बगनासबाट देश नियाल्दा

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हल्लो !!!!!

“ए पाठक दाइ नमस्कार ! हैन तपाईं त किन हो हामीसँग हिड्दा पनि जात जान्छ कि जस्तो गर्ने ? खै, हाम्रो सिङ् पलाएको छैन क्यारे ! ल तयार भैहाल्नुस् त ? आज तपाईलाई लिएर हामी घुम्न जाँदैछौं ।” उसले फोन राखिदियो ।

यतिबेलासम्म म ओछ्यानमै पल्टिएर राजधानीबाट फोनमा तानेको एफ.एम.को समाचार पर्खदैं चिया पिइरहेको थिएँ । घुम्न जाने भनेपछि सासुले तीजमा माइत पठाएकी बुहारीझैं झटपट काम नसक्काउँदै शंकर भाइले पुनः घण्टी बजायो– “हामी त नारायणस्थानमा तपाईको बाटो हेरिरहेका छौं ।” ल ठिक छ भन्दै कार्यालयको औपचारिकता सकेर टुडिखेलको छोटो बाटो नारायणस्थान चोकमा पुग्दा शुरुमा निम्तो दिने सूर्यकुमार क्षेत्री, शंकर भण्डारी र गोविन्द लुईटेल तीनजना भाइहरु हातमा मन्दिरको टीका र फूल लिएर कुरिरहेका थिए ।

यो साल हिउँदभरी आकाश वर्षेन । २०६२ माघ अठार गते यतातिर केही बेर आकाश गर्जेपनि झन धुवाँको मुस्लोले तानसेन भग्न बनाएर छोड्यो । तहस्–नहस् भएको आफ्नो बुढा मावली हेर्न भनेर तय गरिएको राजा ज्ञानेन्द्रको पाल्पा सवारी प्रतिकुल मौसमका कारण स्थगित भयो र लगातार २ दिनसम्म हिउँदे झरी पर्‍यो । मध्यरातमा पानी बिसाएपछि शंकर र सूर्यले पर्यटकीय डाँडो बगनास जाने योजना बनाएछन् । जहाँबाट नगरकोटबाट भन्दा पनि मनोरम किसिमले सूर्योदय अवलोकन गर्न सकिन्थ्यो । त्यही ब्यस्तताको चटारोमा लामो समयपछि नुहाएकी प्रकृतिको चालढालमा रमाउन हामी चार जना २०६२ फागुन २९ गते बिहानै त्यतातर्फ सोझियौं । सबै जना भाग्यमानी रहेछौं क्यारे गाउँतिर तरकारी लिन हिडेको जीपले केहीबेर बोकेर गोर्खेकोटसम्म पुर्याईदियो । निर्दिष्ट समयमा डाँडोमा नपुगे यात्रा निरर्थक हुने कारण यताउती नगरी छोटो बाटो खोजेर उकालिनु हामी सबैको लागि अपरिहार्य थियो अझै आफू भित्रको रहर पनि ।

डाँडो उक्लिरहँदा हामीहरु बीचमा धेरै मीठा कुराहरु भए । केही अनुरागका, केही सौन्दर्यका अनि घोचपेच त सामान्य भए अझै सबैजना विनासंकोच आ–आफ्नो इच्छाशक्ति बमोजिमका प्रसङ्गहरु उकालोका कोसेली बने । अलि हटी स्वभावको सूर्य भाइ भन्दै थियो– “दाइ जसरी पनि मलाई एउटा मोवाइलको सिमकार्ड चाहिन्छ ।” मैले आफैले लिएपनि हुने भन्दै प्रक्रियाका सम्बन्धमा बताउँदा उसले आफूसँग नागरिकता नै नभएको बतायो । बिचरालाई घरबाट विदेशमा धन कमाउन जान ठूलो दवाव रहेछ । आफूलाई विदेश जान मन नभएकाले पासपोर्ट बनाउन आवश्यक पर्ने नागरिकता नै नबनाई बसेको सुन्दा म भित्र अन्तरनिहीत देशको मायाले केही ओत पाएको महशुस भयो । अघि–अघि हिडेको शंकर बोल्दै थियो– “तिम्रो आदर्शले घूँडा टेकेको यी फुटेका आँखाले देख्न नपरोस् ।” उनीहरु आपसको भनाभनमा हौसिएका बखत मैले दुबैका नैतिक र मानसिक बिचारको वास्तविकता जोख्दै कुटिल स्वभाव भएका गोविन्द भाइलाई हेरें । उनी मुसुक्क हाँसेर मेरो दृष्टि प्रभावबाट जोगिन खोजे । म भने उनका टम्म मिलेका दाँतहरुको मनमनै प्रशंसा गर्न थालें ।

