रिडीको रन्को

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

“नेपालको कृष्णगण्डकीलाई काली गण्डकी भन्दछन् । त्यो काली गण्डकीभन्दा प्रायः आधा कोष परतिर रिडी नामक ठाउँ छ । रिडीको चारैतिर अग्ला–अग्ला मनोरम दृश्य भएका पहाडहरु छन् । रिडीमा दुई अढाई सय घर छन् । तीन तले घरहरु पनि छन् । रिडी बजार दुई लाइन (पंक्ति)मा छ । चालीसवटा जति लुगा कपडाका पसल छन् । २०-२५ वटा चाँहि किराना तथा चिया आदिका पसल छन् ।”

यी शब्दहरु सन् १९४४ अक्टोबर २० तारिखका दिन नेपाली झ्याउरे सम्राट मास्टर मित्रसेनद्वारा लेखिएको ‘भूगोल रिडी’ निबन्धका केही अंशहरु हुन् । लोकगीतका अन्वेषक, साहित्यकार वा गायक मित्रसेनलाई म त धवलागिरीका प्रथम गजलकार पनि भन्न रुचाउँछु । अर्का नेपाली नाट्य सम्राट बालकृष्ण समले आफ्नो सामाजिक उपन्यास ‘प्रेमपिण्ड’मा रुरु क्षेत्रलाई अत्यन्तै गहन किसिमले समेटेका रहेछन् ।

एउटा पौराणिक कथामा देबदत्त ब्राम्हणले कालीगण्डकी तटमा हजारौं वर्षसम्म उग्र पाराले तप गरेपछि सुरराज इन्द्र डराएर कामदेव, अप्सरा र गन्धर्व लगायतलाई उक्त तपबाट निबृत्त गराउन पठाएछन् । उनीहरु त्यो स्थानमा पुगेपछि गन्धर्वहरुको गानसँगै प्रम्लोचा अप्सरा ब्राम्हणको अगाडि लाज मान्दै विचरण गर्न थालिछन् । ठीक त्यसैबेला कामदेवले हानेको बाणबाट आशक्त बनेर उनीहरुबीचमा अनेकौं वर्षसम्म रतिक्रिडा चलेछ । जसै ब्राम्हणको विवेक जागृत भयो त्यसपछि उनी अप्सरासहित भृगुतुङ्गमा तप गरी शिवको आराधना गर्न थाले । अप्सराले महिना पुगेपछि त्यसै आश्रममा एक कन्या जन्माएर स्वर्गतर्फ प्रस्थान गरिन् । ती असहाय बालिकालाई रुरु नामक मृगहरुले पालनपोषण गरी हुर्काए । पछि उनले घोर तपस्या गरेर बिष्णुबाट सदा सोही स्थानमा बिराजित भई आफ्नो नामले यो तीर्थ बिख्यात बनोस् भन्ने बरदान पाएकाले यो ठाउँको नाम रुरु क्षेत्र रहन गयो ।

नेपालको बनारस भनेर चिनिने रिडी पुग्ने मेरो धोको नपुग्दासम्म छ दशक अघिको मित्रसेनको शब्दचित्र, प्रेमपिण्डका हरफसँगै दौडेका चलचित्रका दृश्यसँगै अन्य ग्रन्थहरुमा बर्णित कुराहरुमै ओल्लोघाट र पल्लो तिर गरेर बितिरहेको थियो । लोभी मन अनि छुचो बानी र घुमन्ते बनिसकेको मेरो दिनचर्याले रिडी पुग्ने खस्खस् पनि मेट्ने अवसर पाउने भयो । कल्पनामा दौडेका मेरा नजरहरु अब भने उही पुगेर कालीको बगरमा सत्यता खोज्ने उमङ्गले शरीरका ती सबै अङ्गहरु सर्सराएर चहारि रहेको थियो ।

प्रकृतिको वक्षस्थलमा सबेरै देखि जिस्किन उत्फुल्ल बनेको मेरो चैतन्यले चार बजेतिर नै मीठो सपनासँगै जगायो । त्यो बेलासम्म पूर्वको रोशनी चारैतिर छताछुल्ल भएर मलाई पर्दाको छिद्रबाट जाँच पड्ताल गरिरहेको रहेछ । नित्यकर्मको बिट मार्दै तस यात्राको सुजेरोलाई जनैमाथि खप्ट्याएर शंकर भाइको ढोका हान्न पुगें । नमस्कार र आशीर्वाद साटेपछि त्यहाँ नबिसाई हामीहरु तानसेन बजारलाई वनदेवीको सल्लाघारीसँग खेल्न भुलाएर सुटुक्क बतासेतर्फ राजमार्गमा मोटरसाइकलको एक्सिलेटर निमोठ्यौं । म ड्राइभर बनेको थिएँ । ऊ भने पछाडिपट्टि लिसो बनेको हुनुपर्छ । कानैनेर आएर केही भनेजस्तो लागेको भएपनि हेलमेटले छोपेको टाउको र उत्तरी आकाशको सिमारेखामा हाँसिरहेका सेता पहाडहरुसँगै एकै परिवारका हजुरबाबुदेखि नातीसम्म उभिएर फोटो खिच्न लागेका जस्ता पहाडी थुम्किला र बस्तीहरुमा परिभ्रमण शुरु गरिसकेका मेरा नजरहरु आफ्नो काममा लागिसकेका थिए । बतासेडाँडा त्यही स्थान हो जहाँबाट एकै ठाउँमा उभिएर सबैभन्दा बढी हिमश्रृङ्खलाहरु देख्न सकिन्छ । कैलाशनगरको यात्रा नसकिन्जेल मैले पनि माछापुच्छ्रे र अरु हिमालहरु हेर्न चुकिन ।

