसँग एकदमै अध्ययनशील, सतर्क अनि सावधानीपूर्वक हुँइकिईरहेछु । बढी गति लिउँ भने बाटो खराब फेरि बिस्तारै जाउँ भने पनि सम्भावित विविध खतराको सम्बन्धमा म भित्र मतदान भैरहेको छ । जे भएपनि यात्रा शुरु भैसकेको छ, जसरी पनि नसकी हुँदैन भनेर मन बाँध्दै म सिसुवाको पाखो सकेर हिउँदे खोलाको गग्रेटो सडकमा निस्कें । हिउँदमा पनि माटो बगिरहने अनि जति मर्मत गरेपनि बिग्रिहाल्ने यो सडकले कृष्णभीरको बिँडो थामेजस्तो लागिरहेको थियो । माथिपट्टि मरामकोटको डाँडो बेमौसममै पोखिएर यस्तो समस्या खडा गरिरहन्छ ।

यीनै लख काट्दा काट्दै म चौबीस माइलको दोबाटोमा आइपुगें । यहाँबाट यो सडकलाई यही छाडेर दक्षिणतर्फ डेढ घण्टाजति कोलडाँडा गाविसस्थित चौधपन्ध्र सय मिटर उक्लने हो भने त्यहाँ सुन्दर जंगलको बीचमा पहाडको टाकुरामा प्रसिद्ध सत्यवती ताल अवस्थित छ । कार्तिक पूर्णिमामा ठूलो मेला लाग्ने यो स्थानमा म पनि पोहोर साल पुगेथें । यहाँ जानेहरु एउटा नौलो विश्वास बोकेर नवीन किसिमले स्वर्गको बाटो छोट्याउँदा रहेछन् । मलाई अनौठो लागिरहेछ– बाठो भनाउँदो मान्छे पनि कता–कता हार खाएको देख्दा । त्यो के भने सत्यवती माईले कानले सुन्न नसक्ने हुनाले ठूलो स्वरमा चिच्याउँदै तालको वरिपरि घुमेर घरीघरी फलाकिरहने रिवाज पृथक किसिमको लाग्यो । साँच्ची हरेक मान्छे सतहमा उच्चतम् धार्मिकताबाट सिंगारिएको भएपनि भित्र भित्रै कुहिएको फर्सी जस्तो निकृष्टतम् पापद्वारा भक्कानिइरहेको हुँदोरहेछ । त्यसैले त सबै कामदाम छोडेर मध्यरातमा यो तालको वरिपरि चिच्याउँदै आफ्नो पाप ओकलेको र मर्त्यलोक बिगारिसकेपछि स्वर्गमा पनि किरा पार्न ईश्वरलाई फकाई रहेको दृश्य म सम्झिरहेछु । लाग्थ्यो बाह्र वर्षसम्म धुरीबाट कराउन नसकेको पाप आज त्यहाँ कराईरहेछ । जे भएपनि ईश्वरियतामा आशक्ति बढाएर अब गल्ती नदोहोर्याउने हो भने यो तालको प्रभाव र महत्व बढ्थ्यो होला । मैले महाकविको “यात्री” सम्झें र गुन्गुनाउँदै अघि बढिरहें ।

यो सोचाईसँगै म चौबीस माइल सकेर केराबारी पनि पार गरी जोरधाराको रमाइलो परिवेशमा यात्रारत छु । वरिपरिको वातावरण मलाई किन–किन रमाइलो र सुहाउँदो लागिरहेछ । हामी नेपाली हौं । के घर, के गाउँ, के देश, के बिदेश, जहाँ रहेपनि हाम्रो नशा–नशामा देश दौडिरहेको छ, छातीमा सगरमाथा गजधम्म परेर बसिरहेको छ  । जसले हाम्रो आफ्नोपन जाहेर गर्दछ । म र यी मेरा नशामा पनि यहींको आभाष र उर्जा बहिरहेको छ  । विशेषतः केही समयदेखि पाल्पाको । यो पछिल्लो समयमा पन्ध्र दिन भैसकेको छ, पाल्पाको पानी नखाएको । कता–कता नशामा पानी कम भएको महशुस भयो । मैले जोरधारामा मोटरसाइकल रोकें अनि पेटभरि पिएँ ।

