निरक्षर रम्भापानी

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यत्रो हुल छ; वरिपरीबाट सबैले घेरिंदा पनि खै त म कसैसंग गफ गर्न सकिरहेको छैन । एक्लै भन्नु कि जमात्, उफ ! धन्य भगवान एउटा मन दिएछौ । प्रकृतिलाई पनि आभार प्रकट गर्छु । यी आँखाले चियाउँने छिंडी र पाँसुलाले टेकिने अखेटो भेटेछन् नत्र ……।

मनका यति विघ्न कलकलाउँदा रहरहरु ऊ त्यो डाँडो नभए कति पर पुग्दा हुन् । यतापट्टि अल्ली खुल्ला चउर तर सूर्य त्यतैबाट खसेछ, नजर फिराउँनै मुस्किल । माथि पुग्न त ठाउँमै जन्मनुपर्ने …. हेर्न पनि कत्रो सकस् । भूंईकुहिरो संधै आफैभित्र  गजधम्म गुम्सिंदो छ । असाध्य रोग क्यान्सर पनि निर्मूलै हुने भो तर यो गुम्स्याई त न बिष्फोट हुन्छ न निष्कृय । ठिकै छ झर्झराउँदा आकांक्षाहरु बाहिर च्यूलिएर लुछिनुभन्दा बरु भित्रै तीनपाते बनुन् । एकपटक कसो अग्रख नपलाउला र !

जुनेली रातको चकमन्नतामा बस्ती निदाईरहेको छ । बुहारी, बूढाखाडा र भाले कुखुराहरु भर्खरै गुँडमा गुड्गुडाऊदै गरेका परेवालाई साथ दिदैछन् । शरीरभरीका कपडा र मुख वरिपरि बतासले छाम्दैछ । किन छाम्नु पर्‍यो अब त छिप्पिएको काँक्रो जस्तो भैसकेको छ अनुहार । बिस्तारै हिड्नु पर्ने हो तर पदचापहरु बारीका डिल, सडक, किनार र पाखाहरुमा तलमाथि गरिरहंदा चकमन्नता चिरिएको गुन्जन पर–परसम्म झाँङ्गिएको हुनुपर्छ । अध्यारोको साथी सर्तकता नत्र जीवनदेखिनै हात धुनुपर्छ ।

मन काटीकुटी बनेर जोड घटाऊ बिचार्दैछ । एकोहोरो पद्चापको पुनरोक्ति मात्र । आँखाले कानका इशाराहरु मार्फत मुहारामा अनौठा रेखाहरु कोरिरेहका छन् एकनासले । मिर्मिरेको स्निग्धतामा दिमागी हालत भने अझै गमिलो बनेर प्रकृतिसंग सान्निध्यता जचाउँन मानव यन्त्रलाई चालकको अभिनय गर्दैछ । रातभरि पनि न उडुसले फुर्सद पाए न म झिम्किन सकें । ‘उसै त मुसुरी, हिङ्ले झानेकी’ भनेजस्तै घरी आफू सम्झ्यो, घरी जन्मथलो, घरी त्यो बालापन र अबोध क्रीडास्थलको अभिनय…. । जे गरेपनि आफ्नै देशको मुखौडा किन झुल्किँदो हो ? अझै बाबुआमा बिर्सेर त्यो नक्कली किन स्वाङ् पार्न तम्सिन्छे कुन्नी । निदकी काल ।

“एका बिहानै हिडेको, एकछिन बिसाउने हो की …….”

“हुन्छ” ।

न भारी, न थकान न कुनै  उपलब्धि, न त कुनै समय सिमारेखा । उठ्यो, हिड्यो, बिसायो, फेरि ………… ।

“‘अँ यता त्यस्तो केही रहेनछ ।”

फेरि बोलें– “किन केही हुनु पर्‍यो र ? न आत्तिऊ भैहाल्ला नि । कहिले खाली हात फर्केका छौ र ।”

“ए भगवान केही नहोस्, बरु………..”

“बरु के ?”

होइन !!!, केही होइन । (जवाफ मिलेन)

सोचें– छि ! यसरी पनि देश दर्शन हुदोरहेछ ! म त कुन्नी किन देशको यस्तो मुहार हेर्न पाउनु भाग्य ठान्छु । वर्तमानमा नियति ।

“आफू पस्ने खाल्टो आफै खनेको जस्तो ।”

यसपछि कतै कुनै आकृति दिमागमा छिरे त हुन्थ्यो । शिसिपसको जस्तो झर्ने यात्रा ।

“हैन, हैन अब धेरै खट्नु नपर्ला ।”

मनले बात मार्न खोज्यो–

सोचको किटानी जवाफ–

धाने पो खट्न सक्नु, यस्तै हो भने त प्रलय हुन्छ ।

“खै बल्ल रात परेको जस्तो पो लागिरहेछ ।”

कस्तो आत्तिएको – “यो तेश्रो प्रहर हो ।” ऊ हेर त पूर्वबाट…। मन थाम्नुपर्छ नि । के यो अँध्यारोले तिमीलाई मात्र अधकल्चो बनाएको छ र । आगो छोपेर धेरै टिकिदैन बरु धुवाँ त रामायणमा पनि आकाशै ताकेथ्यो ।

– “अहिले त ज्वाला पनि भासिंदै छ ।

यो राम्रो होइन ।”

– तर सहनुपर्छ । यो देशमा जन्मेपछि यत्ति पनि गर्न नसके के नालापानी र काँगडाका गीत गाउनु ।

– “आफैलाई जलाए ज्योति निस्कन्छ कि बरु ।”

हैन विवेकलाई अझै पालो दिऊँ । रौद्र बन्नु अभिशाप हुनेछ ।

गति उही, हिंडाई त्यही पाराको, डाँडो मध्ये नेपालको मनपर्ने पाल्पा । अलि परैबाट आफ्नो रफ्तार धान्दै स्व–अनुशासनको घेरा भित्रबाट एक शुभचिन्तक बोले–“सर आज किन चुपचाप।”

पानी माथि ओभानो बनें –“होइन एकाबिहानै के पर्पर् गर्नु भनेर ।

घाँटीमा आएको अर्को वाक्य निदर्यी बनेर अचेंटी दिएँ ।

– रहरहरु सबै ओथारो बसेछन ।”

उनी शारिरीक रुपमा आफैमा व्यस्त छन् । मात्र आवाजका साथी । फेरि मलाई उछिने – “यी कुराहरु लेख्ने हो भने मीठो साहित्य बन्छ होला ।”

“खै कुन्नी………” !

मैले सोचेथें, उसको बोलाईले मलाई नठुङ्गेको भान परोस् । अहँ त्यसो भएन ।

“सर ! मलाई पनि लेख्ने मन छ तर ………………”

“लेख न, भैहाल्छ नि ! के को तर……,

कि आँटले खान्छ कि ढाँटले । अलिकति ज्ञान भए पुगिहाल्छ । ”

ह्वास्स बारुदसंगै डढेको गाउँ र माटो बनेका मान्छेहरु नाकको पोरा छिचोले । बिचारें – यो त उधुमको मान्छे रहेछ । खै के लेख्छ होला यस्ले ? भेलमा हेलिने भयो यो पनि ।

“मैले सरको लेख पढेको थिएँ । कस्तो मेरै कथा जस्तो । आजभोलि त भेटेको छैन । सरले कतै ………।”

“अँ मैले छाडिदिएँ ।”

“किन सर ?”