अनुभूतिको पुटुरोजस्तो यो जीवन जब सरलता र भावमयतालाई छिचोलेर कठिन समस्याको जटिलतातर्फ अग्रसर हुँदोरहेछ तब मात्र विचार र चिन्तनले नवीन आलोकको ढोका खोलेर फुत्त शब्दचित्रले स्वरुप धारण गर्दोरहेछ चाहे त्यो जुनसुकै शैलीमा अभिव्यक्त किन नबनोस् । उषाको सिरेठोसँगै बतासेडाँडोमा सुसाएको सल्लाले पनि मलाई ‘सक्छस् भने मेरो बारेमा अभिव्यक्ति दे’ भनिरहेको हुँदो हो तर म अटेरी बनेर सब–स्टेशनको नेटो हुँदै ढुङ्गाखानीको गुम्बातर्फ नजिकिँदै थिएँ ।

म आफू चिन्तामा जकडिएको भएपनि प्रकृति भने शिशिरको उराठेपनालाई कुशलतापूर्वक पचाएर बसन्त बागका नयाँ च्यूलाहरुमा पल्लवित हुँदै थिइन् । सर्पको पारामा बढेको दुई पाङ्ग्रेको घोडा चढेर तीनलाँकुरीको तेर्पाए सडकमा खलाँतीको ताल झिकेको एक्सिलेटरलाई पनि वास्ता नगरी मनोरम छटा र घाम ओढ्न तम्सिएका बस्तीहरुमा आ–आफ्ना मनका तरेलीहरुसँगै चिप्लेटी खेलिरहेका थियौं हामी । अध्यात्मिकलाई ईश्वरीय उपहार अनि प्रकृति प्रेमीहरुलाई सुरम्य बागमा फूलेको सुन्दर गुलाबजस्तो प्रतीत हुने ती भिराला पाखाहरु र मध्य पहाडको डाँडो कोपरेर अलकत्र जमाई चिटिक्क पारेको सडक घरी कुईक्क घुम्थ्यो भने घरी ओरालिंदै उकालिन्थ्यो । हामी पनि छेउछाउका पालुवा सँगै सम्मेबारीको उकालो, जोगीपानी र सामाकोट पनि छिचोलेर भैरवस्थानको पातलोखाले बजारमा चुईगम किन्न केहीबेर सुस्तायौं ।

राजमार्गको माथिपट्टि अवस्थित डाँडोमा एसियाकै सबैभन्दा ठूलो त्रिशूल रहेको भैरव मन्दिरको आभाषलाई औंलाका सहाराले आ–आफ्ना आत्मामा प्रतिस्थापन गरी सडकमा बगिरह्यौं । भगवान कालभैरवको मुख्य स्वरुप यो स्थानमा हुनाले हेर्ने व्यक्ति तुरुन्तै भष्म हुने जनविश्वासका कारण यो मन्दिरको मूर्ति भासिएको जमिनमुनि अवस्थित गराइएको साथै अन्य केही थप किंवदन्तीहरु पनि सो विषयमा छन् भन्दै थिए मेरा सहयात्रीले ।

१० किलोमिटरको यात्रा सकेर हार्थोक बजार अलि नपुग्दै रानीठाँटीतर्फ सडक छुट्टिने स्थानमा एउटा दुर्लभ सिलाङ्गीको रुख रहेछ । त्यहाँ त्यो रुखमा फूल फूल्दा भोटसम्म वासना जाने गर्छ रे भन्दै थिए गाउँलेहरु । त्यसैले उक्त ठाउँलाई सिलाङ्थोक् भन्दारहेछन् । एउटा खोजको मौका सुझेको थियो तर त्यति मेसोमेलो नमिल्ने ठानी आफ्नै गन्तव्य तर्फ एकहोरियौं । हार्थोक बजार छिर्नुभन्दा यतैपट्टिको सडकछेउबाट मेरा नजर नचाहँदा नचाहदै कतै टाढा उछिट्टिए ।

सन्त कविरले आफ्नो दर्शनमा, ‘बितेका कृत्यको हिसाब नराख्नु, वर्तमानलाई सर्वस्व नठान्नु र भविष्यको कुनै प्रवाह नगर्नु’ भनेर समयलाई जोखेका छन् तर अझसम्म कुनै त्यस्तो उपाय छैन होला जसले हिरोसिमा र नागासाकी बिर्साओस्, सेप्टेम्बर एघार र कोतपर्व भुलाओस् अनि फोक्ल्याण्ड र नालापानीमा छङ्छङ्गी बगेको रातो बाढीलाई अवमुल्यन गर्न सकोस् । जब राजमार्गको छेउबाट अर्घाखाँचीको तिनगिरे र पणेना इलाका देखियो त्यसपछि म भने भित्रभित्रै चहर्याएँ साथमा अनायासै भक्कानिएँ पनि ।

