मनको भित्तामा मदनपोखरा

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुरम्य प्रकृतिको वक्षस्थलमा पौंठेजोरी खेल्दाखेल्दै बिचरा बुढाको जाने बेला भैसक्यो तर उनका दुईवटा स्वाँठ छोराहरु झन् अल्छी बन्दै गए । मर्ने बेलामा मानसपटलमा घुमेका बारी र काल्नाहरुको ऋण चुक्ता गर्न अल्छी छोराहरुलाई ‘मैले बगैंचाको कुनै ठाउँमा धनको बाकस गाडेको छु, ठाउँ भुलें, खोजेर बाँडेर लिनु’ भनेर देह त्यागे । दौलतको लोभमा खनजोत गर्दा बगैंचामा फलेको मनग्गे अन्न बेचेर बाकसको भन्दा बढी धन कमाएपछि बल्ल चेतनाको आलोकले बुद्धिको बिर्को खोलिदिएछ उनीहरुको । त्यसपछि बल्ल क्षमताको आडमा स्वावलम्बी र आत्मनिर्भर बन्न सकेछन् ।

मध्य पहाडको घुमाउरो बाटो सकिने बित्तिकै राजमार्ग घुम्ने डाँडोको कुइनेटोबाट टुलुक्क हेर्दा भिरालोखालको सानो पाखामा चिटिक्क सजिएको सुन्दर तानसेन बजार खेतीयोग्य बालीको हरियाली पत्र ओढेर उत्तानो पल्टेको बिशाल माफीफाँट र ठीक पारी त्यसरी नै पातलो जङ्गलको बीचका सौन्दर्यमय वस्तीहरु, भिराला बारीहरु मिलेर उठेको थुम्कोसँगै उत्तर फर्केर गमक्क परेर बसेको लोभलाग्दो गाउँ ।

शरद ऋतु को आगमनसँगै अगाडि पाइलटले हेलिकप्टर उडाईरहेको अवस्थामा पाल्पा अवतरण हुने बेलामा बग्नासको ठिक माथिबाट मनोरम तानसेन देखिएपछि स्मृतिमा त्यही गाउँसँग सम्बन्धित शुरुमा वर्णित लोककथा, नजरमा मधुरो घाम डाँडोमाथि अल्झिएको बेलाको अनौठो विम्ब र कल्पनामा जोखिम युक्त चुनौतीको सामना गर्ने सौभाग्य एकसाथ स्वीकारेर टुँडिखेलमा झरेको थिएँ ।

त्यसपछिका केही दिनहरुमै पाल्पा र आसपासका बेंसी र पाखाहरु, डाँडाकाँडाहरु, गाउँवस्ती र जङ्गलहरु मैले नचाहारेको सायदै होला । फुर्सदमा टुँडिखेलको ढिकबाट टोलाएर आर्यभञ्ज्याङ्देखि मेलैसँग जिस्किदै जाँदा जयन्तिलुङ् डाँडोको टेलिफोन टावरबाट टाढा–टाढासम्म उछिट्टिएर पनि पुनः कोडेको उच्चताबाट शिसिपस झैं झर्दै जाँदा मदनपोखरामा बजारिएर माडिफाँटमा थिग्रिदै स्मृतिमा सुदूर अतीतको याद चसक्क बल्झिन्थ्यो आफू जन्मेको पखेरोको ममतासँगै ।