हुन त यी डाँडोहरुमा मैले दिन र रातहरुका प्रायः सबै प्रहरहरुमा मन नै त्राहिमान बनाउने किसिमका यात्राहरु गरेको छु । ती सबै घुमफिरको मैझारो स्वरुप त्यो दिनको हिडाई केही फराकिलो, सजिलो र ढुक्क पाराको थियो । अलिकति संकोचको रेखा कतै मेरो मुहारमा घुमिरहेको हुनुपर्छ । मिर्मिरे उज्यालोमा थोपा सिंचाई गर्न आकाशे पानी सङ्कलन गर्ने सिमेन्टका घैंटाहरुलाई लटरम्म फलेका स्थानीय गोलभेंडाका झाङ्हरुले बेरिएका बिश्वकर्मा र नेवार समुदायका घरहरु हुँदै घामको झुल्को पक्रिन हामी हतारिई रहेका थियौं ।

दक्षिण फर्किएको सानो तर सुन्दर भिरालो पाखामा चिटिक्क सजिएको स्निग्ध तानसेन बजारको ३ किलोमिटर पूर्वपट्टि महाभारत प्रदेशको उत्तर पश्चिम हुँदै पूर्वतर्फ फैलिएको बग्नास डाँडो उक्लिंदै गर्दा नेपालीपन ल्याउने ढाकाटोपी, भोटो र कछाड भिरेर खुर्पेटोमा हसियाको मधुर आवाज बजाउँदै चिरा परेका पाइतालाले बलियो गरी जमिनमा अंठ्याएर सबेरै काममा जुटेका मगर दाइ र उनकी जीवन संगिनी गाउँले ढाकाको टम्म मिलेको चौबन्दी चोली र फरिया अनि खाकीको मजेत्रोले सुहाग छोपेर हिडिरहेको देख्ने मौका मिल्यो । शंकर भाइले–‘दाइ माथि डाँडोमा पुग्न कतिबेर लाग्छ ?’ भनेर सोध्दा ‘अब आइपुग्यो यहीं छिम त हो नि’ भनेर उनीहरु पुलुक्क हामीलाई हेरेपछि आफ्नै कुराकानीमा लागे । उसै बखत त्यो अधबैंशे स्त्रीले लगाएको पाते–बुलाँकीको झुम्कामा नजर ठोक्किएपछि म झस्कें । एकपटक फेरि आफैलाई प्रश्न सोध्न मन लाग्यो । कस्तो अभागी म, बिस्तारै आधुनिकतातर्फ सोझिंदै गर्दा पनि आफू भित्रको नेपालीपन ज्यूँदो रहेछ । मलाई आत्मदेखि त्यो भोटो र कछाड लगाउन मन लाग्यो तर खै र त्यस्तो सौभाग्य ? कुनै कारणवश उक्त अवसर मिलेपनि त्यसरी टमक्क मिलाएर कछाड बान्न मेरो स्नातकको ज्ञान पनि अक्षम होला ।