अस्विकृत बन्दाबन्दै पनि म एकपटक त्यो घटनासँग पुनः पिल्सिन पुगें र चसक्क दुखें । मत आफूलाई भाग्यमानी तर बिचरो नेपाली भन्न खोजिरहेछु । कति प्रयास गरेर प्रकृतिले सिंगारेको यो देशमा जन्मिन पाउनु मेरो सौभाग्य हो तर सात सालदेखि सत्र, छ्यालीस र अहिलेसम्म समुन्नति र विकासलाई पन्छाएर मात्र अधिकारको लागि बारीमा हलो कोदालो फालेर बिनासकारी संघर्षमा उत्रिनु मजस्ता हरेक युवाहरुको विवशता हो चाहे त्यो जुनसुकै धारको प्रयोग भएको होस् । कताकती यसलाई हाम्रो आफ्नो कमजोरीको रुपमा पनि स्वीकार्दछु । म लगायत सबै जनताको त्यही कमजोरी होला जसले अन्याय गर्नुभन्दा सहनुलाई पाप सम्झे र राष्ट्रको खातीर २०६२ फागुन १६ गतेका दिन आ–आफै लडेर पाणिनीको तपोभूमिमा २ दर्जन मानव बलीका धारा अर्पण गरे । के दोष थियो तिनीहरुको ! यो देशमा जन्मिनुको अर्थ हरेकले आफ्नै दाजूभाईको हृदय तोडफोड गर्न हो त ? मरेर जानेहरुको लागि स्वतन्त्रताले कहाँनेर छोला ! कतै हामी खराब समयमा पो जन्मिएछौं कि ! मर्नुभन्दा बाँचेरै देशका बारी र काल्नाहरुमा ऐश्वर्य फलाउनु श्रेयष्कर हो भनेर बुझ्न रबुझाउने कसले त ? वास्तवमा त्यहाँ जति दाजुभाईहरु मरे, ती त बरु अमर बने ।

मर्न त हामी बाँच्न खोज्ने भनाउँदाहरु पो मरिरहेछौं जो रमिते बनेर बाँच्ने प्रयत्न त गर्छौ तर पटक–पटक… ।

सडक फनक्क घुमेर पल्लो बजारभित्र घुस्रिदै थियो । लुकिङ् ग्लासमा गुराँसे पाखो देखियो । तर मैले सोचें अब यहाँ रातो गुराँस हैन रुखका काप–कापमा सुनाखरी र पाखाभरी कुरिलो, गुरधौली र टाँकी फूल्नुपर्छ, ऐसेलु, चुत्रो र काफल फल्नुपर्छ लटरम्म भएर ।

हार्थोक बजारबाट सडक बाँङ्गिने रहेछ । कुसुमखोला, छहरा, सिद्धेश्वर, सोमादी हुँदै अर्घाखाँची पुग्नेतर्फ नलागेर बाँयापट्टिको रिडी गुल्मी खण्डतर्फ सावधानीपूर्वक काम सुरु गर्यौं हामीले । सिरुखर्क नपुग्दै बाटो घुमिसकेको थियो । नजरको वरिपरि गमक्क परेर लोभलाग्दो पाराले देखापर्ने मेरै आफ्नै जस्तो लाग्ने अनाम पाखा र खर्कहरुमा बिछट्ट किसिमले रम्दै हामी मालमुल गाउँ र लगुवाको ओरालो सकेर जोर्तेमा तातोपानी सुक्र्याउन थाल्यौं । “अलिकति केही खाने हो कि”– भाइ भन्दै थिए । उता चण्डिभञ्ज्याङ्बाट पैदल हिडेर जोर्तेमा आइपुगेका पथिकहरु सडकको दुवैतर्फ बियाँलिदै थिए । सडक सुनसान थियो ।

मानवयन्त्रमा उर्जा भरेपछि पुनः म ड्राइभर बनें । कुनै सिलसिलामा एक वर्षसम्म उक्त क्षेत्रमा रहेका शंकर भाइ साथमा हुनाले मेरो भोको मन धेरै जानकारी पाउन आशातित् थियो । अलिकति पर पुग्दै तस् उसले भन्दै थियो –“दाइ यसलाई गाईघाट भन्छन् ।”