“आजभन्दा दश वर्ष अघि मेरो साहित्यको पाठेघरै खस्यो । त्यसपछि मन बुझाएँ ।”

“अब कुनै जन्मिदैन त ?”

“खै भन्न सकिदैन । परिवर्तनले रित्याएको खोक्रे जिन्दगी भरिएछ भने त हो, संभावना न्यून छ।”

अब चाँही कुराको बिट मर्छ होला । त्यसो भएन । उसले पुनः म तिरै घाँटी तन्काएर मलाई खल्बलाई रहने जोहो रच्यो ।

– “साँच्ची साहित्य भनेको के हो ? यो कस्तो हुन्छ ? कसरी लेख्नुपर्छ ? के मैले पनि  लेख्न सक्छु त सर ? भनिदिनु न ।” मैले हारें ।

“तिमीले हिमालदेखि तराईसम्म ओल्टाई–पल्टाई गर र भेटेका कुराहरु जानेको भाषामा जस्ताको तस्तै लेख । त्यही हो साहित्य । तिमी खोलासँग जिस्किऊ, झरनासँग छिल्लिऊ अनि कलमलाई सोध त उसले आफै बक्न थाल्छ तर गहिरो तलाउ र बेगवान नदीमा झ्वाम्म हाम नफाल्नु । जब तिमी निपूर्ण हुन्छौ त्यसपछि सुगम पारामा त्यसमा पनि तैरिएर पार लाग्न सक्नेछौ । साहित्य एउटा सिप पनि हो ।”

“ए ! हो र सर ।”

चुहिन लागेको बादलझैं धुम्मियो ऊ । शायद मडारिएको हुनुपर्छ मेरो सहयात्री ।

फेरि हेरें – वाफ रे वाफ उसका आँखा ! एउटा सुनामी सन्सनाएको देखें ऊ भित्र । ठिकै छ, अब ऊ घनघोर भएर मल्याक्मिलिक् गर्दै दर्कीनेछ । “ए भगवान ! उसको सिर्जनाको आँधिबेहरीले सगरदेखि सागरसम्म सोत्तर पारोस् ।”

मेरो अगाडि छ ऊ । पथप्रदर्शक वा संरक्षक जे पनि भन्न सक्छु म । उस्तै परे मेरो कालसंग जुध्न पनि पछि पर्दैन । त्यसैले देउताको स्थानमा पुर्‍याउन मन छ । कहाँ थियो थाहा थिएन । त, उसले र मैले एउटै घाम ताप्थ्यौं । उमेर एउटै हो तथापि सर भन्छ ।

उत्तिकै सरल छ र सफा छ स्निग्ध हिमाल जस्तो । म चाहन्थें ऊ मबाट अरु नै केही मागोस् तर किन आफू अघाई सकेको साहित्य माग्छ ऊ । भैहाल्यो म जानेको दिन्छु तर गुरु बन्दिन । ऊ भित्रको एउटा मानवलाई ब्युँझाई दिएर छाड्छु अब म ।

“फेरि चौतारो आइपुग्यो ।”

“ल ठीक छ मिलेर बसौं । अब त पुरै उज्यालो भयो अझ चनाखो भएर पाईलाहरु ………… ।”

“आज कता जाने ?” जवाफ दिनुपर्नेले सोध्यो ।

“जान बाँकी कहाँ छ र ! ल ठीक छ आज पूर्वी पाल्पा जानुपर्छ।”

उता पिपलको बोटमुनीको बहस कानमा ठोक्कियो–कोही हाँस्दै, कोही गफमा ब्यस्त, पल्लो कुनो हाहा.. हिहि.. मा डुबेको । आँखा सबैका चनाखा । सलाईका बट्टाजस्ता घरहरु, आडैका परालका टौवा, कपनीहरु बाँकी भएका कोदोबारी यस्तैमा आँखा डुलिरहेछन् । ओठ भने शान्त  ।

सहयात्री आडैमा आएर बस्यो । मलाई पढ्यो र मेरै अनुशरण गर्न लाग्यो ।

मनले दिक्क मान्यो – “तिमी म जस्तो नबन्नु….प्राकृतिक विध्वंश, मानवीय विनाश र विराट् अनुरागले तिमीलाई घाइते बनाउला।”

उ त साहित्य खोजिरहेछ । घरी मलाई हेर्छ । घरी मेरा निशानाहरु ।

लम्पसार पल्टिएका विशाल फाँटहरु अन्नजति खन्चुवा मान्छेलाई बुझाएर बच्चाविहीन आमाका काख जस्ता छन्, सिक्रिक्क सुकेका रुखहरु पातविहीन बन्दै छन् । घना जंगलहरु बिरामीले कपाल फेर्न लागेझैं सकिएर पहिरो गएको खर्क जस्तो बनिरहेछन् । हिमालका काखहरु हिऊँ ओढेर खुम्चिंदै छन् । टाढा नजर डुलाउँदा निसास्सिएर नजिकै नजर झुकाउँदा शीत नुहाउने दूबो र वर–पिपलका पातहरु आङ्भरी तुसारो बोकेर नियतीको टिप्पणी गर्दैछन्…..। हत्तेरिका यस्तो बेलामा कस्तो सिर्जनाको फूलबारी भेट्टाउला उसले ?

“ए तिमीले यी डाडाँकाँडामा कुनै सिर्जना देख्यौ त ? खै मलाई बताउ त ?”

“अँ सर…….!”, ऊ हिच्किचायो ।

“साहस गर, आफूलाई पर्दा भित्र राख्यौ भने सिर्जना भाग्छे । उसलाई त फकाउनु पर्छ । लाडप्यार दिनुपर्छ तर पुल्पुल्याउनु हुँदैन । आडैमा पनि राख्नुहुन्न र धेरै टाढा पनि जान दिनुहुँदैन । आफै विचार है।

ऊ लल्याक्लुलुक् भयो । धन्न आफूलाई मेरो आशय बमोजिम रुपान्तरण गर्न तम्सियो  ।

“सर मैले मेरो नजरभरि अनन्त वैभव, सौन्दर्य र ऐश्वर्य भेटेको छु ।”

“जस्तै.. ! ………….”

