होलाङ्दीको मोड

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

“ए गैसक्न लाग्यो, समात् समात् !!! हैन ओई तँ कता हिडिस् हँ ?”

“म जहाँसुकै जाउँ तँलाई के मतलब ! अँ साँच्ची तँ को होस् मेरो निदिखुदी उतार्ने ? न बाउपट्टीको काका न आमापट्टीको मामा । के दरकारले तँलाई सबै बेलिबिस्तार लगाउनु पर्यो ?”

“यहाँ बाह्र सत्ताईस कुरा नगर् । फेरि फर्केर आउँछस् भने विचार गरौंला नत्र त मरिकाटे तँलाई जानै दिन्न ।”

“किन ?, तैंले भनेर हुन्छ ? एकै ठाउँमा बसिरहन त कहाँ पाइन्छ र ? तैपनि मेरो रहरले हो र जान लागेको । उसैपनि कति बस्ने यहाँ । यत्रो समय बितिसकेछ अब अर्को ठाउँमा गएपनि त्यसै बस्ने हैन क्यारे । खै, छोड् मेरो बाटो ।”

“हुँदैन, पटक्कै हुँदैन । पर्खि म तेरो घडीको काँटा घुमाएर जुगौं पहिला पुर्याउँछु अनि मात्र चेतबाबाकाशी होलास् नि ।”

“हैन को होस् तँ ? ए बाबा हो, मैले तेरो के खाइदिएको छु भन त ?”

“म समय हुँ । अझ चिन्दिन भन्छस् । तेरो नाम “परिवर्तन” होइन ? तैंले गर्दा म कस्तो थिएँ कस्तो भएँ हेर त ! तैले मलाई भोक, निराशा, अनिश्चितता र बिदिर्णता मात्र दिइनस् । त्यो उरन्ठेउलो तेरो “विध्वंश” भनाउँदो साथीले त मेरो खेदो खनेर तहसनहसै पारिदियो । मेरो घर भत्काएर तँ कस्को आँगनमा आतसवाजी मच्चाउन जादैछस् हँ ? तँलाई त यही काठेकैंचीमा चौखुर्याएर नसुधारी पठाउने हो भने पृथ्वी नै तहस नहस हुनेछ ।”

“तँ समय हुनै सक्दैनस् । त्यो त चलायमान हुन्छ कसरी मलाई समातेर तँ यहाँ उभिई रहन सक्छस् । कि मेरो कारणले तैंले आफ्नो कर्तव्य पनि भुलिस् ? तँ त्यति तल गिर्नु पर्ने त हैन ।”

“थुक्क बुद्धु , एकपटक गहिरिएर हेर् त । तेरो कठालो समात्ने त प्रकृति हुन् । म त बिस्तारै हिडिरहेकै छु नि बुझिस् ।”

“प्रकृति त मेरी प्रेमिका हुन् । उनले पनि मलाई असाध्यै मनपराउँछिन् । हामी बीचमा कति सुमधुर सम्बन्ध छ, तँलाई के थाहा ।”

“बिचरा त्यस्ती अवलालाई फकाई फुल्याई गरेर उनैको छातीमा बुर्कुसी मारेर कठैबरा पनि नभनिकन सुटुक्क हिड्ने नकचरोले प्रकृतिको नाम पनि नलिनू बुझिस् ! त्यो अशुद्ध बाँणीमा निष्कलङ्क आवाज मिश्रित हुन सुहाउँदैन ।”

“ए त्यसो हो ! तर सुन्, तैंले मलाई यहाँ समातेर राखेर के पाउँछस्, भन् त ? यसो गरिस् भने तँ आफैलाई घाटा हुनेछ । बरु बुद्धि छ भने आफैसँग लैजा । तँ सँग बहस गरुञ्जेल विस्तारै हिडौंला । कि आईज गोलमेचमा बसौं ।”

“कहाँ त्यसरी हुन्छ ? तँ यही बस् । तेरो यहाँ तड्कारो खाँचो छ ।”

“ म जानैपर्छ, जान्छु ।

तर खबरदार , तैंले फेरी चलाखी गर्लास् । बरु हिड् मसँगै ।”