ऋषि और्बले तपस्या गर्ने क्रममा भगवान बराहसँग सत्तरी कल्पसम्मको मायाको बल प्राप्त गरी और्वाश्रमलाई विभिन्न फूलहरुले सुसज्जित तुल्याउँदै दीर्घतप गर्न थालेछन् । नानाबिधी पुष्प बृक्षले भरिभराउ आश्रमका लागि कमलको फूल लिन ऋषि हरिद्वार गएका बखत भगवान शिब त्यहाँ पुगी हेर्ने बित्तिकै आँखाबाट अग्निज्वाला निस्कि पुरै आश्रम भष्म भएछ । फर्केपछि ऋषिले भगवान शिवलाई घोर श्राप दिएछन् जसको कारण सारा लोकभरी डाह भएछ । केही सिप नलागेपछि विष्णु और्वकहाँ गई श्राप हटाऊ भन्दा उनले सुरभिगण (गाई) ल्याई नुहाइदिने अनुरोध गरेकाले स्वर्गबाट ७७ गाई त्यहाँ झरालेर नुहाइदिएपछि त्यो आश्रम हराभरा भएछ । शिवजी पनि श्रापबाट छुटेछन् । गाईहरु अवतरण गरिएकोले त्यो क्षेत्र पवित्र विष्णुसर तिर्थ रहन गएको र अझैपनि जेठशुक्ल द्वादशीका दिन गाई कराएको सुमधुर आवाज सुनिन्छ भन्ने मान्यता अनुसार उक्त स्थानलाई गाईघाट भनिएको होला भनेर लख काट्दै हामी दुबैजना टिपुरेपाखोको घुम्तीलाई मझौला रफ्तारमा सिनित्याउँदै थियौं ।

त्यसैबखत शंकर भाइले बाँयापट्टिको शिवलिङ्गाकार डाँडोलाई देखाउँदै भने, “दाइ ऋषि और्वले तपस्या गरेको यही डाँडोमा हो रे, त्यहाँ राम, सीता र लक्ष्मणका सिंगमरमरका मूर्ति छन् ।” उनी थप्दैथिए । अखण्ड कीर्तनमा आफू ढाड मर्काई–मर्काई नाचेको पनि बक्साउन पछि परेनन् उनी ।

मैले सोचें, महाभारतको आदिपर्वमा वर्णित ब्रम्हाजीका मानसपुत्र भृगु र भृगुका छोरा च्यावनकी पत्नी आरुणिको ऊरु (जंघा) फोरेर जन्मिएका और्वले रोजेको मुस्लुक (थुम्को) राम्रै रहेछ । ऋषि और्वको सम्बन्धमा देवी भागवतमा वर्णित अर्को प्रसंग मैले शंकर भाइलाई सुनाएँ । जस अनुसार हैहयवंशी राजा अर्जुनले भृगुवंशी ब्राम्हणलाई मनग्गे दान दिएर सन्तुष्ट पारेछन् । समय बित्दै जाँदा दान दिनेहरु नै कंगाल बनेपछि आफैले दान दिएकासँग दौलत माग्दा ठूलो झगडा भयो । भृगुहरुले आश्रममा आक्रमण भएपछि गर्भस्थ वालक पनि बाँच्न पाएनन् । त्यहाँका कन्याहरु भागेर उत्तर हिमालतर्फ लागि कुनै नदीतटमा मूर्ति स्थापना गरी साधनाले पूजा गर्दा सपनामा गौरीदेवीले ‘तिमीहरुमध्ये एउटीबाट ऊरुजपुत्र भै त्यसैले उद्धार गर्नेछ’ भनेर दीक्षा दिइछन् । सोही बमोजिम एउटीले आफ्नो जँघामा गर्भधारण गरी और्वलाई जन्माईछन् । पछि तिनै और्वले घोर तपस्या गरी राजा अर्जुनका वंशलाई अन्धा तुल्याई आफ्नो वंशको बदला लिएका थिए रे । अन्त्यमा पुनः ऋषिकै प्रार्थना गरेपछि दृष्टि फिर्ता दिएछन् ।

मेरो कहानी सकिदा नसकिदै हाम्रो मोटरसाइकल दुईजना भात खाने किरालाई बोकेर उनै ऋषिबाट नामाङ्कित भएको उर्वर उपत्यका अर्गलीमा छिरिसकेको थियो । पाण्डे, भट्टराई र पराजुलीको विशेष बाहुल्यता रहेको देउरालीमा बहान टेकाएर हामी दरबारतर्फ उक्लिन थाल्यौं । सडकको दुबैतर्फका बन्दा र आलुका बारीहरु हाम्रो भोकलाई गिज्याउँदै थिए ।

शंकरभाई चिनजानका मान्छेसँग हेल्लो हाइमा व्यस्त थिए म भने अर्गलीको नामको स्पष्टतासँग घोत्लिंदै थिएँ ।

बराहपुराणको १४७ औं अध्यायमा और्वाश्रमलाई गण्डकी तटवर्ती शालग्राम क्षेत्रदेखि अलग्याउनु र हरिवंशपर्व अध्याय २७ को ३६ नं. श्लोकमा और्वकी श्रीमती गाधिराजकी कन्या सत्यवती कालन्तरमा कोशीकी नदीको रुपमा बगेकी थिइन् भनिन्छ ।

यो प्रमाणलाई आधार मान्ने हो भने और्वाश्रम यहाँ नभै वर्तमान कोशी नदीको मुहानमा पर्छ जहाँ पहाडी चुचुरोको भागमा विशाल पाषाण खण्ड गोनिष्क्रमण तीर्थ (गाईघाट) सहितको और्वाश्रम हुनुपर्छ । इतिहास र पुराणमा जे लेखिएको भएपनि सकेसम्म यस्ता विवादको निवारणतर्फ ध्यान दिनु राम्रो हुन्थ्यो कि भन्ने मनका गन्ठ्यौनासँग जिस्किदै ऊ र म हाल त्रिभुवन उ.मा.वि. रहेको जुद्धशमशेरको दरबार परिसरमा कालीगण्डकीको जलस्पर्शी हावाको झोक्कासँग बाझाबाझ गर्न थालेका रहेछौं ।