स्वच्छ र निर्मल पानी बहिरहेको थियो । जति पिएपनि प्यासै नमेटिने । यस्तो लाग्छ, जीवन धान्ने जरुवाहरु कति सुके, कति धसिए, कति चाँहि यसरी नै कलकल बगिरहेका छन् कसैले पिउँछ कि भनेर । … यो परिवेशसँगै यस्तो लाग्यो म पनि पानी–पानी भएको छु । यो सत्य हो पानीको आकार हुँदैन र पनि जीवन यसैले धानेको हुन्छ । यसको मतलब म यति तरल र परिवर्तनशील भएको छु … कसैले कुनै आकार दिएन भने बगेर जान पनि सक्छु । सोसिंदै । यसैगरी यो तरलतासँगै कोही चल्मलाउँदै मेरो नजिकमा आइपुग्यो तर अलिकति पर मैले चाहेको ठाउँमा जसलाई मात्र मैले देखिरहेछु…. एउटा मीठो महसुस मात्र ।

वास्तवमा कतिसँग खुशी हुन मात्र पाइन्छ । केहीसँग थोरै दुःख मात्र पोख्न पाइन्छ, अनि सबै जनासँग मात्र पेट मिची–मिची हाँस्न पाइन्छ तर ऊ त मेरो एउटै यस्तो प्राप्ति हो जोसँग म मुर्मुरिएर रिसाउन सक्छु । हृदय खोलेर पीडा दिन अनि लिन सक्छु । अझै यति मात्र हैन उसका यादहरुलाई कल्पनामा सजाएर त्यसैलाई उर्जाको रुपमा लिदै अनन्तको बाटो छोट्याउन पनि सक्छु । यति भैसक्दा पनि ऊ सँग मेरो यही सम्बन्ध छ  भनेर किटान गर्न सकिरहेको छैन । मैले मनसँग पटक–पटक सोध्छु –‘ऊ को हो ?’ फेरि मनले जवाफ दिन्छ “तँ आफै भन ।” अनि फेरि सोच्छु ऊ किन मेरा नजिकै तर स्पर्शभन्दा टाढा बिचरण गरिरहेको छ । कसरी म यही परिवेशमा दिनहरु, रातहरु र प्रभातहरु बिताउन सक्छु ?

क्षणिक रुपमा उत्पन्न उक्त रिसले मलाई यथार्थमा ल्यायो । म फुत्त कलभर्ट फड्केर सडकमा आएँ । म त्यहाँ एक्लै छु । फेरि बाटो र परिवेश पनि त्यस्तै छ । जीवनमा मैले सबैकुरा जितें, तर यो डरको गला दबाउन मलाई बिरालाको घाँटीको घण्टी साबित भएको छ । जसले मलाई एकनासले गालिरहेको छ । एउटा जीजिविषा अनि एउटा रहर । भर्खरै ऊ आएर उर्जा थपेर बिलीन भएको थियो, लगत्तै यो डरले एकै सासमा सिनित्तै पारिदियो ।

मैले पुनः त्यो नागबेली सडकमा गति लिएँ । अगाडि चर्चरेको घुम्ती मलाई पर्खिरहेको थियो । अझै पनि ऊ मसँगै थियो-दायाँ, बाँया, अघि, पछि वा हृदयमा कतैतिर । आफैलाई गाली गरें “तैंले यो के गरेको ?” उसलाई पनि सरापें “किन स्वाङ् पार्दै मलाई तड्पाएको” भनेर । फेरि मन बुझाएँ “बिचरा उसको के दोष अनि मैले पो कुन अपराध गरेको छु र …?”  “के ऊ भन्दा अरु कुनै विषयमा केही कुरा सोच्न सकिन्छ र …?”  खयर जे सुकै होस्, बाँचुन्जेल असल संगत पाएको महसुस भैरहेछ । यो तुफानको संगतमा आएको वातावरण नभएर ममता असल कामना र रेखदेखको… जसले कठिन जंघारमा जीवनको डुङ्गा डग्मगाउन दिंदैन जताततै माया बर्षाईरहन्छ । धन्य मेरी प्रकृति, कति बैभवपूर्ण छ तिम्रो ममताको साम्राज्य ।

