विनायकपुरमा एक्लै

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सर… चिया ….. !!!

ए त्यही राख….

मलाई ब्युँझाएर टेबलमा गिलास बिसाई ऊ फर्क्यो । मैले रेडियोको रिमोट दबाएँ । एकछिन पञ्चेबाजा बजाएर एउटा सुरिलो आवाज निस्क्योः “नमस्कार ! यो सामुदायिक रेडियो मदनपोखरा एफ.एम. १०६ थोप्लो ९ हो । बिहानी सेवामा तपाईहरुलाई हार्दिक स्वागत गर्दछौं । आज मिति २०६३ साल जेठ आठ गते मंगलबार तदनुसार ……… ।”

‘ल हेर ! आज त मंगलवार पो रहेछ’, भन्दै म झट्पट् उठेर नित्यकर्म सकि तानसेन बजारलाई सुम्सुम्याउँदै शीतल पाटीबाट गणेश थानतर्फ सोझिएँ । पहिले सम्साझै निदाएजस्तो गर्ने फुच्चे बजार आजभोलि मध्यरातसम्म जागै र त्यसपछि पनि अर्धनिद्रामै हुनथालेकाले यतिबेरसम्म केही सटरहरु कराउँदै थिए अरु अझै स्थूल । आजकल त म पनि मस्तसँग स्लिपिङ् ब्यागभित्र पुरानो थकानको ऋण चुक्ता स्वरुप आरामको निद्रा पुरै प्रहर घुरेर आस्थाको काँध चढी बिनायक पुरमा छुचो बनेर पुण्य बटुल्न जादै थिएँ ।

बल्ल–बल्ल बुद्धि बङ्गारो पलाएको त्यही पनि किराले खाएछ । चौबीसै घण्टा दुःखेर हुर्मत लिएपछि मिसनमा एनेस्थेटिक्स लगाएर दुवै हातको बल लगाएर उक्काईदिए एउटा डेन्टिष्टले । नदुख्ने, नपाक्ने र भिटामिन एकैचोटी खाएको रियाक्सन भएर धन्नै मरिएन । उक्त एन्टिबायोटिक्सको धङ्धड्डी अझै अलि–अलि महसुस गरेको थिएँ । साथमा बुद्धि बङ्गारो गुमाउनु परेकोमा पीडाबोध हुँदै थियो । यति हुँदा–हुँदै पनि धार्मिक आस्था र उषाकालीन मनोरमासँगै मेरा उमङ्गका च्युलाहरु मनभरी चैत्रको लालुपातेझैं झाङ्गिएका थिए । म एक्लो थिएँ; न कोही पछ्याउँथ्यो न कसैलाई उछिन्नु पर्दथ्यो । साँघुरो बाटो भएर दम्साईलो गल्लीमा छिटो सास फेरिरहँदा फुच्चे आँगन र बुईगलहरुमा गुलाफ र भूँईचम्पाका फूलहरु, सर्वदा र मखमलीका विरुवाहरुले मन तान्दै थिए तर कुन्नि किन म भने आजभोलि केतुकी, राजवृक्ष, करविर र पैंयु मन पराउन थालेको छु ।

एसियाकै सबैभन्दा ठूलो ढोका र आकर्षक शीतलपाटी हुँदै म उकालिंदै थिएँ ।

म अहिले जहाँ छु त्यो नै मेरो देशका डाँडाहरु मध्येको सुरम्य टाकुरो हो । चिटिक्क मिलेर बनेका सबैभन्दा राम्रा बारी, पाखा र झुपडी सहितका वस्तीहरु होलान् यी । धपक्क बल्ने हिउँ–चुचुराहरु, गजधम्म बनेर अरठ्ठिएका थुम्किलाहरु र पूर्वपट्टि पुछारमा बिसाइरहेको विशाल माडी फाँट अनि त्यसैको दर्पणमा परावर्तित किरण ओढेर यतैतर्फ उकालिंदै गरेको विहानी बतासमा विचरण गर्ने भाग्यमानी मेरो मन एउटा यात्रीसँगै उकालिँदै थियो । घरी नीलो बनेर कलकल बग्ने, घरी हरियो बनेर प्रकृतिमा छटाउने अनि घरी शुभ्र पोशाकमा छाङ्गा छहराहरुबाट जिस्किंदै हामफाल्ने निराकारी पानी अहिले मेरो मुहार वरिपरि चिट्चिट् गर्दै थियो । सोचाई भने पर मेरो गाउँमा जिस्किंदै थियो । ती दिनहरुमा डाँडोमाथि बिसाउँदै गरेका सूर्य अनि उकालोको चौतारोमा बिसाउँदै गरेको भरिया र रुखका कापमा लुकेर बसेको गोलसिमल (धनेष चरो) लाई खोज्दै ज्ञान बटुलेर स्कूलबाट घर फर्किरहेको अतितको अबोध जस्तै महसुस पो गरेंछु म आफूलाई ।