उपभोगवादी भएर विलासितामा डुब्नै आँटेको नयाँ शताब्दीको पुस्ताको हैसियत देखाउँदै हातमा मिनरल वाटरको बोतल बोक्न पनि मलाई गाह्रो भएको थियो, तर त्यो सहस्र वनपवनले निखारिएका स्थानीय बासिन्दाहरुको अटल र अथक माटोको मायाले यथार्थमा घचेटिदियो । त्यसपछि बाउँडिएका गोडाहरु र हिडाईको थकानलाई भर्खरै पलाउँदै गरेका चिलाउनीका पालुवा फिरिफिरी पार्दै आएको हावामा सेकाउँदै विस्तारै उकालिंदै गएँ उनीहरुसँगै ।

बल्ल–बल्ल डाँडोमा पुगेर सुस्ताउँदा उत्तरतर्फ मिलेर बसेका हिमालहरु सुनौला बन्दै थिए भने पानी परेपछिको खुल्ला आकाश क्षितिजसम्म गहिरिदै गएर पहाडका काँधमा टेकिएको थियो । समुन्द्री सतहबाट करिव १५८० मिटर अग्लो त्यो ठाउँबाट जता हेरेपनि कुनै पछुतो लाग्थेन । किन मन मान्थ्यो र, वरिपरिका पहाडी श्रृंखलाहरु नाघेर मेरो नजर धवलागिरी, कान्जिरोवा, तिलिचो, अन्नपूर्ण, मनास्लु, लम्जुड्ड, गणेश, टुकुचे र माछापुच्छ्रे टाकुराको काखैमा बिसाउन पुगिहाल्यो । मेरो अनौठो कल्पना ह्वात्तै सिरानमा पुगेर बिस्तारै खस्दै काली नदीले बनाएको रिडी नेरको विश्वकै सबैभन्दा गहिरो खोचमा पुगेर अत्तालिन नपाउँदै शंकर भाइले गुन्गुनाएको उषा मङ्गेष्करको ‘कति राम्रो यो कन्चनजङ्घा’ बोलको गीतसँगै पुनः उकालिंदै थियो । लोक गीत गाउन माहिर सूर्य भाइ किन पछि पर्दथ्यो र । उसले पनि हिमाललाई लालुपातेसँग सैना लगाइदिदै फलाक्न थाल्यो– “लालुपाते फुलेर लाल भयो, आज मेरो जोगीको ताल भयो, नरोउ मायालु ।” गोबिन्द भाइ भने आफ्नो डिजिटल क्यामेरासँगै कोटघरतिर व्यस्त भएपनि हामीतर्फ फर्केर मुस्काउन चुकेनन् ।

स्थानीय पत्रकार रेडियोकर्मी पनि हुनाले सरकारी तवरबाट तानसेन र यसका आसपासका स्थानहरुलाई २०५६ सालदेखि नमूना नगरको रुपमा घोषित भै ५७ सालबाट ६ वर्षे आवधिक विकास योजना तर्जुमा गरी सम्भाव्य अध्ययन र पूर्वाधार निर्माणका काम चलिरहेको बताउँदै थिए उनीहरु । चारैतिर व्यवस्थित पाराले बनाईएका सिमेन्टका कुर्चीहरु, सिंढीहरु र मिलाएर रोपिएका मसला र कल्की फूलका बिरुवाहरुसंगै कोटघरको मुनिपट्टि बनाईएको हावा महलले जोसुकैलाई लोभ्याउन सक्थ्यो ।