हामी हिन्दुहरुको अनौठो चलन हुन्छ । अन्य धर्मावलम्बीहरुमा बिरलै भेटिने यो प्रचलन धेरै सम्माननीय पनि छ । जो कोही पनि घरबाट छुट्टिएर कुनै उद्देश्यको लागि बाहिरिन्छ भने उसलाई तुलसीको मठनेर निधार भरी टीका लगाएर बिदाई गरिन्छ । थाहा हुँदैन ऊ पुनः फर्किन्छ या फर्किंदैन । यो चलन उहिल्यै बेदपाठ गर्न काशी जाने बेलादेखि र लाहुर जाने जमानामा पनि निरन्तर भएर अझै चलिरहेको छ ।

घरमा हुँदा आफन्तबाट हुने आभाष र छत्र–छाँयालाई परदेशमा भएको बेलामा सम्पूर्ण जिम्मा त्यही टीकासँगै ईश्वरको पोल्टामा सुम्पेर जोरीपारीसँग कृत्रिम हाँसो हाँस्दै ऊ आउने तगारोतिर नजरहरु ओछ्याएर कुरी बस्ने परिपाटी आफैमा गर्विलो छ । मैले लुकिङ् ग्लासमा हेरें । मेरो निधारमा बिहान लगाएको टीका आधा भन्दा बढी बाँकी नै थियो । कता–कता एउटा चिसोपना ममा सवार भयो । यत्तिकैमा चर्चरेनेरको ढिकको ठूलो घुम्ती हुँदै म अघि बढिरहेको रहेंछु । केही गति घटाएर बिस्तारै हिँड्न थालें । कस्तो अजिव परिवेश आफूमात्र बाँच्न पनि नपाईने अरुको लागि पनि बाँचिदिनुपर्ने । फेरि एउटा चुनौतीले जिस्क्यायो । “खै कसरी बाँचिएला र !” यो जिन्दगी जन्मिन त केही रहेनछ तर बाँच्न र मर्न एकदम कठिन । यो त एउटा बाँध हो भेलमा फुट्ने अनि खडेरीमा सबैलाई सुकाएर जमेर बसिरहने ।

यसपछि भने ममा एउटा रोमाञ्चित कम्पनले छोयो अनि आत्माले सान्त्वना दियो “कुनै पनि मतिभ्रान्तिले कमजोरीको रुप धारण गर्ने छैन ।” यो परिस्थितिजन्य घटनालाई छिचोल्दै म अलिकति ओसिलो कालीमाटीनेर आइपुगें । वरिपरि कालो माटो थियो । पिच गरेको सडक पनि ओसिलो खालको प्रतीत हुन्थ्यो । वरिपरिका पानीका फाटफुट जरुवाहरुले यो भागलाई चिस्याइरहेका थिए । यो खण्डले पनि सडक निर्माणको सिलसिलामा धेरै कठिनाई खडा गरेजस्तो लाग्थ्यो । अघि बढिरहने क्रममा अगाडिको पुलमा मेरा नजरहरु पुगे । लाग्यो म गन्तब्यतिर नजिकिई रहेको छु । गौंडेको पुल तर्ने बेलामा खोलातिर हेरें । वर्षा सकिई सकेको भएपनि पानीको मात्रा धेरै नै थियो । वरिपरिका सबै जरुवाहरु जम्मा हुँदै तिनाउमा मिल्न हतारिदै थिए । नढाँटीकन भन्नुपर्दा मलाई यो तिनाउसँग झनक्क रिस उठिरहेको छ । आदिम कालदेखि यो यसरी नै बहिरहेकी छ, हतार–हतार लम्किरहेकी छ । यी पहाडहरु चुसेर, डाँडा पखेराहरुलाई कंकाल जस्तो बनाउँदै माटो बोकेर कहाँ लगेर बुझाएकी छ । यसले कसको लागि यति धेरै चाकडी गरिरहेकी छ कुन्नि ! कतै यो तस्कर पो हो कि ! झरिको सहारा मागेर कताकति बस्तीभित्र पनि हुत्तिन पछि पर्दिन । कुनैबेला त यसलाई पनि अत्यास लाग्दो हो र सुस्साउँदै अनि कहिलेकाँही जवानीको नौलो अनुभवले डराएकी युवती झैं लज्जालु मनोबृत्ति प्रदर्शन गर्दै कलकल र शान्त बनेर निरन्तर संगीत गुन्गुनाउँदै बग्छे पनि । मलाई त यस्तो लाग्छ, यो जति सुन्दरी भएपनि यी वरिपरिका छटाहरु, वन जङ्गल र झारपातहरु अनि सबै तानसेनबासीहरुले कत्ति पनि रुचाउँदैनन् किनकि यो आत्मघातीले झुम्सा खोलालाई सागर चुम्न जाने लोभ देखाएर खिरौली निरको गल्छेंडोबाट भगाई अथाह पानीको सागर बोकी बसेकी माडी सरोवर जसलाई ऋषि माण्डब्यको तपस्याको प्रभावले गर्दा काली नदी तिल स्वरुप मुल फुटेर पवित्र पार्न समेत जुटेकी थिइन् जहाँ तिलोत्तमा अप्सराहरुले पौडी खेल्ने पावन पोखरीलाई आकाशको बाटो कुरी बस्ने काकाकुल जस्तो बन्न बिवश बनाएकी छे। मैले तिनाउ खोलालाई एकपटक मनभरीको गाली गरें।