“हेर्नु न सर, त्यो हिमाल अघि भन्दा अहिले कति सुनौलो बन्दै छ । त्यसैको परावर्तनले हामीलाई पनि तेज प्रदान गर्दैछ । त्यहाँबाट बगेको अमृतमय पानी पहाडलाई सिंचदै विशाल महासागरको यात्रामा छङ्छङ्गाउँदै छ । आहा ! ऊ त्यो पहाड मेरो जन्मस्थान । त्यहाँ मेरा बुवा–आमा र दिदीहरु खेती थन्क्याएर अनदी र मार्सीधान कुट्दै ढिकी जाँतोमा मेरो बाटो हेर्दैछन् । केही समयपछि ती रुख हरिया हुनेछन् र चराहरु गुँड लगाएर दिनका हरेक प्रहरमा चिरिबिरी गर्नेछन् । बारीका डल्ला उचालेर निस्केका मकैका दिउला धानचमरामा फूल्नेछन् । त्यसैलाई थाँक्रो बनाएर सिमी र बोडीहरु लटरम्म फल्नेछन् । उ त्यो बेंसीको फाँटमा त असारे गीत गाउँदै खेतारीहरुसंग हिलो छयाप्दै छु म । दिनभरी बाउसे बनेर छेड हान्दै यही चौपारोमा यसरी नै झम्के साँझमा बिसाई मेटिरहेछ अहिले मेरो सोचले ।”

अहो ! कस्तो अचम्भीत भएँ म । यो मान्छे त आशावादी त्यो पनि प्रकृतिप्रेमी र स्वच्छन्दतावादी धारमा पो बग्ने भयो त । कठै ! देवकोटा, हरे गोपाल प्रसाद रिमाल ! धन्य मोतिराम ! विचरा भानुभक्त !

“ल ठीक छ ! अब हिड्नुपर्छ ।”

“सर कस्तो छ मेरो साहित्य ?”

मैले उसलाई हेरेर अगाडिका दाँत देखाएँ । उसले शीर झूकायो । बोलचाल भएन  ।

त्यस्तो बुच्चो पनामा पनि यति भेट्नेले सफा पाना केरकारै गरेपनि बात लाग्नेछैन । म सोच्दै थिएँ उसलाई कसरी लेखाउने भनेर ।

“ल ठीक छ । अब तिमीले यी कुराहरुलाई लेख्नुपर्छ । तिम्रो सोचमा अझै धेरै फूलहरु रोप, उमार र गोड त्यसपछि एक छेउबाट सिलसिला मिलाएर फूलबारी सजाऊ । अनि घरको बरण्डाबाट त्यो फूलबारी नियाल । अरुले आहा भनून् तर तिमी अझै तल्लीन बन, पानी छर्किरहु, मौसम अनुसारका नयाँ बोटहरु सार्दै जाउ । पछि नफर्क तर विगतबाट पाठ सिकेर आफ्नो बगैंचालाई नितान्त आफ्नो सोच र मनोकांक्षा अनुसार अविचलीत बनायौं भने राम्रो हुनेछ ।”

“हस् ! म प्रयास गर्नेछु ।”

यत्ति बोल्यो ऊ । म पनि खुशी भएँ । बोलेर भन्दा गरेर देखाओस ।

सदरमुकामबाट नाप्न थालेको बाटो यत्तिबेर केही कोष छिचलिएछ । अँध्यारोमै रमाईलो डाँडो, मनपर्दो सेतो ताल माडी र लोभलाग्दा हरिया पखेराहरु उछिनिएछन् । साथीहरुले सोध्दा म भन्ने गर्थें –“बनभोज खान ग’को थें ।” उषाले मुख पखाल्न नपाउँदै जिब्रो लर्बराउन थाल्यो । गाउँले होटल ताकेर बिश्राम लिइयो । सार्वजनिक स्थानमा गुन्द्री ओछ्याएर घाम ओड्दै बिस्कुट र तातोपानी चापेपछि फेरि पूर्व ताकेर लुखुर–लुखुर गर्ने काम दोहोरियो । शङ्काका पहाडहरु मृत्युका बादलले छोपिएर धुमिल प्रकाशमा शीत लुकेझैं जीवन कोपर्न तल्लीन देखिरहेछु । मन भित्रका आकांक्षाहरु टमक्क बुझो लगाएर मात्र बाँच्ने संघर्षका लागि तन, मन, धन केन्द्रित छ । मृत्युपछि त सबै रित्तै पो हुन्छ त ।

“कठै, मान्छे ! बटुवाको कत्रो शान !………..”

एउटा टोल हिंडियो । पखेरो पारि पुग्ने काम भयो । एउटा डाँडो नाघियो । निष्पट्ट जङ्गल पनि छिचोलियो । बग्नास, आर्यभञ्ज्याङ्ग, चिदिपानी आदि आदि छाम्दै पल्लो घाँचमा घरी वनमा घरी चउर र फाँटमा अनि घरी उत्तरपश्चिम लमतन्न परेको सोते डाँडोमा अग्लिएर पुगियो । सबै ठाउँहरु चिन्छन् र पनि मौन र स्थिर छन् । त्यसरी नै लाटो बनेर गजधम्म परिरहेछन् तिनीहरु सबै । घरी हरियै हुन्छन् घरी लटरम्म पहेंलपुर घरी खाली रित्तो तर केही माग्दैनन् आफ्नै निष्तब्धता र शान्ति बाहेक ।

मनमनै सोचें – यिनै डाँडा–काँडा र पहाडबाट हामीले सिकिहाल्नुपर्छ: “जीवन मात्र बाँच्न र गल्ती गरिरहन होईन श्रेष्ठ बन्न र परिवर्तनशील बन्न पनि प्राप्त छ तर हरेक मानवले आफ्नो जगलाई कहिल्यै बिर्सनु हुँदैन ।”

मुखमा घाम पर्‍यो । उकालो आयो । जीउभरी पसिनाको खोलो बग्यो । हरेक आङ् चिट्चिट् गरेर जिरिङ्ग हुन थाले जस्तो । कुनै ईन्जिन भए मर्मतमा लानुपर्ने तर मानवयन्त्रलाई त्यो प्रयोगशाला खै र ?

यस्तै यात्राहरुमा जात्रा देखाउँछ यो शरीर । के कानै भाउ खोजेको होला । जति घुर्काएपनि अहिले भर्खर त्यसले भनेको सुन्ने परिस्थिती छैन । अनवरत उकालिनु र तेर्सिनु अनि फेरि धेरै झर्नु छ । मन फेरि बुझ्न थाल्यो आफै।

छ महिनादेखि हिंडेको रे । “यो त थिरीथिरी भन्न पनि नपारि हिडेथ्यो” भन्नुहुन्थ्यो आमाले ठूलो नाक पारेर । हिंडेको घटाएर दौडेको मात्र नाप्ने हो भनेपनि ग्रिनकार्ड त दुई तीनवटै हुँदा हुन् । बिहान १० बजे अफिस पुगेर साँझ घर फर्किनेहरुका पनि गफ यिनै हुन् तर म व्यवहारिक परेंछु र यो कुरा घतलाग्दो भएको छ । यसरी नै बाटो नाप्न पाईरहें भने अरु केही चाहिएन बरु । यी पसिनाहरु खाडीको बालुवामा खन्याएर पैसामा जीवन बेच्नुभन्दा त यिनै उकाली ओरालीमा आफूलाई थोत्राउन बेस । एउटा अठोट हर्लक्क बढ्यो । यो माटो आफै उर्वर छ किन रगतले सिंचनु पर्‍यो हँ …..? जवाफ खोज्न हात्तीलेक पर्वत नियालें । उसका कमिले आँखाहरु पूर्वखोलाको सुँडमै व्यस्त रहेछन् । विचारहरु परेड खोलिरहे तर मेरो राष्ट्रवाद कहिल्यै मुर्झाएन झङ्गिईरह्यो बनमाराझैं । बरु बिरकोटको थुम्किलोले सान्त्वना दिदैं पिठ्यूँ थम्थमायो । तैपनि मन सन्तुलित बनेन । भावहरुले पुरानै शैलीमा रैँदालो मच्चाइरहे।