मेरो दृष्टि वर्तमानलाई छिचोलेर हेमन्त र शिशिर ऋतुमा टुडिखेलको छेउबाट देखिने हुस्सु ओढेको माडी उपत्यकालाई यहाँबाट कस्तो देखिएला भनेर कल्पनातित् बन्न खोज्यो । कोटघरको मन्दिर नयाँ भएपनि मौलो, तरवार, खुँडा, खुकुरीसँगै बि.सं. १९२५ मा भरत रानाले चढाएको शिला खण्डित भएर छरपष्ट थियो । चटक्क मिलाएर बनाईएको निलकाँडाको बारसँगै मस्त पवनमा सुसेलिरहेका सल्लाका रुखहरु, खन्यु, भीमसेनपाती, खिर्रो, मेल, फलेदो, टिमिलो र उत्तीसका बोटहरु मात्र हैनन् चाँदी फूलेर सुन फलाउने ऐंसेलुका झाङ्, चुत्रोका घारी, अम्बा र भर्खरै फल लाग्नै आँटेका आरुका बिरुवाहरु पनि खडेरीलाई बिर्सेर बसन्तको संघारमा आफ्नो उपस्थिति जनाईरहेका थिए । बारीको छेउमा रक्ताम्मे बनेर फुलेको धाईरो भने आनन्दले बाटोको दुबै छेउमा पुष्पित बन्दै गरेको असुराको समुहलाई आकासबेलीको लहराले गुट्मुट्याएकोमा चिन्तित हुँदोहो । बाँझो जोतेर डल्ला फोरिसकेका बारीका काल्नाहरुमा भने थकाईलो र बनमाराका अखडाहरु थिए । छेवैको बोटमा भुर्र उडेर आकाशिएको वनचरी, जुरेलो जस्तै लाग्ने यताउता गरिरहेको अर्को पंक्षी र पर देखिने चेचिकोटमा आफ्नै नाम काढिरहेको कालो चरो पनि प्रकृतिको मनोरम छटाको व्याख्या गर्न हाम्रो लागि खटिरहेको जस्तो लाग्नु अस्वाभाविक थिएन यस्तो लाग्थ्यो महाभारत लेकको त्यो थुम्किलोमा प्रकृतिका सबै खाले जिवजिवात्मा र वनस्पतिहरु मिलेर सृष्टिको नियम धानिरहेका थिए ।

आनन्द भएपछि छुचो मनले झन ऐश्वर्य खोज्दोरहेछ । उक्त कुसुमवागमा काल्पनिक विचरण गरिरहँदा म भित्रको बाडुलीले कसैको याद बोलाएर तुरुन्तै भाग्यो । म भने सिमलको भुवा बन्दै अनन्तसम्म ब्यग्र बनेर भौंतारिन थालें  पुनः त्यही सजायँ भोग्न । म त यिनै छटाहरुलाई नै मेरो सृजनाको केन्द्रबिन्दु मान्छु । वर्तमान परिवेशले त मेरो घाँटी गँगटोले झैं समातिरहेको छ, न मार्छ न सुगम पाराले जिउन नै दिन्छ । त्यसैले यीनै उराठे डाँडोहरु, पहाडका किरेमिरे बाटोहरु, अनि सबैले सोचिएका तर राम्ररी अभिव्यक्त हुन नसकेका थुम्काहरु नै मेरो ज्ञान प्राप्तिका एकमात्र माध्यम हुन् । यीनैसँग म घुलमिल हुन्छु र जीवनका पाठहरु घोक्दै नयाँ दिनको किरण स्विकार्न तयार हुन्छु चाहे त्यो स्वर्णिम होस या रक्तरञ्जित । वास्तवमा म यी डाँडाहरुसँग यति अनुग्रहित र कृतज्ञ छु कि कुनै तवरबाट यिनको ऋण तिर्न सकेपनि गुन तिर्न कदापि सक्नेछैन ।

मैले कताकति सुनेको थिएँ । विद्वान अंग्रेजी दार्शनिक वर्कले पनि भनेका छन् सुन्दर वस्तुहरु सुक्ष्म, स्वच्छ र सुन्दर हुन्छन् र त्यही सुन्दरताले हरेक कठोरतालाई पगालेर काल्पनिक आनन्द दिन्छ रे । यसैलाई नै म व्यक्तिगत सृजनात्मक कलेवरको अस्तित्व पनि ठान्छु । म शब्दसँग खेल्छु, भावसँग जिस्किन्छु अनि त्यसबाट उत्पन्न हुने वाक्यको परिस्थितिसँग सामना गर्न तयार हुन्छु । मानौं मेरो लागि शब्द कुनै सुन्दर युवती हो र भाव उसको यौवनमा छचल्किएको उत्तेजक पहिरन । यी दुबैलाई एकै ठाउँमा समेटेपछि बल्ल मलाई डर लाग्छ कतै त्यो सुन्दर नवयौवनाले मेरो शब्द आशनलाई तहसनहस पारिदिन्छे कि ! जसरी कुनै अप्सराले भगवान् इन्द्रको आसन डग्मगाएका थिए ।