पहाडी भेगको एउटा डाँडो पर्वत जिल्लामा पहिलोपटक आँखा खुले । ताते–ताते शुरु भएदेखि कति लडियो, उफ्रियो, दौडियो साथमा गुच्चा र भाँडाकुटी खेलेर समय बर्बाद पारियो त्यसको कुनै लेखाजोखा भएन । एउटा महत्वपूर्ण पाठ भीर, पाखा र कन्दराहरुमा धङ्धङाउदै भएपनि बुर्कुसी मार्ने कला सिकिएछ जसले आजभोलि बाँच्न ठूलो मद्दत पुर्याएको छ । उट्पट्याङ् गर्दागर्दै प्रवेशिका पनि पास गरेपछि काँधमा एउटा सुजेरो र मनभरी मनोकांक्षाको महल सजाएर शुरु भएको मेरो यात्रा वर्तमानमा यहाँ थकाई मेटिरहेको छ । घरी—घरी मृत्युसँग ठोक्किएर बिट मार्न खोजेपनि नियतीले उछिट्याएर पुनः अर्को पाखोतर्फ ढुन्मुन्याई दिन्छ ।

बाजेको पाखो बन्दकी राखेर केकानै जान्ने भनाउँदो बन्न राजधानीमा अभावको बीचमा निस्सासिँदा स्नातकको ग्रामिण विकास प्रतिवेदन खोजिनिती गर्ने बखत नमूना गाउँहरुको अग्र पंक्तिमा मदनपोखरा भेटेको थिएँ । उसैबेला उपिँया झैं उछिट्टिएर यतै पुग्न खोजेको भएपनि बल्ल अहिले आएर अनिश्चित जिन्दगीको यात्रामा मृत्युको छाँयासँग लखेटिदै जाँदा एउटा धोको बल्ल पुगेको महसुस भएको थियो ।

‘भ्यागुतोलाई कुवा नै संसार” भनेजस्तो यिनै गाउँका लेकवेंसी गर्दागर्दै स्मृतिपटमा जागेको जन्म थलोको माया कदापी नहट्ने रहेछ । आफ्नो प्यारो कसलाई हुँदैन र ! यसो हुँदा हुँदै पनि उही धर्ती, उही आकाश, त्यस्तै मानिस र त्यस्तै मनोकांक्षाका बाबजुद पनि केही विषयहरुमा अघि पछि त हुने नै भयो । यसै बीचमा खाली मदनपोखराका प्रयास र उपलब्धिको बारेमा सुनेकोले कस्तो पो होला भनेको त साँच्चिकै सबै कुराहरु अक्षरसः सत्य साबित भएपछि बल्ल अभिवादन गर्न मन लागेको छ ती कर्मठ हातहरुलाई जसले भूगोलको यो पिछडिएको कुनाबाट मानचित्रमा ग्रामिण विकास अवधारणाको नमूना पेश गर्न सके ।

“लौन नि त्यहाँ त ठूलो दुर्घटना भएछ ! जाउँ न जाउँ छिटो जाउँ ..!” चराउन लगेको फलानोको बस्तुभाउ हराएको भेट्नेले रेडियोमा खबर गरिदिनु होला । “आज डाँडाको चौतारोमा आमा समूहको बैठकमा ठिक समयमा आउन यो सूचना गर्दछौं ..।”  ए हजुर संसारमा मात्र २ वटा जातहरु छन् : आइमाई र लोग्नेमान्छे, त्यसैले भो अब भेदभाव नगरौं…।”

सुन्नेलाई नौलो, आडम्बरीलाई कस्तो–कस्तो तर बुझ्नेलाई गाँठी कुरो । हो, यस्तै सन्देश बोकेर साहसी माँडीफाँटका महिलाहरुको अडियो टावरबाट शुरु भएको प्रयासको प्रेरणा २०५६ साल चैत्र २३ गतेदेखि १०६.९ मेघाहर्ज फ्रिक्वेन्सीमा बर्बराइरहेको सामुदायिक रेडियो मदनपोखरा ले पुनः ग्रामिण भेगको सूचना प्रविधिमा दक्षिण एशियामै पहिलोपल्ट छलाङ् मार्यो । अझै पनि म भेटिरहेछु यसले समुदायका हरेक पक्षको धेरै गहिराईमा पुगेर मुष्ठिदानको भरमा विश्व ग्रामिणिकरणसँग पौंठेजोरी खेलिरहेको छ । अझै लोभलाग्दा स्थानीय भाषाका शब्दाबलीहरुः सुपो, झाँतो, आँटी, पार, यहिंछिम, भन्छ जो, तुर्नु, भिड्किनु आदिको मिठासपूर्ण पहिचान र जगेर्ना गर्न पुर्याएको योगदानको मूल्य जोख्ने कुनै यन्त्र छैन होला । वास्तवमा दौलतमा गरिव भएपनि सूचना प्रविधिमा यो रेडियो अमिर बनेको छ ।