“तैंले किन बुझेर बुझ्पचाउँछस् हँ ? केही पुराना कुराहरु नयाँ मार्गको प्रवेशद्वारमा बाधक पनि त हुन सक्छ नि । तेरो लागि पनि केही बोझ थियो कि ।  जेसुकै भन्, मैले आफ्नो ठेकिएको कर्तव्यबाट विचलित भएको पक्कै होइन । हिड्नेलाई ठेस लाग्न सक्छ । कुनै –कुनै कुरामा माफी पनि मागौंला । समग्रमा राम्रै भएको मान्नुपर्छ ।”

“तँ त घर पोलेर निधारमा खरानी घस्ने परिस् । मान्छे मारेर परिवर्तन खोज्ने तेरो नयाँ सुत्रले गर्दा मेरो समेत होस् हवासै उडायो ।

अझै त्यो विज्ञान भनाउँदी नकचरी पनि तँ सँगै पल्केदेखि त तँ रण्डोले उग्रचण्डी नै मच्चाउन थालिस् नि । तैंले छिट्टै आफ्नो बेसुलो आचरण सुधारी हाल त । तँ आफ्नो बोलीमा शरद ऋतुमा फूल्ने कमलमा निहीत स्वरुप प्रदर्शन गर्छस् तर पेटमा कैंची काट्न पछि पर्दैनस् । अरु केही नसोचेर तँ आफ्ना लालसाहरुको कठपुतली बनेर यत्रो हतकण्डा मच्चाउँदैछस् । एउटै प्राणीलाई पटक–पटक मार्ने अधिकार तँलाई कस्ले दियो । हेर, तैंले आफैलाई क्रोधमा होमेर जीवन पद्धति सुधार्ने ढोग नरच्नु बुझिस् ।”

“मैले त उनीहरुको जिन्दगीको पाना पल्टाइदिने प्रयास गरेको हुँ । पढ्ने नपढ्ने आफ्नो विचार । के अझै तँलाई पनि पुराना जँघारहरुमा फसिरहन मन छ ? नढाँटी भन त एकपटक ।”

“यता सुन्, एउटा गरीवको प्रतिष्ठामा तबसम्म कुनै आँच पनि आउँदैन किनकी ऊ केही दिन भोकै बस्न वा सामान्य मकैको भरमा पनि पेट भर्न त सक्छ नि तर उसको मीठो खाने लालसालाई बिट मारिस भने तँलाई पाप लाग्छ । तैंले आफ्नो मक्सद पूरा गर्न मगज र मुटु झिकेर ढिकुटीमा थन्क्याउन सक्छस् तर हरेक प्राणीलाई यस्तो विश्रृंखल जीवन त्यही पनि बल्झाउने हैन बरु सके सुधार्ने नसके यथास्थितिमै रहिरहन दिने युग सुधारक चाहिएको छ । तँ जस्ता खच्चरको यो संसारलाई कहिल्यै अभाव महशुस हुने छैन ।”

“मलाई त यस्तो लाग्यो, तँलाई अहिले असैह्य भएको छ भने अरुलाई पनि पक्कै गाह्रो भएको होला तर मैले अपजस स्वीकारेर पनि यति नगरि दिएको भए कुनै दिन त यिनीहरुको पनि धैर्य फुट्दो हो नि । त्यो बेला झन् बढी क्षति बेहोर्नु भन्दा त अहिलेको यो प्रयासलाई स्वीकारेर चित्त बुझाउँदा तेरो के बिग्रन्छ ? तेरो प्रतिक्षाको पलसम्म त यहाँ ठूलो उपलब्धी भैसकेको हुनेछ । छोरा नाती रिसले चुर भएर विध्वंश गर्नुभन्दा बावुहरुले मेरो कर्तव्यलाई स्वीकारेर नयाँ इट्टाहरु जगमा राखिदिन्छन् अनि उनीहरुले सुन्दर र पवित्र संसार निर्माण गर्नेछन् ।”

“खुबै नाप्पियो ! अनेक बक्–बक् नगर त । खुरु–खुरु मसँग हिँड् ।”

“हैन, तैंले मलाई कुनै साधन प्रयोग गरेर जान पनि दिइनस् अनि यी अनावश्यक घुम्तीहरुमा किन घुमाउँछस् हँ !”