राजर्षि महाराजको नामले परिचित जुद्धशमशेर धुर्त राणा धीर शमशेरका दशौं पुत्र भएकाले वि.सं. १९८९ मा श्री ३ बनेपनि त्यति नराम्रा खाले राणा बनेनन् । बावुको बिंडो थाम्दै ‘सि’ क्लासका राणाहरुलाई देश निकाला गरेपनि दोस्रो विश्वयुद्धमा बेलायतलाई सहयोग गरी अन्तर्राष्ट्रिय ख्याती कमाएका थिए । नब्बे सालको महाभुकम्पले यिनको शासन डग्मगाउन खोजेपनि केही पुर्ननिर्माणको साथै बिराटनगरमा जुटमिल, सलाई फ्याक्ट्री र कटनमिलको स्थापनाको साथमा नोटको प्रचलन, चिडियाखाना र हुलाकको व्यवस्थासँगै कर्मचारीहरुको पेन्सन अनि सञ्चयकोषको व्यवस्था र पहिलो पटक नेपालबाटै प्रवेशिका दिन पाउने परिपाटी यिनैले बसाएका थिए ।

तेह्र वर्षे शासनकाल राम्ररी बितेपनि हृदयमा ईश्वरीय आसक्ति बढेपछि प्रशिद्ध चक्रतीर्थ रुरुक्षेत्रमा आफ्ना भविष्य वक्ता रेसुङ्गा प्रभुको समिपमा बाँकी जीवन ब्यतीत गर्ने मनोकांक्षा पुरा गर्न वि.सं. २००२ मंसीर १४ गते बिहिबार शुक्ल दशमीका दिन आफ्नो प्रधानमन्त्रीय शासनत्वको तीन चाँद स्वइच्छाले भतिजा पद्मशमशेरलाई सुम्पिएर प्रिय महारानी गोदावरीकासाथ यही दरबारमा सरेका थिए । यहाँ सधै जसो भजन कीर्तन हुन्थ्यो रे । राजर्षि ऐश्वर्यले भुक्त बनेका जुद्ध शमशेर अर्गलीका दुईवटी कन्याको लाबन्यमा फसेपछि यो दरबार पनि त्यागेर देहरादुनतर्फ मनको शान्ति खोज्न भौंतारिए छन् ।

राम्रो रेखदेखका अभावका कारण ६० वर्षमै गरिव नेपालीको अवस्था जस्तै जीर्ण बनेको दरबारमा केहीबेर टहलिएर मुख्य दरबारको छेउपट्टिको बरण्डा शंकर भाइलाई देखाएँ, जहाँ म देशको भारा तिर्ने सिलसिलामा २०६२ साल कात्तिक ७ गते सोमबारको पुरै रात गुजारेको थिएँ । त्यो दिन तानसेनमा शान्ति संगीत यात्राको बृहत सांगीतिक समारोह भएको थियो । दरबार बनोटको प्रविधि, राणाहरुको विलासिताको अलिकति गन्ध र बादलमा मुस्कुराउदै गरेको छटा सिर्जित मिठासपनका अनगिन्ती पोकाहरु चच्क्षुमार्गबाट स्मृतिवागमा कैद गर्दै पुनः देउरालीको नेटोबाट कुडापानीको कमलपोखरी ठम्याएपछि रुरुको घुम्टोमा पुलकित हुंदै घुमाउरो सडकमा दुबै जना माडो घुम्न थाल्यौं । संगसंगै यस्तो लाग्यो एक्सिलेटरले लगनगाँठो बाँधेपछिको मन्त्र पढ्दैछ।

“कठैवरा ! गण्डकी त सुकिछन् ।”

भाइले मिर्मिमा थुनिएकी कालीलाई सहानुभूति पोखे । म भने सडक दर्फराएर हाम फालेको पहिरोनेर दुई–पाङ्ग्रेलाई सन्तुलन मिलाउँदै थिएँ । पुलुक्क बगरतर्फ हेर्न नपाउँदै मृत्युको झोक्काले सबै आवेगहरुलाई बढारिदियो । यही नदीको कुनै किनारमा मेरो पनि घाट पर्छ । कति निर्दयी र छुचो छ यो साहु । अनन्तदेखि यसरी नै सबैलाई आफ्नो क्रुर पञ्जामा समेटेर उसरी नै बगिरहेको छ । मेरा कैयौं प्रियजनहरुलाई कप्लक्क पारीसकेपछि पनि नपुगेर मलाई नै घुरेर हेरिरहेको थियो । मैले मनमनै भने; –पिर नगर, मेरो पनि इच्छा त्यही छ । ढिलो चाँडो न हो, तेरो ऋण तिर्न पाएँ भने मेरो पनि हाडमा चक्र पर्नेछ जसलाई हरेकले बगरबाट ढुंडेर शालिग्रामको रुपमा पुज्नेछन् ।