मनका तरंगहरुसँगै जिस्किदा म त्यतै भुलेंछु । गोबिन्दले हामी सबैलाई संकेत गर्दै राम्रो फोटो आउने ठाउँ रोजेपछि चारैजना त्यही जम्मा भएर सूर्योदयको छटा नियाल्न तयार भयौं । अघिल्लै दिन नगरकोट गएर रातभरि झस्कदै उठ्दै गरेर एकाविहानै आँखा मिच्दै दौडेर डाँडाको टावरमा पुगेर उभिंदा त यति मीठो सौन्दर्यको आभाष बटुल्न पाएको थिइन मैले । पूर्वपट्टिको शैल श्रृंखला विस्तारै रक्तिम बनिरहेको थियो भने म अतितमा सवार हुँदै त्यो क्षणलाई व्यग्र बनेर कुरिरहेको थिएँ ।

एउटा अवस्था कुनै दिन नमीठोसँग भोगेको तर आज त्यसैको आडमा यो परिवेश झन मीठो र आनन्ददायक बनेको थियो । त्यो दिन रात भरीको मीठो निद्राबाट व्युँझी कोठामा बत्ती बालेर नित्यकर्म शुरु गर्दाका बखत झ्याप्प बत्ती जाँदा किंकर्तव्यबिमुढ हुँदा पनि झ्याल र ढोकाबाट बिस्तारै छिर्दै गरेको उषाकिरणको आडमा बाँकी काम सक्काउँदाको आनन्दानुभूति अति पाको, बिश्वासिलो र सहज लागेको थियो । हो, त्यही संस्मरण अहिले मेरो समिपमा एकदमै स्वादिलो चटनी बनेर सुम्सुम्याइरहेको थियो । मान्छे आफैले सिर्जेको अविष्कारले धोका दिएसरी प्रकृतिले पनि कुनै बखत एकै निमेष आफ्नो उत्तरदायित्व बिर्सिदिने हो भने बल्ल विवेकशील मानवको हैसियत जोखिन्थ्यो होला ! तर त्यहाँ त सधैको जस्तो नियमित प्रक्रिया जारी थियो ।

सायद हिजो अस्ति र भोलि पनि यसरीनै भानू पूर्वको डाँडोबाट झुल्केलान् । सोही माफिक आज मेरो तालुमा आलु फलेकाले उक्त अपरिमित खुशी मैले पनि कुम्ल्याउन पाएको थिएँ ।