“यही त छ तेरो कमजोरी । यिनै घुम्तीहरुको निहुँ पारेर तैले कति जीवन तहस्–नहस् पारिस् थाहा छ ?”

“के कसैको जीवन जान्छ भनेर वा सास फेर्न सक्दैन कि भनेर भित्रको सासले मात्र बचाउँन मुख थुनिदिन हुन्छ ? हैन तँसँग कसरी यो वेबकुफीपना जन्मियो हँ !”

“त्यसको पनि भाँती हुन्छ तर तँ त हेर्, खै म कसरी व्यक्त गरुँ । यति धेरै निकृष्टतम् पापहरुबाट जकडिएको छस् नि । त्यसलाई मैले पनि माफ दिन सक्दिन । तँ यहाँ असुरक्षित ठानेर नयाँ खगोलमा विकल्प खोज्दैछस् तर तिनीहरु जो यही जन्मिदैछन् तिनीहरुले कसरी बुढ्यौली देख्न सक्छन् ?”

“तँ सुर्ता नगर । कुनै भाँडोको जति क्षमता छ त्यत्तिनै पानी अटाउँछ । किन तँ सागरको वा पोखिएर जाने पानीको चिन्ता गर्छस् ! सारा संसारकै जिम्मा लिन थालिस् भने तैंले केही गर्न सक्दैनस् । तँ सरासर आफ्नो बाटो लाग् । सक्छस भने गल्ती नगरेस् । बरु दोषी त तँ समय भनाउँदो पो होस् त । एकपटक आफ्नो आङ्को भैंसी हेर त । तेरो प्रभावले मान्छे अल्पायूमै मर्दैछ । जीवन साँघुरिएर घाँटी भैसकेको छ । तनाव र ईष्र्यामा रुमल्लिएर आफ्नो आविष्कारबाट आफै तहसनहस हुँदैछ । ऊ आफू त गयो—गयो बिचरा पशुपंक्षी, चराचर र पर्यावरणमाथि समेत प्रश्नचिन्ह राख्न पछि परेको छैन । बिथ्थै तैंले त झन् त्यसैको पक्षमा यत्रो वकालत गर्छस् किन ? आफ्नो आत्ममूल्यांकन गर्ने उचित अवसर ठान न बरु । जो गर्छ रहर उसैको बहर जाने त हो नि । के राम्रै मान्छे राम्ररी नै बाँचेका छैनन् र ? हैन तैंले किन मलाई यी घुम्तीहरुमा बिथ्थामा भुलाउँछस् हँ ? म त एकदमै गतिशील छु । छाड्दे त मलाई।”

“नहत्तारिई न । थपक्क मेरो कुरा सुन् त । ल हेर यो बाटो कस्तो घुमाउरो छ । तँ सधैं यही बाटोमा हिडेको हुन्छस् तर तँलाई हरेक पल पुग्न नै हतारो भयो । कहिल्यै यसको अवलोकन गरिनस् । त्यसैले आज म तँलाई यहाँका हरेक घुम्ती र किनारहरु देखाउँछु । परिवर्तन र समयको तालमेल नमिल्दा हरेक घुम्ती र मोडहरुमा मान्छे बिसाउन, ठोक्किन, ढुल्मुलिन, उछिट्टिन र जीवनदेखिनै हात धुन बिवश हुन्छन् । तिनको के गल्ती थियो ल भन त ? कुनै पनि व्यक्ति यी घुम्ती हरुमा हिडेरै जान्छु भन्यो भने पूरै बाटो सक्काउला जसमा तेरो कुरा लागु गर्ने हो भने आफूले गल्ती नगरेपनि घुम्तीको मोडमा कि ऊ किचिन्छ कि उछिट्टिन्छ । ल हेर यो माथिल्लो घुम्तीमा किचियो भने त सकिइहाल्यो यदि उछिट्टियो भने फेरी तल्लो सडकमा बजारिन पुग्छ जहाँबाट पुनः उसले यात्रा शुरु गर्नु पर्नेछ । यो त भयो सडकको मात्र कुरा । तेरो कुनियत यो सडकको दुवैतर्फ कसरी छप्छपाएको छ सुन्छस् ?”