 

न मेरो तिनाउ लुकेर बहेकी

यो माडी चुसेर झुकेर बहेकी

बनी यौवना यी रुझेका नयन्ले

रोई चाँदनी झैं चुकेर बहेकी

कता हो कता हो हिडेकी झुमेर

विहानी शरदमा सुकेर बहेकी

छ माटो दुखेको मुटुमा सबैको

लाजै पो हुनेभो भुकेर बहेकी

उक्त तीरैतिर अघि आउँदा म अहिले तल्लो डुम्रे बजारमा छिरिसकेको छु । सानो बजार, चिटिक्क मिलेका घरहरु, खोलाको किनारमा सडकको दुबैतिर रहेका । वारिपारिका उकालिएका डाँडाका गाउँलेहरुको नुन, पानी व्यवस्था गर्ने तथा त्यहाँ फलेका तरकारी र अनाजहरुलाई त्यही जम्मा पारेर चाँजोपाँजो मिलाउने एउटा उपयुक्त गौंडोको रुपमा यसलाई लिन सकिन्छ । म यहाँ पनि नरोकिई त्यो पहाडी खोचबाट अघि बढिरहें । सकिंदै गरेको दिनको परिवेशमा भालेबासको घुम्तीबाट तानसेन देखियो । यस्तो लागिरहेछ तीजमा कुनै चेली माइत फर्किरहेकी छ ।

म पाल्पा बस्ने क्रममा सबैभन्दा बढी खुट्टा चलाएँ । यो जिल्लाका हरेक गा.वि.स., टोल, गल्छेंडो र पाखाहरुमा म आफ्नै खुट्टाले हिंडेर पुगेको छु । ती लिचीका बोट, आँपका गाछी, भुँईकटहरका गाँजहरु, सुन्तला र नासपातीका बोटहरुले मलाई राम्रोसँग चिन्छन् । बरु मान्छेले भुलिसके होलान् । त्यसैले त यो माटोप्रति अगाध माया जागिरहेछ ।

म अहिले माथिल्लो डुम्रे, जरेपिपल अनि छाप हुँदै नयाँपाटीमा आइपुगेको छु । यहाँबाट एउटा कच्ची सडक मदनपोखरातिर छुट्टिन्छ । यो एउटा गल्छीजस्तो छ । दक्षिणपट्टि मदनपोखरा बिस्तारै अग्लिदै गएर अलिपर पाल्पाको सबैभन्दा अग्लो कसेनीको रमणीय कौडे लेक । यहाँ ८,१० घरहरुको सानो बजार र दाहिनेपट्टि दुरसंचारको अन्तर्राष्ट्रिय ट्रान्समिसन टावर रहेको जयन्तिलुङ् डाँडोलाई मस्यामको सुनडाँडाले छेकिएको छ, लाग्छ यिनै पाखा पखेराहरुमा वारीपारी र देउरालीसँगै जोडिएर हामी नेपालीको जीवन बगिरहेको छ ।