ओहो त्यो किरण ! त्यो परिवेश अनि कालो रातको प्रसव–वेदनालाई छिचोलेर मुस्कुराउँदै गरेको उषाको लालीमा, अझै त्यो डाँडोमा सर्वप्रथम चुम्न हतारिएको अरुणाको आभा र त्यही पललाई पर्खेर बधाई दिन आतुर लहरै मिलेर हाँसिरहेका उत्तरका हिमालबाट प्रवाहित मस्त पवनको साथमा पछाडिपट्टि कपाल कोरिरहेको श्रीनगरको सल्लाघारी सबैले एकैपटक पालुवा हल्लाएर साथ दिएजस्तो लागेको थियो । अमुल्य औषधिजन्य निधी फलाएर उपहार दिन तम्सिएका छुनुमुने बुट्टादार जङ्गलहरु कुनै परीहरुको समूहभन्दा कम थिएनन् । म भने त्यो खुशीलाई पूरै नस्विकारेर आफू भित्रको व्यथालाई घोली आधा खुशी र आधा बेदनाको साथमा चाखिरहेको थिएँ । जता फर्क्यो उतै देखिने मनोरम छटा, थोरै पानीमा बिस्तारै मुख धुँदै गरेको मिनी नेपाल भनाउँदो तानसेनको डाँडो, ओरालो झर्दै गरेको असला माछा जस्तो माछापुछ्रेसँगै उभिएर हाँसिरहेका हिमालहरु, रम्भापानी र जयन्तिलुङ् अनि रेसुङ्गा र स्याङ्जाको आलमदेवी दक्षिणपट्टि पसारिएको माडीफाँट अझै आर्यभञ्ज्याङ्को घुम्ती मुनि राम्दीमा मालुङ्गानेर हतारिदै बगेकी काली गण्डकी र त्यसैको किनारको नेपालको ताजमहल रानीमहल छोपेर उभिएको सटुकाको नेटो सबै–सबै मेरो दृष्टिमा अटेस्–मटेस गरेर थन्किंदै थिए । बगनासको उत्तर-पश्चिमतर्फ दम्साईलो पाराले होचिँदै गएको झिरभञ्ज्याङ्को डाँडोमा अवस्थित मालारानीको मन्दिर उतापट्टि घोरबन्दाको कुमालगाउँ, बराङ्दी र खानीगाउँसँगै यतातिर मदनपोखरा, मस्याम र तेल्घाका थुम्किलाहरुले मलाई चिनेर यतै हेरिरहेको जस्तो पनि लागेको थियो ।

यसरी नै मेरा देश हेर्ने आँखाहरु, डाँडा, पाखा, गाउँ र टारीभरी डुलिरहेछन् अनि नेपाल बुझ्ने मनले युरोप र अमेरिका यही भेटिरहेथ्यो तर खै त, के म जस्ताले मात्र हेरिरहेर यो देशको मुहार फेरिएला त ? खै कहिले तिनीहरुले यो डाँडोमा आएर मैले झैं यो देशलाई हेर्लान् जसले यही माटोसँग मितेरी लगाएर यिनै भिराला पाखाहरुमा ऐश्वर्य झुलाउने परिकल्पनालाई तिलाञ्जली दिएर सिद्धार्थको माटोलाई युद्धभूमि, बधशाला र मसानघाटमा परिणत गरिरहेछन् ।

यति मात्र कहाँ हो र यहाँ त अझै कस्ता बिकराल पलहरु बाँच्न विवश छन् हरेक आत्माहरू ! ओहो यी दिनहरु ! जहाँ कुनै प्रेमीले आफ्नी प्रेमिकालाई विश्वास दिन सक्दैन । खेलेर खाने दिनहरुमा उसको यौवन पुष्पसदनको बीचमा बसेर कल्पनामा लगाएको मेहन्दीमय औंलाहरु चुम्दै सुहाग सम्हाल्न आउनुपर्ने हृदयको राजा नआएर उसको मृत्युको खबर आउँछ । यो संसारमा आफूलाई माया गर्ने र आफूले नि चाहेको ऊ भन्दा अरु कोही नभएपनि त्यही अज्ञात त्रासदिका कारण प्रायोजित बिछोड स्वीकार्न बिवश हुन्छे बिचरी ! कसैसँग नाम जोडिएकै आरोपमा बिवाहपूर्व नै बिधवा बन्नुपर्ने अवस्था आउन सक्छ । के कसैलाई मन पराउनु उसको दोष थियो र ? चिनजान भएदेखि नै हरेक पल चिन्ता र पीडामा जल्नुभन्दा एउटा बहाना बनाएर भावी जीवनको कल्कलाउँदो मुजुरा लुछ्न बाध्य छन् हरेक प्रेमीहरु । अझै गोठका गाईबस्तुहरु पनि हतास छन् । बास बसेका चरिवरीहरु गुणमै क्रन्दन निकाल्न बिवश छन् । भाडाकुटी खेल्ने लालाबालाका हातमा बमका गोलाहरु छन् अनि आन्तरिक शरणार्थी बनेर बलिन्द्र धारा बगाइरहेछन् बाबुआमा र आफन्तहरु ! धिक्कार छ यी युद्धका विभिषिकाहरुलाई अनि श्राप लागोस तिनीहरुलाई जसले यो अवस्था सिर्जना गरे ।