एउटा होटलमा खाना पनि खाने सर्तमा बाहन बिसाएर क्यामेरा र डायरीसंगै हामी कालीको घाटमा धर्म बटुलेपछि मात्र अरु कुरा गर्ने भयौं । पुलस्त्यबेणीमा पवित्र बनेपछि म ऋषिकेशवको दर्शन गर्न इच्छिएँ । हामी पुनः उत्तर दक्षिण तन्किएर वारिपारी टेकिएको पुल नाघेर पाल्पातर्फ फर्क्यौ ।

सारथीले सोध्दै थिए । “दाइ किन ऋषिकेशको मन्दिर खोलावारी बना’को होला ?” मैले भने : “देउतालाई जहाँ मन लाग्यो त्यही बस्ने हुनाले होला ।” उनलाई चित्त बुझेनछ । अनिच्छुक बन्दै मुन्टो बटार्न पुगे ।

जब रुरु कन्याले भगवानलाई त्यही रहन आग्रह गरिन् । त्यसपछि कालान्तरसम्म शालग्राममय स्वरुपमा गण्डकी गर्भमा रहनु भो । राजा मणिमुकुन्दसेन नुहाउन जाँदा पानीमुनी चारबाहु, शंख, चक्र र गदा पद्म सहितको दिब्य मूर्ति फेलापारी बोकेर तानसेनतर्फ लैजानेक्रममा यहीनेर थकाई मेट्न बिसाउँदा मूर्ति त्यही नै हल न चल भएपछि सोही स्थानमा मन्दिर स्थापना गरेको भन्ने बराह पुराणको कथाले बल्ल उ पहिला जस्तै भयो । हामी दुबैले त्यो अलौकिक र अपौरुषेय मूर्ति रहेको ढोकामा दुई–दुई रुपैँया चढाएर ढोग्यौं । सायद भगवान सुतेका थिए क्यारे । हाम्रो वास्ता गरेनन् वा हामीलाई चिने वा चिनेनन् थाहा भएन तर सेनकालीन शिखर शैलीमा चुच्चिएको छानो सहितको गजुरले पक्कै हाम्रो मनोकांक्षा बुझे होला ।

रुरु कन्याले सय वर्षसम्म फलाहार, शुष्कपत्राहार अझै बाटवाहार तपस्या गरेपछि विष्णु प्रकट हुँदा पनि उनले देखिनछन् । तत्कालै विष्णुले सबै इन्द्रियहरुलाई नियन्त्रण पारेर उनका आँखासामु बरदान दिन आएका बखत देखेपछि रुरुले सोही रुपमा त्यहाँ रहन आग्रह गरेकी हुनाले यो पावन भूमिमा रहुन्जेल इन्द्रियलाई पनि नियमन गर्न सकिन्छ मन कतै जादैन भन्ने विश्वास छ भनेर मैले भनेपछि स्नातकमा अध्ययनरत सहयात्री यतै कोठा खोज्नुपर्छ कि भन्दै थिए । मैले काली किनारको रुरु संस्कृत क्याम्पस र छात्रवास देखाइदिएँ ।

उहिल्यै मित्रसेनले व्याख्या गरेको रिडीका घरहरुले असरल्लै छोरानाती बनाएछन् क्यारे । मेरो मनले वारिपट्टिबाटै हिसाब निकाल्यो । हामी फेरी अर्को कौशल हेर्न हौसियौं । एकान्त प्राकृतिक बगैचाको बीचमा कामुक सरसता पुरा गर्न सम्बत् १८७९ चैत्र १ मा निर्माण गरेको सत्येश्वर महादेवको मन्दिर र पौवामा दृष्टिगोचर गर्न थाल्यौं । यो मन्दिर त १९८९ मा आगलागीबाट पुरानो कौशल नष्ट भएपछि काशीबाट मूर्ति झिकाएर बनाइएको रहेछ । तर पनि १८८८ सालमा भीमसेनले चढाएको घण्टिमात्र पुरानो दसी बोकेर डटिरहेको थियो ।

त्यहाँ देख्न सकिने कामुक काष्ठ कलाको बेजोड नमूनालाई प्रमाणको रुपमा सकार्दै मैले लियो टाल्सटायको उद्गार– “मनको उच्चतम् र श्रेष्ठतम् माया (उत्कण्ठा) लाई अरुसम्म पुर्याउनु कलाको काम हो” भन्ने विषयमा सहमति जनाएँ । सामान्य किसिमले समाजमा अपाच्य हुने मानवीय कार्यशैलीका दृष्यहरु पनि कलाको माध्यमबाट त्यहाँ सहज बनाईएको थियो । वास्तवमा यो जगतमा जीवनभन्दा पनि कला र सिर्जना अस्तित्ववान छ क्यारे । ऋषेश्वरको मन्दिर पुगेपछि हामी पालैपालो रिडीमा छप्छपाउन थाल्यौं । मगरहरुका बस्ती, पहिले बजार बसेको ठाउँ, सिनेमाहल, भक्तिनीहरुको आश्रम, रायमाझीको पौवा, उता बीच बजारमा रहेको सुगन्ध बिहार, सबैलाई झल्याक्–झुलुक् मेला भर्न आएका बैंशालुहरु छाने झैं नियाल्दै हामी मास्कीरानाहरुको मुलथलो मानिने रिडीको हिराढुङ्गा खोज्न थाल्यौं ।