त्यो बेला म अरुको काखमा अटाउँथे तर आज त के के भैसकिएछ । एउटा बिरुवा हुर्केर आकाश छुनु नराम्रो त हैन यति हुँदाहुँदै पनि यथार्थमा मान्छे जिन्दगीसँग हरेकपल लडिरहन्छ तर अन्त्यमा तेस्रो बस्तु मृत्युले जित्ने रहेछ । सायद त्यही अकाट्य मृत्युसँग मुकाबिला गर्न डराएर भगवान पुकार्छ होला मान्छे । के यस्तो वास्तविकतासँग डराएर चाकडी गर्नेलाई देउताले वरदान दिन्छन् त ? बुद्धिमान त त्यो हो जसले मानवीय यन्त्र प्रयोग गरेर जीवनको उच्चता खोज्न उत्कट बन्छ ।

उकालो सकेर तेर्सो सडकमा पुग्दा नपुग्दै मनभित्र दोहोरी चल्यो– ‘जाउँ कि नजाऊँ ।’ रोडमा उभिएर तानसेन बजारको प्राकृतिक पुस्तकका पानाहरु पल्टाउँदै गणेश मन्दिर जाने बाटोमा छापेका ढुंगाहरु छाम्न थालें । मसँगै अघि पछि गरेर केही जमातहरु सकेसम्म राम्रा पोशाकमा कतैतिर आफ्नो पाप बिसाउन वा त्यसबाट छुटकारा पाउन अघि बढ्दै थिए । आफ्नो चिन्तामुक्तिको लागि रचिएको भगवानलाई सबैले चढाउने पिरको बोझ झन् कति होला ! साँच्ची हामीभन्दा पनि बढि पीर त देउतालाई पो हुँदारहेछ । यसैले स्थूल मन्दिरमा बिसाएर अरु पाप गर्ने हैन बरु अब आफै निराकरणको बाटो खोजेर नराम्रा कृत्य गर्ने सोचको मार्ग द्वारमा नखुल्ने चाबी  राख्नुपर्छ अनि मात्र भगवान हाम्रो दैलोमा आफै आउनेछन् । कुन्नि किन आज म आफैलाई अनौठो महसुस गरिरहेछु । सिंढी सकेर मन्दिर छिर्दै गर्दा पुनः मेरो तरङ्गमा अर्को विचार ठोक्किन पुग्यो, आँखाहरु राम्रा पोशाकतर्फ त्यो पनि विपरित लिङ्गीको । कुनै गुरुद्वारा, मठ–मन्दिर र मस्जिद जान आवश्यक छैन र गएपनि पिर चिन्ता लिएर किन जाने ? म जुनसुकै धर्म अवलम्बन गरुँ तर सर्वव्यापी भगवानको एकत्वले मलाई ज्ञान प्रेरणा र आन्तरिक उर्जा दिइरहन्छ । मेरो सामु एक नयाँ जीवन छ त्यसलाई आदर्शवान वा विकारी बनाउनु मेरो हातमा निहीत छ । यो सन्देश एक अमूर्त कलशजस्तो हुँदोरहेछ । जब म सेवा गर्न थाल्छु तबमात्र मेरो कर्मको बिमोचन हुन्छ । मेरो संघर्ष जीवन मुक्तिको लागि मात्र हुनुपर्छ अरुको लागि होइन । मैले थाहा पाउनुपर्छ कि मन्दिर धाएर मानवीय जीवनले मुक्तिको सास फेर्न कदापि सक्नेछैन । त्यहाँको त्यो सुगन्धमय वातावरण, पंक्तिमा प्रदर्शनको लागि बसेका आस्तिकहरुको पुछारमा नउभिएर म माथिपट्टिको हावामहलमा टुसुक्क बसें । सोचें, यो ब्रम्हाण्ड सबै पापीहरुको जमात हो क्यारे वा लोभीको पनि हुनसक्छ नि ! आफूलाई पनि अज्ञात पापबाट अछुतो राख्दै थिएँ म ।

हुन त म कहाँ गलत छु र मेरो सम्बन्ध कहाँनेर खराब छ त्यो मात्र मलाई थाहा हुने कुरा भयो । यदी म आफै सुध्रनु पर्छ भने आदरणीय भगवानलाई किन सुनाउने । सुनाएपछि मेरा समस्या समुल नष्ट पनि त हुँदैनन्… । कतै आत्मा साक्षी राखी भगवान भनाउँदो विश्वासको ढुङ्गोसँग वेदनाको पोको फुकाएपछि तिनीहरुले अबका दिनमा हृदयमा घात दिन सक्दैनन् होला । त्यसपछि मनमा प्राप्त शान्ति र आनन्दले मनस्थितिमा सकारात्मक संवेग प्रवाह गर्छ होला र सबैले आफू उर्जावान भएको महसुस गर्छ होला । मेरो लोभी मन भन्दै थियो : ‘जा पंक्तिमा बसिहाल…’ तर म त्यही टाँसिईरहें ।