फुङ्ग उडेको परिवेश । चारैतिर छर्लङ्ग तर रित्तो । रातो माटो कोपरेर सडक बनाउन खोजे जस्तो मात्र । छेउकुनाबाट ओहोर दोहोर गर्न सकिने चाक्लै गोरेटो । अलिकति प्रगतिको छिर्को यता उछिट्टिएको हुनुपर्छ । यातायात, संचार, विद्युत आदि पक्षहरु उठाउन मैले छाडिसकें । ती कुनै कुरा पनि यी आदिम बस्तीसंग कुनै महत्व राख्न सक्दैनन् ।

यो रातोमाटो अभागि रहेछ । काल्लैपिच्छे उम्रेका जडिबुटि पाखाहरुमा त्यसै फालिएका अमृतजन्य वनौषधीहरु जम्मा पारेर रुखो बारीमा आगो लगाई एकपाथी अन्न बेचेर एक गोटी औषधी किनेर खानुपर्ने अवस्था अझै विद्यमान छ यो ठाउँमा । यस्तै ठाउँहरुको जमात त हो नि सम्पूर्ण देश । हामी धनी छौं तर भिकारी । आफूलाई कहिल्यै हेरेनौं हामीले । देशको अवस्था र व्यवहारिकता बिर्सेर एक्कासी यूरोप र अमेरिकाका मान्यताहरु लागु गर्न खाज्छौं । उक्त समुन्नतिको धारणा यो पखेरोमा आइपुग्दा प्रभावहीन भएर जान्छ । बारीमा हलो फालेर विदेशमा भेडा चराउन जानेलाई कदापि माटोले माफि दिने छैन । यी गाउँका पहिचान भनेकै हाम्रा टोल–टोलका मौलिकता, विशेषता र सामाजिकता हुन् । तर हामी तिनै आदर्शलाई लत्याएर आधुनिक बन्ने दौडमा झन् प्राचिनतम् बन्दैछौं । साँच्चै देश त राजधानीमा मात्र सिमित भएको छ । व्यवहारिक विकेन्द्रीकरण नगर्ने हो भने यो जैविक विविधतालाई थाती राखेर अनन्तसम्म पर्खिरहन विवस हुनेछन् हरेक गाउँहरु ।

“ए आम्मै दुहुनो छैन ?” गाउँको मुखैमा म बोलें ।

“छ बाबु, एउटा बकेर्नो । किन र ?”

माया पोखियो ।

“यसो मही खान पाए शीतल हुन्थ्यो कि ।”

“हिजोको बासी गोरश त छ क्यारे । आउ न बाबु पिंढीमा बस।”

बुढी आमैको आवाज सिरान घरकी कान्छी दिदीको जस्तो लाग्यो ।

सोचें, अत्यास मेटियो ।

एक गिलास मही, ठेको बसाएको एकै सासमा सिनित्त  पारेर साइनो लगाएँ आफन्तको ।

“बाबु जोगिएर हिंड है ।” बिदा गरिन् बुढीले ।

मन कागती बन्यो । परिस्थितिले निचोरिहाल्यो । भित्रभित्रै तरर चुहें म ।

भनें – “हस्, ल बस्नुस् है ।”

वर्तमानले सबैलाई छुलिछुलि बनाएकाले म मात्र किन ओभानो रहन्थें र ।

दिन सुरु भएको मस्तै भएछ । एउटा छायाँसंगै आइसकेछ । नित्यकर्म भने बाँकि नै थियो । बाटो छेउको सजिवन भाँचेर सहयात्रीले मञ्जन र ब्रस एकैचोटी दियो । बेफुर्सदको कुटिलकोसा ठानी दाँत घोटें । बाटो ओसिलो पाखो हुँदै भञ्ज्याङ् ताकेको थियो । छेवैमा टोप्रे झारले बारीको डिल छोपेको देखें । तारे होटलको सबैभन्दा महँगो परिकार । एकमुठ्ठी लुछेर चमचम पार्दै उकालो नाप्न थालें । छुचो मन निबुवा र भगटे खोज्दै थियो ।

उकालो सकिएर शरीरलाई थुम्कोमा बिसाइदिएँ । मनभरीका भावका थुप्राहरु कुनै पहाडका शिलशिलाझैं परसम्म होचिंदै गईरहेका छन् । आँखाहरु वरिपरि चीलको दृष्टि सापट मागेर छामाछुम गर्दैछन् । स्मृतिले बाटो वरिपरि फूलको च्यादर बिछ्याउन खोजेपनि एकपछि अर्को घटनाले लखेटिरहेका छन् । अनुपम छटाले मेरोलागि स्वर्गीय आनन्द समर्पण गरेपनि मेरा आफ्नै थाती रहेका समस्याहरु घाँटिसम्म हिक्का छोडिरहेका छन् । म ती सबैलाई टुलुटुलु हेरेर आफैभित्र केही बस्तु हराए झैं झस्किरहेछु । यति हुँदा पनि परिस्थितीसंग आत्मसमर्पण गर्न विचारले घुँडा टेकिसकेको छैन बरु आत्म समालोचना शुरु भएको अनुभव बिस्तारै भैरहेको महशुस गरिरहेछु म ।

एउटा कल्पना– कुनै सुनसान घना जंगलको बीचमा उभिएको बाटो हराएको पथीक जस्तै आफ्नै यातनाशिविरमा भेटिरहेछु म आफूलाई । यस्तो अवस्थामा कुनै सृजना गर्ने कुरा त म सोच्नै सक्दिन । यातनाशिविरका मेरा पर्खालहरु – टाढा एउटा अग्लो महत्वकांक्षाको पर्खाल, त्यसभित्र क्रमैसंग होचिंदै गएका थुम्किलाहरुको नाम लिनुपर्दा : अध्ययन, जागिर, समाजसेवा, साहित्यसेवा आदि पर्छन् । अझै बितेर गएको त्यो नोस्टाल्जियाले मेरो अनेकौं क्षणहरुको संवेग समेटेर घोर यातना दिन तत्पर हुन्छ । साँच्चै मेरो यो नश्वर यी सबै प्रयोगहरुमा सामेल भएर कुनै भट्टीबाट प्रशोधन गरेर निकालिएको निख्खर धातु जस्तो भान परिरहेछ ।