रिडी क्षेत्र धार्मिक ऐतिहासिक र पुरातात्विक महत्वको मात्र नभएर एउटा सङ्गम पनि रहेछ । यहाँबाट चारवटा सडकहरु क्रमशः चोरकाटे, तम्घास, वलकोट र तानसेनतर्फ छुट्टिदारहेछन् । यो महत्वलाई बुझेर रिडीलाई व्यवस्थित गर्ने हो भने साँच्चीकै भारतको काशी हैन नेपालको रिडी भनेर विश्वभर चिनिन्थ्यो होला । संगै यहाँका निधिहरुको संरक्षण त आफ्नो ठाउँमा छ, जैविक र वानस्पतीक विविधताको प्रचार–प्रसार यसको नगीच रहेको स्याङ्जाको भृगुतुङ्गेश्वर गुफा, कालीले बनाएको विश्वकै गहिरो खोच, स्थानीय भाषा, पुरानो कौशल आदिको खोज विकास गर्ने मन सबैको किन नहुदो हो र । यदी त्यो वातावरण बन्न सक्यो भने सुनमा सुगन्ध हुन्थ्यो होला । हुनपनि त्यहाँका मगरहरुको भेषभुषा र स्थानीय परिकारहरुले हाम्रो चित्तलाई मनग्गे आँक्यो । अझै माघेसक्रान्ती र ठूली एकादशीमा त्यहाँ सबैलाई पुर्याउन सके बल्ल ऋषिकेशव प्रफुल्ल हुन्थे कि !

क्यामेराले अर्को रिल खोज्यो । घडिले साढे बाह्र बजायो । उसै गरी हाम्रो यन्त्र पनि शिथिल बनेको भान परेको थियो, ओठको कलेंटीलाई एकापसमा प्रदर्शन गरिरहँदा । साह्रै मीठो मानेर हामीले रिडीका माछा र चुकाउनीसँगै अन्य धेरै चिजबिजहरु खानासँगै निल्यौं ।

बिसाइ मेट्ने बेलामा भाइले अनेक प्रश्न गरेर मलाई सतायो । उसले यस्तो अनौठो प्रश्न गर्यो जसले मेरो वक्य बस्यो । ऊ सोध्दै थियो गुल्मी कसरी भयो ? तम्घास र अर्घाखाँचीको नाम कसरी रहन गएको हो भनीदिनु न दाइ…………..।

उहिल्यै ऋषि श्रृड्डले रिडीमा तपस्या गर्दा विहार गर्न मन लागेछ । त्यसपछि आफ्नै प्रियतमा शान्तालाई लिएर उकालो लागेछन् । मनोरम रेशुङ्गाबाट चिदिचौरमा अति मुलायम कोमल घाँस देखेपछि त्यही पुगेर आराम गर्ने मनशुवा बढेछ र प्रियतमालाई “त्वम् घास मे हि”  (तिमी घाँस भएतर्फ हिँड ।) भनेर दुवै त्यहि पुगेपछि ७ वर्षसम्म अनुरागी भई आरामसंग बसेछन् । त्यसैले ऋषिले डाँडोबाट हेरेको थुम्किलोलाई रेशुङ्गा भनियो भने तल तम्घास भनी पुकार्न थालियो ।

गुल्मी चाहीँ गुल्म शब्दबाट भएको हुन सक्ने मेरो व्यक्तिगत शङ्का पोखें । एउटै मुलबाट धेरै बोट निस्कने : बाँस, ऊखु, नरकट आदिलाई गुल्म भनिंदो रहेछ र यतातिर त्यस्ता वनस्पतिको बाहुल्यता भएको साथै नौ हात्ती, नौ रथ, सत्ताईस घोडा र ४५ पैदल हुने प्राचीन सेनाको बिभागलाई गुल्म भनिंदो रेहेछ । त्यसैबाट गुल्मी भएको होला । त्यतातिर कुनै बखत सेनामेना थिए, थिएनन् थाहा भएन । अहिलेका त के कुरा ।

अर्घाखाँचीको विषयमा १७ मौजा क्षेत्रफल भएको राज्यका राई थर भएका राजाले गाईको कानबाट रगत झिकी देवीलाई अर्ग दिने हुनाले यो सबै क्षेत्रलाई  अर्घा भनिंदो रहेछ । पछि खाँचीका राजा आएर सन्धिखर्कमा मेलमिलापको सम्झौता गरेछन् । त्यहाँका राजालाई क्षेत्रीयहरुले विस्थापित गरेर  वीर कुमार वीर विक्रम शाहसम्म शासन गरेपछि त्यो पनि बृहत नेपालमा मिलेछ । पहाड सकिएर मैदान शुरु हुने स्थानलाई बाङ् भन्ने हुनाले त्यसै बमाजिम अर्खाबाङ्, अर्घातोस आदि नामहरु रहन गएका हुन अरे भनेपछि ऊ झन हौसियो । काठमाडौंबाट प्यूठानसम्म पुग्ने बाटो यहि जक्सन भएर जान्थ्यो भनेर म फेरि के कानै जान्ने बनें ।