अनिकालको पानी खर्च गरेर भएभरका गरगहनाहरुले सुन्दर अवयवहरुमा सास्ती थोपरेर आएका आधा आकाशको धावा बोल्नेहरु र लामा–लामा कपाल पालेर भएभरको सुगन्ध छर्केर यहाँ पर्खिनेहरु अध्ययन वा कुनै सिर्जनात्मक काममा अब  छिट्टै नलाग्ने हो भने नवीन कुराको श्रीगणेश कसरी हुन्छ ? सिद्धी बिनायकले पनि कुन प्रमाणलाई आधार मानेर भक्त जनहरुलाई तथास्तु भन्लान खै ? म अलि परै बसें र सोचें “मात्रा बढी भयो भने जात्रा हुन्छ” । लौ न भगवान केही गर्नुपर्यो । श्रीगणेशलाई सबैले घेरेर राखेका थिए । निराकारी बिनायकले मेरो विनय सुन्लान् जस्तो ठानेर मनमनै पुकारें– “लौ भगवान यी चुहेको ढुङ्ग्रो लिएर अमिलो मोही थाप्न आउनेहरुलाई विचार गरेर कुम्लो भरिदिनुहोला।’

केही बेर त्यहाँ रहँदा २, ४ वटा नमस्तेको साथमा झण्डै एक दर्जनसँग ममतामयी हात मिसामिस् भयो । लड्डु खाने अवसर भने मिलेन । सबै भगवानको मन्दिरमा पूजै गर्न जान्छन् होला तर म भने सल्लाघारीको चिसो बतास, बेगमबेलीको सुवासना अनि प्रकृतिको छटा र बैंशालुहरुलाई सुटुक्क नियालेर बाहिरको त्रिशुल गाडेको मौलोबाट भगवानलाई पुलुक्क हेरेर एकछिन उभिएँ तर व्यस्त गणेशले अरुलाई नै हेरिरहे । झाल सुकेको काँक्रोको थाँक्रो जस्तो बनेर त्यहाँ रहिरहनु भन्दा आफू भित्रको पश्चाताप, ग्लानी, डर र त्रास कत्ति पनि त्यहाँ नफुकाई दाहिनेपट्टिको ओरालोमा चितुवा र हरिणको बच्चाको खेलमा भाग लिएँ । सायद २, ४ तोला सुन भिरेर विदेशी प्रशाधन प्रयोग गरि जान पाएको भए सबैले मलाई नै क्वारक्वार्ती हेर्थे होला । त्यस्तै मेसो मिले ‘ऊ’ पनि पर्न सक्थ्यो । त्यसपछि ५, ६ महिना इन्तु न चिन्तु हुन सकिन्थ्यो । त्यहाँ भन्दा बढी टिकेको ‘ऊ’ यो जमानामा असम्भव नै होला । धन्न, म त्यो प्रकृतिको वक्षस्थलमा प्राप्त हुन सक्ने ईश्वरीय अनुकम्पाबाट बचें । ओरालोमा मलाई आफ्नो हैसियतको पिर भन्दा पनि भावी समस्याको अहिल्यै निवारण भएको ढाडसले उर्जा थप्यो । त्यस पछि बुङ् सडकबाट हामफालेर सूर्यकुमार भाइको कोठामा छिरें ।

लेमन ग्रासको चिया, केही गफगाफ र परिवर्तनको बारेमा आ–आफ्ना अभिमत ओकलेर पत्रिकाको कार्यालयसम्म सँगै ओर्लियौं । सूर्यभाइ पत्रिका ईडिटिङ्को लागि व्यस्त हुनाले म पुनः एक्लिएँ । उनले मलाई पहिलेदेखि नै गणेश मन्दिरमा प्रदर्शन हुने गहना र राम्रा मान्छेहरुको बारेमा लेख्न कर गरिरहेका थिए । आज व्यस्त भइन्छ होला । भोलि काठमाण्डौ जानु छ, उताबाट फर्केपछि यी दृश्यहरुलाई शब्दचित्रमा थुन्नुपर्ला ।

Lok Raj Pathak
Lok Raj Pathak Administrator

Lok Raj Pathak is a Professional Computer Engineer and Technology enthusiast. He has completed Master in Science in Information Technology (M. Sc. IT) and Master in technology in Computer Science and Engineering (M. Tech. Eng). He usually writes in science and technology, life style and religion.

follow me

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave comment