मदनपोखराको माटोसँग मितेरी लगाउँदै जाने क्रममा यी पीडायुक्त शब्दचित्रको प्रभावसँग माफी माग्दै त्यही माटोमा सिंचित रगतका फाल्साहरुसँग साक्षात्कार हुन मन लागिरहेछ । प्रत्यक्षरुपमा आफूले भोगेका उक्त मानसिक प्रताडना जसले हरेकको अन्तष्करणका कुना कन्दराहरु खज्मजाइदिन्छ ।

आ–आफ्नै मान्यताहरुलाई पूर्णता दिने क्रममा घटीत यी घटनाहरुको शुरुवात २०६० साल मंसिर २९ गते सराई शिविरबाट फर्कदा साँझको साढे ५ बजेतिर पहिलोपल्ट ठूलो आतसवाजीसँगै भएको थियो । शान्त मदनपोखरा त्यतिबेला आहत बन्यो । जब ६१ साल साउन १७ गते दिउँसै भालेबासको बीचमा चट्याङ् परेर एउटा कोपिलालाई घाइते पारेर छाड्यो । अझै मुसलधारे बनेर अर्को महिनाको दुई र तीन गते नमीठोसँग भदौ वर्षियो । अघिल्लो दिन छापको मकैबारीमा एउटा कोपिला चुडिएपनि भोलिपल्ट साँझको शुरुवातसँगै फेरि मदनपोखरा वडा नं. ९ मा एउटा अविष्मरणीय घटना घट्यो । अहो ! त्यो घटना जसले उजिरसिंहले जितगढीमा अंग्रेजसँग तोप पड्काएर धावा बोलेपछिको परिवेशलाई सम्झाउँथ्यो । मानवीय क्षतिको पूर्णरुपमा एकिन हुन नसकेको त्यो दिनलाई केही गाउँलेहरुले चाहेर पनि बिर्सन सक्दैनन् होला । म अन्तष्करणदेखि कामना गर्न चाहन्छु । अब कदापि यस्ता रगतका बाछिटाहरु मदनपोखराको माटोमा वर्षिने छैनन् ।