मलाई प्रश्नहरुले बाटो छेकिरहेका छन् । धन्न, यो अवोध यन्त्र अघि बढिरहेको छ र म पनि त्यसैसँग स्थूल बनेको छु । नत्र, म त्यही रुक्थें अनि सबै कामहरु बन्द गरेर उसैमा सोचाई केन्द्रित गर्थें होला । हुन त यस्ता प्रयासहरु मैले धेरै गरेको छु । तर सबै निकास बिहीन र शुष्क छन् । यति हुँदाहुँदै पनि कालो बादलमा चाँदीको सेतो घेरा देखिएजस्तो यो तरानाबाट म छुटकारा लिई बिट मान पनि सकिरहेको छैन र डुब्न पनि सकेको छैन । त्यसैमा समाहित बनेर अनि रुझिरहेछु चाँदीले घेरिएर वर्षिएको बादलजस्तै घनश्याम बनेर बृन्दावनमा ।

त्यहाँको पेट्रोल पम्पमा केही हुनुपर्ने हो भनेर हेरें तर नजरहरु खाली हात फर्के । यसरी रुझिरहँदा वरिपरि बजेका लतावृक्षमा तप्केर गुञ्जित जलतरंग मेरो कानसम्म आइपुग्दा कोही मेरो समिपमा पजनी बजाउँदै नजिकिएको आभाष हुन्छ । वरिपरि खोज्छु…… दौडिन्छु…… भौंतारिएर असिन्–पसिन् हुन्छु, तर केही पनि भेटिदैन । यो यस्तो रुझाई हो, जसमा बिस्मित खुसी, सुखी, उत्तेजित जे पनि हुन पाइन्छ कुनै शुल्क तिर्न पर्दैन । अझ म यसलाई नशा भन्न रुचाउँछु । मेरो औकातले रक्सी खान नपाए पनि यो यादको नशा ठिक्क तामसिक र सुहाउँदो छ, जुनबेला जुन स्थानमा पनि उपलब्ध हुन्छ । मलाई त सपनामा पनि छुट छ ।

सामान्य गतिमा बायाँपट्टिको फाँटलाई नियाल्दै चुच्चेबारीको यात्रा सकिएपछि बाँसटारीबाट अलिकति उकालोमा म उकालिन थालें । जहाँबाट बाँसटारी झडेवा खण्डको २३ किलोमिटर कच्ची सडक शुरु हुन्छ । सानो बजारमा दुवैतिर र सडकमा पनि आँखा दौडाउँदै म प्रभासतिर नजिकिंदै छु । राजमार्गसँगै जोडिएको प्रभास ताल त्यसरी नै लम्पसार परिरहेको छ आफ्नो नाभीमा कमललाई फुलाउँदै । यो कमलपोखरीमा पौराणिक कालमा सबै तिर्थस्थलहरुबाट पानी ल्याएर मिसाइएको हुनाले यहाँ नुहाएपछि ठूलो पुण्य मिल्छ भन्ने सुनेको छु मैले । त्यता पट्टिबाट एउटा मीठो बतास आएर मलाई सुम्सुम्यायो त्यसैसँग पानीमाथि फूलेको कमलको हाँसो पोखिंदा फैलिएको मधुर र अनुपम उमङ्ग पनि थियो । मेरो विचारमा यो एउटा प्राकृतिक र धार्मिक धरोहर हो जुन संरक्षणको लागि कुरिरहेको छ । यो तालको छेउछाउमा फल्ने प्राकृतिक (जङ्गली) धानबाट विभिन्न किसिमका नयाँ धानका जातहरु विकसित गरी व्यवसायिक उत्पादन समेत गरिसकिएको साथै यहाँको प्रसिद्ध सूर्यकुण्डलाई बिर्सेर गाडी रिजर्भ गरेर चारधाम गर्न जानेलाई एकपटक सम्झिएँ अनि बाँसटारीका दुईवटा ठूला घुम्तीहरु पार गरेर उपल्लो थुम्किलाको पानी ट्याङ्की हुँदै लामिडाँडामा हुँइकिन थालें ।