केही घण्टा होटलको कौसीमा सुस्ताएर होटल्नी दिदीसँग जानी नजानी मगर भाषामा ‘मेझोर’ (नमस्ते–केटा) भनेको उहाँले तुरुन्तै ‘झोर्लाङ्’ (नमस्ते–केटी) भनेर ठहरै पारिदिनुभयो । त्यपछि बिदावारी भएर ग्यारेजमा सामेल भयौं । भाइले उक्त यन्त्रको पेट जाँच गर्दै सामान्य मुसारमुसुरको साथमा स्टार्ट पनि गरे।

त्यस बखत म भने आफै दङ्ग परिरहेको थिएँ । खोई कुन्नी किन मेरा विचारहरु बेलगाम बनेर अबिदित सम्म छलाङ् मारिरहेका जस्तो लागेको थियो । म मेरा बिचारलाई कुनै पनि सिमा लगाएर छेक्न सकिरहेको थिईन । छङ्छङ् गरेर उत्तर मोहडा पारी बगेकी गण्डकी, अदभूत सौन्दर्यमा चारैतर्फ नदीलाई साथ लगाएर कपर्दी खेलिरहेका सुरम्य पहाडहरु अनि हरिया बासन्ती जङ्गलहरु मलाई खुसी  दिन अनवरत खटिरहेथे ।

हुनत मान्छेको जातै  अनौठो हुन्छ क्यारे । त्यसैले प्रकृतिमा जे विशाल सुन्दर छ त्यसैमा आकृष्ट हुन्छ नै । तर पनि म त्यो वैभवतासंगै समको नाटक “प्रेमपिण्डको” नकुल र सबिताको बियोग दर्शाउने प्रस्तुति रुरु क्षेत्रको कुन स्थानको उपज होला भन्दै गमिरहेको थिएँ । कुन ठाउँबाट सबिताले कालीगण्डकीसँग “हामीलाई लुकाउ” भन्दै आफ्नो प्रेमी (नकुल) को लास् सहित हाम फालेकी होलीन् भन्ने प्रश्नको संवेग पनि सँगसँगै थियो । एकचोटी वियोग लेख्ने नाट्य सम्राटसँग रिस पनि उठ्यो । उनले नकुललाई मार्न नहुने थियो । हातमा कलम छ भनेर जे पायो त्यही लेख्न पक्कै हुँदैनथ्यो उनले ।

उसले मलाई फेरि झम्टियो । बक्यौता नबुझाई सुखै पाइदैन । महाभारतको कुरुक्षेत्र युद्धमा पल्लव जनपदको हालिमुहाली थियो । सो भूमी पाल शासकबाट पालित हुनाले ‘पालपा’ बाट पाल्पा भएको हो । कसैले संस्कृतको धाक लगाएर  पार्परीयबाट पाल्पा,  कसैले भोटे भाषामा वासस्थान वा घर को अर्थमा पाल्पा प्रयोग भएको हुनाले त्यो ठाउँ पाल्पा भएको र स्थान नाम कोषले तिब्बती भाषामा वाल (पाल) को अर्थ ऊन, र वा (पा) को अर्थमा देश भए अनुसार वालवा (वालपा) अपभ्रंश भएर पाल्पा हुन सक्ने भन्ने भेटिएको छ भनेर मेरो कुरो पनि छिराएँ – करुवा, हुक्का, पाला बेच्ने हुनाले यसो भएको होला । उसको मुखमा बुझो लाग्यो । मैले १ नम्बरमै कालो मुस्लो ओकलें । रिडीबाट हाम्रो घोडा छुट्यो पाल्पाको लागि ।

मोटरसाईकललाई नियन्त्रणमा लिने बेलामा आफू नकुल बन्दै भाइको मुहारमा हेरेथें– कतै उ प्रद्युम्न जस्तो लाग्छ कि…।

सृष्टिको रित अनौठो छ । आफूमा थोपरिएको ऋण नतिरी जुगौंजुगसम्म पनि आत्माले शान्ति पाउदैन भनिन्छ । कारणवस प्रदेशमा देह त्यागेपनि अस्तुकलश आफ्नै माटोमा ल्याउने चलन पनि यसैको उपज होला । डिउटी सक्दै गरेका सूर्यलाई पश्चिमको डाँडोमा धकेलिरहेको प्रेमको त्रिवेणी रुरु क्षेत्रलाई आत्मैपाई आभार व्यक्त गर्दै हामी पनि एकाबिहानै देखि शुरु भएको ३० कि.मि. सडकको कर्जा चुक्ता गर्न उही बाटोमा उही रफ्तारमा २०६२ चैत्र १२ गतेको अन्तिम प्रहरमा पुरा फर्किदै थियौं ।

Lok Raj Pathak
Lok Raj Pathak Administrator

Lok Raj Pathak is a Professional Computer Engineer and Technology enthusiast. He has completed Master in Science in Information Technology (M. Sc. IT) and Master in technology in Computer Science and Engineering (M. Tech. Eng). He usually writes in science and technology, life style and religion.

follow me

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave comment