यत्रो देश घुमिसक्दा पनि कही नभेटिएको एउटा अनुपम पाठ सिक्ने अवसर यही मिल्यो मलाई । नढाँटेर भन्नुपर्दा आफ्नो घरको भात खाएर अर्काको बात मार्ने बानी यिनीहरुमा छैन । कुरा काटेर भुवन चाहार्ने भन्दा काम गरेर आकाश खसाल्ने अनुकरणीय कार्यशैली ज्यादै मूल्यवान छ । दिनभर कार्यालयको हाकिमको कुर्सीमा बस्ने व्यक्ति बिहानभर असिन पसिन बनेर दाउरा चिरिरहेको हुन्छ । गोबर ग्यास गरेको हुन्छ, अनि टोल सफा गरेको हुन्छ । दैलोकुचो र जुठो भाँडो मात्र गर्ने आमा दिदीहरु सामुदायिक छलफल र व्यक्तित्व विकासमा खटिरहका हुन्छन् । अनि तरकारी गोड्ने र ढाका बुन्ने तानमा व्यस्त भेटिन्छन् । अझै कुनै ज्ञान सिप तालिम र स्रोत विना नै शिक्षा र विकास प्रतिको अत्यन्तै ठूलो लगावले पटुकामा भुटेका मकैको भरमा आफ्नै श्रमदानबाट अतुलनीय विकासका जगहरु बसाल्ने समुदायका जिउँदा मान्छेहरु यिनै होलान् । मदनपोखरेहरु घमण्डी छन् भन्ने नसुनेको पनि हैन तर मेरो विचारमा जो सक्षम हुन्छ, उसले गर्व पनि गर्छ । ईष्र्यालु मानवीय स्वभावको उपज होला “देखासिकी गरिखाऊ, आहारिसे मरिजाऊ” भन्ने चोटिलो उखान पनि । जहाँसम्म मेरो सोच गलत हैन भने मदनपोखरा प्राकृतिक वैभव र स्वच्छ जीवनयापनले त स्वर्ग छँदैछ, त्यहाँका बासिन्दाहरु समेत निष्पक्ष, कर्मठ र स्वाभिमान छन् । अझै छुचो मुख गरेर भन्ने हो भने सामुदायिकताको मियो धानेको मदनपोखराले अबका दिनहरुमा त्यसभित्र विस्तारै हुर्कदै गएको व्यक्तिवाद र उपभोगवादलाई निस्तेज पारेर गरिमामय इज्जतलाई बचाउन केही चुनौतीहरुको व्यवस्थित चिरफार गर्नु निर्विकल्प दायित्व हो  ।

हो म अहिले पनि यही टुँडिखेलको छेउबाट मदनपोखरालाई पढिरहेको छु । जहाँका घुम्ती, बाटोबस्ती र आँगन अनि चोक–चोकमा टेकेका मेरा पाइलाहरु अझै मेटिएका छैनन् होला । गोधुलि किरणहरु विस्तारै धर्ती छाड्न तरखरिदै छन् । सुनौलो बिहानी लिएर भोलि अवश्य आउँनेछन् । धुमिल दृष्टिमा पनि म हरेक टोल र वस्तीहरु ठ्याक्कै ठम्याउन सक्छु । त्यो वंशगोपालको मन्दिर, पवित्र सूर्यकुण्ड, डाँफे चर्ने तपोभूमि अँगारे, भगवानहरु स्वर्गबाट झरेको देवगिरको डाँडो, प्रभास तालसँगै एकाकार बनेर सिमावद्ध बनेको मुकुन्दसेनको दरबारका भग्नावशेषहरु अपरिमित सम्भावना बोकेर कुरिरहेका छन् । पहिचानको टोपी लगाएको एफ.एम.को टावर, सामुदायिक वन र कफिका नर्सरीहरुको साथमा खडेरीको माछापालन र ग्रीनहाउस भित्रको गोलभेंडा खेती अझै मध्यरातमा छामछुम गरिरहेको बेलामा टाउकोमा ठुग्न आउने दमकडाका चमेराहरु जीवन रहेसम्म स्मृतिपटमा सल्बलाई रहेछन् ।

जाँदाजाँदै मध्य रातमा झम्झम् पानी परिरहेको बेलामा तिन्टीआँपमा खुसुक्क लिची चोरेर खाएको अनि पालैपालो आफन्तहरुले दिएका मौसमी फलफूलका स्वादहरु जिब्रोमा सर्सराई रहनेछन् र मनको भित्तामा त्यो खोल्सामा कलकलाउँदो आवाजमा बगेको पानी, वनपाखा र मझौलो कदको थुम्किलो टाँस्सिएर बसिरहनेछ अनन्तसम्म ।

Lok Raj Pathak
Lok Raj Pathak Administrator

Lok Raj Pathak is a Professional Computer Engineer and Technology enthusiast. He has completed Master in Science in Information Technology (M. Sc. IT) and Master in technology in Computer Science and Engineering (M. Tech. Eng). He usually writes in science and technology, life style and religion.

follow me

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave comment