म अहिले अर्कै भएको छु । यतिबेरसम्म गुटुमुटु पारेको डरको भूत शुन्यमा बिलीन भएको छ । एउटा निर्धक्कपन विकसित भएर नयाँ रक्त संचार गरिरहेछ । निभ्ने बेलाका बत्ती, धपक्क भएर रातोरानी फूल्ने बेलाजस्तो अझ यसो भनौं रात पर्नुभन्दा अगाडिको निशाले नजर पुग्ने स्थानहरु सबै छर्लङ्ग बनाएको छ । पूर्वपट्टि माडीफाँट मुख–मुखमा प्राणका दाना पसाउन लागेको धान खेतीसँगै पहेंलो सारीको पर्खाईमा कुरिरहेकी । पल्लो कुनाको अलिकति मात्र देखिने देवगीरसँगै गोठादीको माथागढी जहाँ उजिरसिंहले अंग्रेजलाई चेतबाबाकासी बनाएको स्थान पनि पहिचान दिन कस्सिईरहेको । अलिकति बाँयापट्टि आर्यभञ्ज्याङ्को घुम्तीलाई पोल्टामा राखेर बग्नास मुस्कुराइरहेकी । पारिपट्टि मदनपोखरा एफ.एम.को सेतो टावरसँगै छापको अग्लो डाँडो पहरेदार बनेर बसिरहेको अनि मुनिपट्टि उत्पीडित र ब्राम्हणलाई एकै ठाउँमा राखेर शिक्षा दिने कृषि युगका ऋषि माण्डव्यको नामबाट स्थापित बहुमुखी क्याम्पस, मन्दिर अझै उनको तपस्यालाई सहन नसकेर चोरको आरोप लगाएर कुटेर धपाएपछि – “माडी फाँटको अन्न खाने मान्छेको पछिबाट बुद्धि आओस्” भनि आशिष दिएको पूर्वदक्षिणमा रहेको सरापकोटको डाँडोले औंला ठड्याईरहेको । पश्चिमपट्टि बन्दीपोखराको भुरे राजाका पालामा तामाको पैसा काट्न प्रयोग भएको किटको पहाड खुसुक्क चियाईरहेको । अलिकति सडक गएतिर नजर घुमाएपछि एउटा चिरपरिचित मनमोहक अनि सबैको गन्तव्य बनेको सम्राट मुकुन्दसेनले काठमाण्डौं देखि धनकुटा र भोजपुरसम्म ४९८ बर्ष फैलाएको साम्राज्यको ताज पहिरिएर उनको दरबारको भग्नावशेषलाई सल्लाघारीभित्र लुकाउँदै मख्ख परेर सुस्साईरहेको नगरहरुको ताज श्रीनगर काखमा तानसेन बजारलाई पुल्पुल्याउँदै सूर्यका अन्तिम किरणलाई बिदाई गर्दै बादलभित्र जान तम्सिएकी।

गोर्खेकोट नेरबाट सुनसान गोधुलीमा मन्द र शान्त हावाले बिस्तारै बादलको पहाडलाई घचेट्दै अनि धकेल्दै पारिलेक वनतर्फ जाने क्रममा भ्यू– टावरलाई छोपिसकेको । सल्लाघारीको बीचमा नेपाल टेलिभिजनको टावर । त्यसको केही पर १०० मिटरको दुरीमा अन्य तीनवटा (श्रीनगर, मुक्तिनाथ र रेडियो पश्चिमाञ्चल) एफ.एम. प्रशारण केन्द्रका टावरहरु… । त्यो बजार, त्यो जङ्गल, तल खोचको रानीमहल, कालीगण्डकीको चिसो बतास, अनि त्यो परिवेश…, यस्तो लाग्थ्यो सिद्धिचरणले यसैको रिसले ओखलढुङ्गा लेखे ।

धेरै हिमश्रृङ्खलाहरु दृश्यावलोकन गर्न सकिने मध्य पहाडको त्यो डाँडोले हिमालसँग सापट लिएको हिऊँको कोसेली यहाँ आइपुग्दा ओसिलो हुस्सु बनेको हो । यसैले पनि यो हिमाल हो, शैल पहाड हो, सगरमाथा हो, निरगिरी धौलागिरी अनि राम्रो र पियारो कञ्चनजङ्घा हो ।