सानो हुँदा दिन ढलेर सोत्राम भएको साँझमा पधेंरोमा सल्लाह गरेर मिर्मिरेमा जून चोरेर डाँडो काटेका बैंसालुहरुका कहानीहरु अहिले सम्झिरहेछु र यी डाँडाका खोचहरुमा ती जोडिहरु खोजिरहेछु । आजभोलि त यो परम्परा फेरिएर अर्कै रुप लिइसकेको छ । त्यस्तै साहित्यमा पनि लेखकहरुको भीडले सिर्जना प्रणालीलाई नै हलुङ्ग्याईदिएको छ । विविधताको प्रयोग हुनु त राम्रो हो तर साहित्यमा यथार्थता नभेटिनु ठूलो विडम्वना हो । साहित्य त यो धरातल जस्तै यथार्थ हुनुपर्छ बल्ल सुन्दर र आशलाग्दो स्वरुपको निर्माण हुनसक्छ । हरेक सिर्जनामा गुराँस फूलोस्, डाँफे र मयूर नाचोस्, हरिण टोलाओस्, पहेंलै बनेर तोरी फूलोस् त्यसैमा माहुरी भुन्भुनाओस् अनि छङ्छङ्गिएर पहाडी झरना झैं अमृतमय साहित्यिक रस बगिरहोस् । तर वर्तमान त यसरी गुज्रिरहेछ कि जे नहुनु थियो त्यहि भैरहेछ । यो धरातलसंग सोधेर जसले जीवनका परिभाषित भोगाई छाम्दै अतृप्त प्यासलाई निराशाका बिचमा आशाका रचनाहरु पस्किन सक्यो भने त्यो बल्ल भविष्यको श्रष्टा, द्रष्टा र कलम अनि विचारको मालिक हुनसक्छ ।

बिरकोट गाउँका केही टोलहरु छिचोल्दै अनवरत यात्रा पहाडका खोच र बारीभरी  बिस्कुन भएका मनोकांक्षाहरु बटुल्न संभाबित समस्यासँग नारिदैं अघि बढिरहेको छ । नजरभरि हिमाल, पहाड र तराईको तस्विरहरु बिंम्वित भैरहेछन् । न रिल सकिन्छ न ब्याट्री । क्यामेरा उहि पुरानो ।

मन भित्रका संवादलाई ओत लगाउँदै यात्राको पुरानो साहित्यिक साथी पुनः नजिकियो ।

“सर, ऊ त्यो रामपुर फाँट, माथि स्याङ्जा, अलि परको थुम्को तनहुँ, पल्लो हुस्सुमुनि नवलपरासी र तल बगेको कालीगण्डकी ।” एकै सासमा बोल्यो ऊ । म पनि डाँडाकाँडा, जङ्गल, पखेरा  र पहाडका सिरानहरुमा आँखा झिमिक्क नपारी नजरसंगै घरी उचालिएँ घरी पछारिएँ । प्राकृतिक सुरम्यतासंग मनका कोमल परिकल्पनाहरुलाई अंकमाल गर्दै दृष्टि रामपुरको उर्वर थालीमा लडीबुडी गर्न हौसियो । म हली बनें, बाउसे बनें, खेतालो बनें, दँदेरो बनें र क्षणभरमै भकारीभरि ऐश्वर्य चुलाएर गोबरले टालिदिएँ । बैशाख जेठमा बसन्तको आगमनसंगै भकारी फोरेर अनिकाललाई बिदाई गर्ने आँट अझै बज्र बनेर त्यसमाथि टाँस्सियो।

फेरि ऊ बोल्यो– “एउटै तस्विरमा टाउके हिमालदेखि तराईसम्म बिम्व उतार्न हाम्रो देशमा मात्र सम्भव हुन्छ रे । यो पाखोलाई चित्रमा उतार्ने हो भने पनि विश्वको कुनै मुल्यवान आकृति बन्थ्यो होला । सर, त्यसमा यो गाउँलेपन जीवन्त बन्यो भने त झन् अलौकिक नै हुँदो हो । कि कसो !”

भौंतारिएको उसको साहित्य चित्रकारको भूतमा परिणत भएछ । विचारें, उसलाई भिन्चीको मोनालिसा र अन्तिम भोज अनि पिकासोका चित्रहरुको बारेमा मात्र थाहा छ, तर भिसेन्ट म्यानगगको चित्रकारिता, बाँया कान काटेर प्रेमिकालाई उपहार दिनुपर्ने वाध्यता र ३६ वर्षकै उमेरमा आफै आत्महत्या गर्नुपर्नाको कारण थाहा रहेनछ । अहिले त ती चित्रहरु करोडौंमा लिलाम हुन्छन् तर तिनैले त्यो प्रसिद्ध श्रष्टालाई पुरै आयू बाँच्न सम्म दिएनन् । यो संसारमा प्रभाव पार्ने कुरालाई क्यान्भासमा उतार्न एकदमै गाह्रो हुन्छ ।

आकाशपाताल समेटेको उसको मनोकांक्षाको कदर गर्दै बल्ल मैले जवाफ दिएँ – “तस्विर त मनले खिचेर भावनामा रंग खन्याई दिनुपर्छ । आफ्नो अभिव्यक्तिबाट विम्व उतारेर यो ठाउँलाई सबैका आँखाभरि, छातिभरि, मष्तिष्कभरि र हृदयभरि घोलेर सुसज्जित किसिमले गाँसिदिनुपर्छ । यसो गर्न सकियो भने चित्रकारिता र लेखन दुवैलाई लेखक र पाठकका परिकल्पनाहरुले अङ्कमाल गर्न सक्छन् ।”

“तर कसरी सर ?”

म खुशी भएँ । उ चित्रकारिता बिर्सेर लेखनमै तानियो तर जवाफ कसरी दिने ? उसका हरेक प्रश्नहरुले मलाई शिथिल बनाउँछन् । कता–कता एउटा उत्सुकता र जाँगर पनि भावनाको प्रचुरता संगै अबोध नारीको मुहार झैं सौम्य बनेर जानकारी लिन अनि दिन तत्पर भएको पाएँ । केही ढाडस मिलेजस्तो भयो ।

म बोलें – “हेर, यो गाउँ र पाखा नै हाम्रो पहिचान हो । हामी माटोलाई कदर गर्दैनौं तर त्यही माटोलाई कोदालो र हलोले मुसार्दा हातमुख जसरी जोडिन्छ त्यसरीनै यो स्वच्छ वातावरण र ऐश्वर्यको हावालाई शहरी प्रभावले बिटुलिन दिनु हुँदैन । जे छ यीनै पखेराहरुमा निहीत छ । मात्र पत्ता लगाउन सक्नु पर्दछ । हामी यस्तै विषयहरुमा गफिदैं नेटो छिचोल्दै थियौं ।

मैले थपें – “यी खोल्साहरुमा केही बगिरहेको छ भने त्यो पूर्खाहरुको रगत हो । यदि ती हरेक पात–पातमा शीतप्रभा बनेर टल्किरहेको छ भने ऊनै अग्रजहरुको पसिना हो । हाम्रो नामको पछि नेपाल झल्किएको छ भने तिनै पूर्वजहरुको बलिदान र उपलब्धि हो । हो हामीले त्यस्तै पृथक इतिहास कोर्नुपर्छ अब । यही माटोमा तन, मन, धन अपर्ण गर्न सक्यौं भने बल्ल त्यो ऐतिहासिक शिलालेख हाम्रो मेहनत र पसिनाले अझ गाढा, चम्किलो र स्वर्णिम बन्ने छ । अब कामना गरौं, उक्त शिलालेखमा रगतको बाछिटा कदापि नपरोस् ।” सहयात्री सुहाउँदिलो पाराले मुस्काए । हृदयको हाँसो परेला भिजाउन उत्सुक थियो । सोचें अब उसले पखेटा फड्कारोस् ।