यतिबेरसम्म चाँदि झैं सुकिलो हिमश्रृङ्खला सुनौलो रक्तिम घुम्टोमा गुटुमुटु भैसकेको थियो । त्यो दृश्यलाई लज्जावती झार झैं लल्याक्लुलुक् बनेर क्वारक्वार्ती हेर्दै हामी सबै आ–आफ्ना लोभका सिरानीहरुमा कोल्टे फेरिरहेका थियौं । नजरहरु पनि आफ्नै काममा व्यस्त थिए । त्यो पूर्वीय रोशनीले पैंठेजोरीमा अँध्यारोका धब्बाहरुलाई पछारेर आफ्नो प्रभावले सम्पूर्ण परिवेशलाई शासन होइन ममतामयी ढाडस दिइरहेको थियो । मलाई यस्तो लागेथ्यो कुखुराको माउले चल्लाहरु छोपिरहेछ । धेरै बेरपछि गोबिन्द भाइ बोले : “नगरकोट जानै नपर्ने रहेछ नि !” उनी पनि कुनै बेला नगरकोटमा पुगेर सूर्योदय हेर्न जाग्राम बसेका रहेछन् । हामी दुई जनाले एकछिन नगरकोट र बगनासलाई बहसको विषय बनाएर यही डाँडोलाई भोट हाल्यौं । शंकर र सूर्यकुमारभाइले हाम्रा वार्ताहरु अवाक भएर सुनिरहे, केही बोलेनन् । हामी रहेको ठाउँबाट ३०० मिटर जति उत्तरपश्चिमतर्फको चेचीकोटको डाँडो देखाउँदै शंकर भाइसँग केही जिज्ञाशा राखें । ऊ समेत सबैले ‘त्यही पुगे थाहा भैहाल्छ नि’ भनेपछि त्यतै सोझियौं ।

वरपरका बासिन्दाहरुले आफू समेत आफ्ना पशु चौपायाहरुलाई रोग नलागोस् भनेर पूजा गर्ने देवीको थान रहेछ । पूजारीको रुपमा तल्लो गाउँ गोपाल्दीका मगरले चण्डीपूर्णिमामा मेला र नवदुर्गामा बडादशैं पूजा गर्ने कुरा पनि थाहा भयो । हिउँचुली र प्राकृतिक छटा हेरेका मेरा आँखाहरु मन्दिरभित्र रहेका पाँचवटा प्रस्तर मूर्तिहरु ब्युँझाउन घण्टको रालो हल्लाउन किन चुक्थे र । सबैजना एकपटक फेरि मूर्तिको सामु भएपनि मानसिक रुपमा लोभ दर्शाउँदै शारीरिक रुपमा घुँडा टेक्यौं । केही रुखहरुको बीचमा मन्दिर समेत गजधम्म परेर बसिरहेको डाँडोमा फूलहरुमा मधु माखाहरु झुम्मिंदै थिए तर हामी भने यात्राको बिट मार्न ओराली झर्दै थियौं । ओरालोबाट छर्लङ्ग देखिने कुडिलो परेको सिद्धार्थ  राजमार्ग र श्रीनगर डाँडाको पारिलेक वनसँग जिस्किंदै हात्तीगौंडाको श्री बसन्त प्रा.वि.मा केहीबेर सुस्ताएर गोर्खेकोटको घाँच हुँदै हामी चारैजना अल्लारेहरु पुनः मुकुन्दसेनको डाँडोतर्फ फिर्ता रमना भयौं ।

Lok Raj Pathak
Lok Raj Pathak Administrator

Lok Raj Pathak is a Professional Computer Engineer and Technology enthusiast. He has completed Master in Science in Information Technology (M. Sc. IT) and Master in technology in Computer Science and Engineering (M. Tech. Eng). He usually writes in science and technology, life style and religion.

follow me

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave comment