लाग्छ यी सबै डाँडाकाँडा, नदीनाला र आफन्त मिलेर मलाई सजायँ दिईरहेका छन् । एउटा ममताको नासो अनि हतकडी प्यारको त्यो पनि हृदयमा । मेरा हातखुट्टा चलेपनि मुटु यही कतै थुनिईरहेको छ, जानै सक्दैन । अझै मेरो प्रेम अनौठो छ जसलाई अहिलेसम्म म आफैले छाम्न सकिरहेको छैन । … नङ्ग्रा, दाह्रा अनि डरलाग्दो बनावट भएको भोटे कुकुरजस्तो तर पाल्तु । मालिक देखेपछि पुच्छर हल्लाईहाल्ने । मानौं हामीले सदा आस्थाले जाने मन्दिर त्यसको केन्द्रबिन्दुमा रहेका देवता, उनलाई खुशी पार्न बाल्ने दीपक…, यति भएपछि पूरा हुनुपर्ने हो । अहँ… म अल्ली छुचो छु किनकि त्यो बल्नुपर्छ र ज्योति दिनुपर्छ । हो ! यो मेरो जीवनको त्यही ज्योति हो जसलाई यिनै डाँडाकाँडाले छोपेर राखेका छन् तर प्रज्वलित हुन बाँकी । यसलाई म एउटा रहर नभनेर व्यथा भन्न रुचाउँछु ।

त्यो लामीडाँडाको उकालो सकिएपछि म नयाँ गाउँतिर बाँया मोडिन थालें । घुम्तीनेरको पालेपिपलको सामुदायिक वन, मेलका बोटमा नासपातीका हाँगा जोडेर खेती गरेको नेपालकै पहिलो व्यवसायिक ग्राफ्टिङ् प्रणाली अनि रेशम खेती भएको ठाउँलाई एक झुल्को हेरेर एउटा उमङ्गको साथमा भारत सरकारद्वारा निर्मित सिद्धार्थ राजमार्गको १८४ किलोमिटर मध्ये ३५ किलोमिटर यात्रा तय गरेर बर्तुङ्को चोकमा आइपुगें, जहाँबाट राजमार्ग नछोडी जाने हो भने आर्यभञ्ज्याङ्, राम्दी हुँदै पोखरा पुगिन्छ । तर, म त्यो बाटो नगएर पाल्पा–रिडी–तम्घास खण्डको ७६ किलोमिटर मध्ये तानसेनमा पुग्न ४ किलोमिटर यात्रा गर्नुपर्ने छ । त्यहाँ चिनजानका व्यक्तिहरुसँग साधुवाद लेनदेन गरेपछि साँझ पनि पर्न थालेकोले धोबिधारा, काजीपौवा र होल्याङ्दीको मोड सँग हात मिलाउँदै आफ्नो कार्यालयतर्फ लागें ।

कार्यालयमा आएर सामान्य कामहरु सकाएपछि घरमा फोन गर्ने बखत दाजुले सोध्नुभो– “राम्रोसँग पुग्यौ ? बाटोमा केही त भएन… ?” यात्रामा भएका यतिका कुराहरु मध्ये दाइलाई भन्नेजस्तो केही पनि थिएन । अनि उहाँले “ल बेला बेलामा सम्पर्कमा आइरहनु” भनेर फोन राखिदिनु भो ।

सोचें मानसपटको दुःखद भएपनि अघाएरै नसकिने खुशी म मा सवार भैरहेको छ । एउटा आभाष गर्ने सौभाग्य मिल्यो । नौलो भाव जन्मिएको यो बेलामा कलम र कापीसँग भेट भएपनि म लेख्न सकिरहेको छैन । लेख्ने जमर्को जुट्ने बेलासम्म बलवान समयले यी मीठा संस्मरणहरुसँग साक्षात्कार गराइरहेछन् भने रमाइलो भूगोलको पाटोमा यो भाषा, कला र संस्कृतिले भरिपूर्ण धरातलमा घटीत यो कल्पना कतै कोर्नुपर्ला ।

Lok Raj Pathak
Lok Raj Pathak Administrator

Lok Raj Pathak is a Professional Computer Engineer and Technology enthusiast. He has completed Master in Science in Information Technology (M. Sc. IT) and Master in technology in Computer Science and Engineering (M. Tech. Eng). He usually writes in science and technology, life style and religion.

follow me

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave comment