यी पहाडी छटाको प्रतिविम्ब जब मेरो आँखामा ठोकिन्छ त्यसपछि हृदय रसाएर घाँटीमुनी ढक्क हुन्छ, वाक्य फुट्न सक्दैन र त म एकोहोरिन्छु । पीडाबोध र उल्लास एकैचोटी च्यूलिन्छ । मैले आफूलाई एक सर्को हेरेर उसलाई नियालें । हतास ऊ मबाट उछिट्टिएर प्रकृतिको रंगमञ्चमा नयाँ पाठहरु घोक्न थाल्यो ।

छर्लङ्ग उज्यालोमा म नौलो संसारमा उभिंदै थिएँ । यात्रा ताहुँका फुच्चे बजार र सडक बन्न आँटेका बाटोहरुमा आफ्नो तुनेलो गर्दै थियो। । अगाडि र पछि हिड्ने सहयात्रीहरु उमेर मिल्दा स्कूले किशोर किशोरी र अधवैंशेसँग मस्करी गरेको घरी सुन्थें घरी पुलुक्क हेर्थें म । पहाडका भित्ता, थुम्का, बाटोको छेउका घरहरु मनोहर प्राकृतिक बागमा चिटिक्क देखिन्थे । कतै खरको छानो, कतै कौसी र अटाली सहितको घर अझै कतै भने सटर तान्न पनि मिल्नेगरी बालुवा र सिमेन्ट जमाईएको आधुनिकता दर्शिदैं थियो । अरुले दुःखद पहाड भनेपनि मैले आफूलाई भोक र थकान बिर्सेर निक्कै खुशी महशुस गर्दै आँखा नबिसाई गोठ, आँगन, पिंढी र घरहरु नियाल्दै अघि बढिरहेको थिएँ । भेडा भेडासित बाख्रा बाख्रासित भने झैं म पूर्णरुपमा आफ्नोपनको महशुस गरिरहेको थिएँ । त्यहि मनहारी छटासँग आह्लादित भएर एउटा गजल फुर्यो, सँगै देशको मुहार पनि घुंक्क–घुंक्क रुंदो थियो ।

मेरै  हिम  आँगनीमा  सरीसरी थाकेको छु ।

निराकारमा मेरै मुटु  वरिपरी ताकेको  छु ।।

फूलको साटो नील्काँडाले शान्ति हरी लगिदिंदा ।

घडा  कलश सजाएर  भरिभरि  राखेको छु ।।

शान्ति हाम्री जानकी हुन् सीता अनि मन्दोदरी ।

सञ्जिवनी हिमशैलको छरी छरी ढाकेको  छु ।।

छिट्टै  आउ दिल बोकी एकलव्य र सुदामाको ।

माटो  छोई लुम्बिनीको मरीमरी भाकेको छु ।।

शेरहरुलाई मनैमा थन्क्याएर गाउँलेसँग भलाकुसारी गर्नुपर्ने भयो । हजूरबुवा देखि भाइबहिनीहरु सम्म कसैसंग नमस्कार कसैसंग आर्शीवाद र कसैसंग दाहिने हातको लेनदेन गरेपछि अब पेटको पालो । कसैलाई खानको हतारो, कोही फोनमा झुम्म, कोही ताहुँ बजारको बसाहा मन्दिरमा जीऊ छोडेर लम्पसार, कोही धारोमा छ्याप्छुपमा तल्लीन थिए । त्यो अवस्था र मनोगत धारणालाई अ देखि ज्ञ सम्म सरसर्ती हेरेपछि त्यही साहित्यिक सहयात्री र अर्को एकजनासँग परामर्श गरेर बजारभन्दा माथिको रम्भापानी मन्दिर दर्शन गर्ने चाँजोपाँजो मिलाउन थाल्यौं ।

बुर्लुक्क बसाहा रहेको चौतारोमा उक्लेर धरा पाठगर्न थालें म नजरभरि अघाउन्जेल । पारिपट्टि ठिङ्ग उभिएको माथागढी र सँगै वरिपरिका प्राकृतिक उध्धानहरु दृष्टिको परिधिसम्म नियालेर रम्भापानीको डाँडोतर्फ उकालिएँ उनीहरुसँगै ।

नेपालको दार्जिलिङ भनेर चिनिने तानसेन र त्यसको आसपासका क्षेत्रहरु रिडी, मदनपोखरा, रानीघाट, बग्नास र ताहुँलाई पर्यटकीय गन्तब्य को रुपमा विकास गर्ने भनेर योजनाबद्ध शुरुवात भैसकेको रहेछ । ताहुँ इलाकाको नक्सा स्पष्ट हुनेगरि एउटा बोर्ड पनि टाँगिएको थियो । गाउँलेहरु अलिअलि भन्दै पनि थिए । उनीहरुको बयानले मलाई धर्मशास्त्रका पानाहरु स्मृतिमा पल्टाउन कर लगायो । गन्धर्व र मुसलमान बस्तीहरुको पाटो समेत ओकलेर एकीकरण अभियानमा त्यो स्थानको योगदानसँगै पौराणिक कथन त्यही सहयात्रीलाई सुनाएँ ।

इतिहासले त प्रष्ट्याएको छ । सत्य युग देखि नै मान्छेको अस्तित्व र विभिन्नखाले त्यस्तै युग गुजारेर अहिले कलियुग पूर्ण समुन्नतीमा बाँच्ने प्रयास गरिरहेको छ । प्रगतिको चरम खुड्किलो नाघेर मान्छेले पुरानो युगको चन्द्रमा छोई सक्यो, हिमाल टेकि सक्यो, अनेक युद्धहरु पनि जिति सक्यो मात्र बाकी छ आफ्नो अहमलाई उछिन्न ।

यसै प्रसंगमा त्रेता युगलाई माध्यम बनाएर बाल्मिकिद्वारा रचित रामायण साथै त्यो बेलाका कल्पित औपन्यासिक पात्रहरु र पुराणमा व्याख्या भएका कुराहरु पनि यी स्थानसंग सोझै सम्बन्ध राखेको पाईनु त्यो बेलाको काव्यात्मक कल्पना र अहिलेको सत्यताको बीचको विश्वासको पूल भन्न चाहन्छु म । एउटा बैदिक कालीन आदर्श समाज वा हाम्रो धर्मशास्त्रको रामराज्य हाम्रो हिन्दु परम्परामा जति मूल्यवान छ त्यसरी नै पश्चिमी धार्मिक परम्पराको पनि आफ्नै आदर्शराज्य UTOPIA नभएको हैन । बेदब्यास ले पनि सबै मानवीय चरित्रको व्याख्या गरेर धेरै पात्रहरु संयोजन गरि कृति तयार पारेका थिए भन्छु म जसलाई हामी महाभारत भन्छौं । महाभारतका केही ईश्वरीय चमत्कारहरु अहिले चेतनशील मानिसका अघि प्रायोगीक पनि भैसकेका छन् ।

अत्याचारी रावणको खेदो खनेपछि लङ्कामा विभिषणलाई राखेर मर्यादापुरुषोत्तम राम अयोध्या फर्के । आदर्श रामराज्यको मुख्य स्वरुप देखिनु बाँकी थियो । त्यस पछि अश्वमेध यज्ञ लगाएर तीर्थ ब्रत गर्न सीतालाई लिई धार्मिक कुण्डको भ्रमणमा निस्के उनी । कालीगण्डकी पनि एउटा पवित्र तीर्थको रुपमा परिचित थियो । हालको देवघाटमा यज्ञ सकेपछि सोहीबाटो चक्रतीर्थको स्नान गर्ने हेतुले राम र सीता हिंड्दै यही स्थानमा आइपुगेछन् । विश्राम गर्ने क्रममा सीतालाई प्यास लागेछ । वरिपरी खोजतलास गर्दा कतै पनि पानी नभेटिएकाले रामले बाणले हानि यसै स्थानबाट मूल फुटाएछन् । सीता लक्ष्मी स्वरुप हुने र लक्ष्मीको अर्को नाम रमा भनिएको, रमापानी भन्दा भन्दै रम्भापानी भएर यो पवित्र तीर्थको रुपमा स्थापित भएको साथै त्यो बेला जगाएको अखण्ड धुनी र अमृतमय जल सेचन गरेपछि अनन्य पुण्य मिल्छ भनेर पुराणमा व्याख्या गरिएको प्रसङ्ग टाक्क–टुक्क मिलाएर मैले सहयात्रीहरुलाई बताइदिएँ ।

धर्मशास्त्रले जेसुकै भनोस् तर त्यो स्थानको प्राकृतिक सुरम्यता र अनपेक्षित स्थानमा पानीको मुल हुनु मेरो लागी अनुसन्धेय लाग्यो । सबै बोटहरु उत्तर फर्केर बढेको हुनु सामान्य विज्ञानको लागि पनि अमान्य हो । ठूलो बेतको बोट, अखण्ड धुनी, मन्दिर, शिवलिङ्ग आदि कुराहरु एउटा भक्तलाई विश्वास दिलाउन पर्याप्त थिए । चोखो र सफा हृदयले मनमा कत्तिपनि पाप नराखिकन मागेको कुरा पाइएको जन विश्वास पनि आफ्नो ठाउँमा झाँङ्गिईरहेको थियो । तिर्थालुहरुले भाँडाभरी त्यहाँको पानी भरेर लाँदै थिए । त्यो पानीको सेवनपछि असाध्य रोग र मानसिक बिकारको पनि न्यूनिकरण हुन्छ भन्ने सुनेपछि हामी सबैले पेटभरी पानी पियौं । कसैले आफ्ना पानी खाने भाँडाहरु पनि भर्दै थिए ।

धेरै बेरपछि मेरो जिज्ञासु नजिक आएर केही बुझ्न खोज्यो । म आफै त्यो परिवेशसंग अनभिज्ञ थिएँ तथापि रामको व्यक्तित्व र कीर्तिको बारेमा केही भन्नै कर लाग्यो । उसको सिर्जनसिलतामा ठेस नपुगोस् भनेर मैले सकेसम्म  ऊ भित्रको मानवलाई झक्झक्याउन तम्सिरहेँ ।

राम र सीता यहाँ आइपुगेर पानी पिईसकेपछि साँझ परेकाले यतै बस्ने विचार भएछ । यसको आडैमा केही पर अंगीरा ऋषिले तप गर्दा रहेछन् । सीताले रामलाई छलेर केही समय उनै ऋषिको आसपासको अर्को गुफामा लुकिछन् । त्यस गुफालाई सीतागुफा भन्दा भन्दै हाल सिद्धगुफा भन्न थालिएको र त्यो गुफा अहिले पनि सिद्धार्थ राजमार्गको रामदीघाट नेर भेटिएकोले यो कथन र सत्यताको बीचमा प्रमाणिक आधार कति छ थाहा भएन ।

त्यसको भोलिपल्ट उनीहरु रिडीतिर लागेछन् । त्यहाँ एउटा राक्षसले झन्डै १६ हजार युवतीहरुलाई एउटा गुफामा थुनेर राखेको रहेछ । १६ हजार पुगेपछि एकैचोटी भोग गर्ने सुरसार कसेको यौन पिपाशु  राक्षसलाई बध गरी श्रीरामले ती सबै कन्याहरुको उद्धार गरेछन् । आफ्नो जीवनको रक्षा गरेकोले सबै कन्याहरुले रामलाई बरको रुपमा पाउने इच्छा गरेछन् । बिवाहित भइसकेकाले अर्को जन्ममा ईच्छित मनोकांक्षा पूरा गरिदिउँला भनेको कारण द्धापर युगमा कृष्ण र राधिका साथै ग्वालिनिको प्रसङ्ग जोडेर कल्पनामा यथार्थता मिसाउने प्रयास गरिएको कुरा बताएपछि सबै साथीहरु मुखभरि पानी बनाएर मबाट अझै धेरै सुन्ने इच्छा व्यक्त गरे ।

मेरो साहित्यिक साथीको पनि सुन्ने तलतल अझै बाँकी रहेछ ।

त्यसपछि मैले देवघाटमा सीता अग्निमा प्रवेश गर्दा रामले फेला पार्न भ्याएको कपाल पहाडको कापमा अझै उम्रिने र वर्तमान भारतको गडवाल श्रीनगर अन्तर्गत कमलेश्वर मन्दिरको महिमाको बारेमा बताईदिएँ । जस अनुसार रामले शिवजीलाई चढाउन केही कमलका फूलहरु लिएर गएछन् । शिवजीले एउटा फूल लुकाईदिनु भएछ । पछि चढाउने बेला एउटा फूल नपुगेपछि रामले आफ्नो आँखा झिकेर चढाउन खोज्दा शिवजीले रोकी रामलाई कमलनयन नाम राखिदिएको कथन आफू दार्जिलिङ घुम्न जाँदा सुनेको भनी प्रसङ्गलाई त्यही धरातलमा तान्न म तम्सिएँ ।

यात्रा पनि टुङ्गोमा पुगेको र पूजा पनि भैसकेकाले आस्तिक र नास्तिक सबैले त्यो जंगलको मन्दिर परिसरमा आ–आफ्ना खानेकुराहरु खान थाले । मलाई त्यो पानीमा खलमल नुहाउन मन थियो । त्यो अवसर मिलेपनि मैले साहस गरिन । हातमुख राम्रोसँग धोएर टाउको केहीबेर भिजाईरहें ।

जीवन, मृत्यु र अमृतत्व सँगै मनमा केही शान्तिको महशुस भएको हो वा मेरो जडता उही पारामा रहिरहेको हो एकीन गर्न सकिन । शिवलिङ्गमा जल चढाएर मनमनै भनें – “लौ भगवान्, सत्कर्म गर्ने अवसर देऊ !”

२०६१ सालको पौषको पहारिलो घामले पनि जङ्गलको शीतलतामा हार खाएर ओरालो झर्दै थियो । आफ्नो पेटपूजाको लागि आफै जुट्दै थिएँ म । सबै परिकार मिसमास पारेर मेरो अनुयायी पहिला मलाई खुवाएर मात्र आफू खाने सुरमा आडैमा थचक्क बस्यो । साँझसम्म बिहानदेखि हिंडेर आएको बाटोको ऋण एक–एक पाइला गरेर चुक्ता गरी पुरानै भकारोमा भित्रिनु थियो ।

उसले पुनः साहित्य कोट्याउने मौका खोज्दै थियो । मेरो चित्तले उसको पित्त निचोरेपछि त्यही मूलको मीठो पानी र हाम्रो सामलको ओईरो मुखमा हाल्दै बहस गर्न थाल्यौं । “साँच्ची सर, नपत्याउने ठाउँमा पनि यो कस्तो मनमोहक स्थान रहेछ तर ….।” ऊ रोकियो ।

“हेर, यो त के हो र ! हाम्रो देशमा हरेक टोल जङ्गल र पाखा–पाखामा धेरै संभावनाका खजानाहरु छन् तर हामीलाई श्रीखण्ड पनि खुर्पेटाको बिंड भएको छ । साँच्चै यो देशमा अनेकन प्राकृतिक सौन्दर्यका मोतीहरु छन् जसलाई हामीले धागोमा उनिदियौं भनेपनि समुन्नतीले सगर छिचोल्नेछ । हाम्रो धार्मिकता अझै मुल्यवान छ , ऐतिहासिकताको त कुरै नगरौं । यही हेर न यो सुरम्यता पनि आफ्नै ठाउँमा कसरी डटिरहेको छ  । फरक यत्ति हो हामीले यीनको पहिचान र संरक्षण गर्न सकिरहेका छैनौं ।”

“सर, हामी के गर्न सक्छौं त यसको लागि ? के म …….।”

उसका उत्सुक आँखा र राष्ट्रको समुन्नतिको लागि दर्शिएको आहुतिलाई मैले हृदयदेखिनै उच्च आदर प्रदान गरें ।

नीलो आकास, विविध वनस्पती र जङ्गली पशुपंक्षीहरु संगै यो अपत्यारिलो अझै अद्धितीय भू–बनोटबाट निस्किएको अमृतजल समेटेको चित्ताकर्षक डाँडोलाई सबैको सामु उभ्याएर आन्तरिक र बाह्य पर्यटन बिस्तार गर्न सकियो भने बल्ल आशिष मिल्नेछ । जसले जहाँबाट जे गर्न सक्छ उसले त्यहीबाट अहिल्यै यस्ता स्थानहरुको सांस्कृतिक, ऐतिहासिक र धार्मिक पर्यटनको अवधारणा विकास गरि भू–दृष्य उत्खनन् गरिएको आन्तरीक आकर्षणको सन्देश जताततै पुर्‍याएर मात्र हामीले ईश्वर प्राप्तीका लागी नश्वर देहको वास्तबिक उपयोग गर्न सक्नेछौं ।

उसले आत्मिक पारामा मसंग सल्लाह माग्यो – “सर मैले यो पावन भूमीमा एउटा शुरुवात गर्न चाहन्छु तर हजुरले सहयोग गर्नुपर्छ।”

म दंग पर्दै “भैहाल्छ नि” भनिदिएँ । ऊ जुरुक्क उठेर मुलतर्फ हानियो । म आफ्नो घट्ट चलाउँदै थिएँ ।

एकैछिनमा एउटा ठूलो जलुकाको पात लिएर ऊ मेरो सामु आइपुग्यो । म अझै रल्लिएँ ।

“सर म यो पवित्रभूमी, प्रकृति र हजूरलाई साँक्षी राखेर आजबाट साहित्य यात्रामा लाग्छु ।” त्यही पानीले औलाका साहाराले उसले लेख्यो–“सिर्जना म तिमीलाई जीवनभर ममता दिइरहनेछु ।”

“ल बधाई छ तिमीलाई मेरो, राम्रो शुरुआत गर्यौ । म एकदमै खुशी छु ।”………… ऊ मुसुक्क हाँस्यो । ठूलो युद्ध जितेको सिपाही झैं मलाई हेर्दै खाजा बुक्याउन थाल्यो ।

मनमनै भगवानसंग पुकारें ! अब आँखा चिम्लेर बसेकालाई दृष्टिमा समुन्नती, दिमागमा विकास र हृदयमा संरक्षणको ममता जगाउने खुराकहरु हरेक शब्द–शब्द र आक्षरिक भावमा झल्कियोस् । सर्जकका आकांक्षाहरुमा प्रतिवद्धता र नवीन ईच्छाशक्तिको बीजारोपण हुन सकोस् । इतिहासमा फर्केर दुःख मान्नुपरे पनि वर्तमान र आगतमा निर्धक्क भएर लम्किने स्वच्छ वातावरणको निर्माण होस् उसको विचारको मझेरीबाट । अझै हलो अड्काएर गोरु पिट्दै बाँदरको रोग कुकुरमा सार्ने कोठे साहित्यिक परम्पराको नाकमा खुर्सानी ठोस्न उसका सिर्जनाहरु सवल बनून् । ईश्वरीय शक्ति भन्दा पनि यो अलौकिक प्राकृतिक सम्पदाले उसलाई अझै उर्जा प्रदान गरोस् । जसरी पृथ्वीको गर्भ छिचोलेर रम्भापानीको मूल फूटिरहेको छ त्यसरी नै उसको साहित्यले पनि साहित्यिक संभावनाको खोजको गहिराईमा पुगेर असल सोचको बीजारोपणको साथमा वर्तमान यथार्थतालाई वर्णन गरेर आफ्नो सिर्जनशील तत्वको विशिष्ट चित्र पस्किन सकोस् । उसको सक्षम लेखनयात्राको लागि मुरी–मुरी शुभकामना ।

यो पवित्र कुण्डलाई हिजो कसैले बिर्सेनन्, आजका धेरैले चिन्दैनन् तर भोलि सबैले ऐतिहासिक दसीको धरोहरको रुपमा लिनेछन्, धाइरहनेछन्, सम्झिरहनेछन्  ।

मैले सन्तुष्टिको साथमा पिएको पानी घाँटी छुँदै हृदयको बाटो आमसयतर्फ ओरालो लाग्यो ।  पुलुक्क उसलाई हेरें । उसले पिइरह्यो – घट् घट् घट् ….. ।

२०६१ माघे संक्रान्ति

 

Lok Raj Pathak
Lok Raj Pathak Administrator

Lok Raj Pathak is a Professional Computer Engineer and Technology enthusiast. He has completed Master in Science in Information Technology (M. Sc. IT) and Master in technology in Computer Science and Engineering (M. Tech. Eng). He usually writes in science and technology, life style and religion.

follow me

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave comment