“ल भन् न त ।”

“ऊ हेर् , त्यो घुम्तीको शुरुवात हुने स्थान जहाँनेर कुनापट्टि पहाडको काप र छेउमा एउटा होटल छ । त्यसपछि भोग्नुपर्ने फन्कोजस्तो सडक सकिने बित्तिकै एउटा खोल्सो आइनपुग्दै बाटो फेरि घुम्छ । खोल्साबाट मान्छे माथि पट्टिको डोरेटोमा जान पनि सक्छ । ल हेर तलपट्टि दुबै सडकको बीचमा २ वटा धाराहरु छन् जहाँ हरेकले जीवन धुन ललायित हुन्छ । आडैमा एउटा पीपलको बोट पनि देखिस् होला । यही बोटमा चढेर मान्छे स्वर्गतर्फ लाग्न सक्छन् । तैंले मन नडुलाइकन यता हेर् है । यो सडक घुमेको त छ नै तर एकनासले समथर पनि छैन । सडक छेउको ऊ त्यो डाँडोमा मस्त हावा लाग्छ साथमा प्राकृतिक छटा पनि सल्लाघारीतर्फ अति सुरम्य छ । के त्यो ठाउँले तेरा अनुयायीहरुलाई तान्न सक्दैन ? अझै सुन्, यति धेरै घुम्तीहरु नाघेर यहाँ पुगुन्जेल मान्छे रहिरह्यो भने पुछारको मोडबाट अर्को सडक समातेर तँलाई पर्गेलिदिन सक्छ । लौ अब भन्, तेरा अनुयायीहरु कति रहेछन् ? तेरो उद्देश्य भनेको यी सबै यात्रीहरुलाई छिटो र सुरक्षित रुपमा मुख्य सडकसम्म पुर्याउनु हो कि हैन ? के तिनीहरु पुगे त ?

अँ एउटा कुरा छुटेछ । ऊ त्यो घुम्तीनेरको झाडीमा कसैले जीवनको समिकरण पूरा गर्न केही कानेखुसी गर्न पनि सक्छन् । जुनसुकै मोडमा पनि हरेक दिशाबाट आउने विकसित असिनाहरुमा रुझ्न पो के बेर । यतिका सबै क्रियाहरुमा मेरो कुनै हस्तक्षेप हुँदैन । तर तेरो पूर्णरुपमा सहभागिता रहेको हुन्छ । त्यसकारण यी सबै कुराको तैंले नैतिक र भौतिक रुपमा जिम्मेवारी लिनुपर्छ । तैंले आफ्नो हैसियत त देखाईस् तर सफलताको नाममा गलत सम्भावनाहरुको विजारोपण पनि गरेको छस् । बुझिस् !”

“त्यसो भए अब मैले के गर्नुपर्ने हो त ?”

“आईज एउटा सहमति गरौं । जो यस धर्तीमा निम्तिएका छन्, तिनीहरुको लागि तँ, म र प्रकृति सँगसँगै यात्रा शुरु गरौं । सम्भव भएसम्म तेरो अर्तीलाई  अवलम्बन गर्ने प्रयास गरौंला । नत्र हामी तीनजना तीनतर्फ लाग्यौं भने बिकराल स्थिति सिर्जना हुनेछ ।”

“ल ठीक छ । मैले तेरो कुरा मान्छु । प्रकृतिलाई तँ पनि भन्नु, म पनि सम्झाउँला तर आज मलाई छाडिदे म जान्छु । छिट्टै फर्केर आउँछु त्यसपछि सँगसँगै हिडौंला ।”

“आउँछस् त ?”

“आउँछु ।”

“पक्का आउने नै हो त ?”

“ल विश्वास गर्दैनस् भने त मेरो के भन्नु छ र !”

“ल–ल ठीक छ । फेरि आइनस् भने म तेरो कठालो हैन घाँटी समात्ने छु । आजलाई राम्रोसँग जानु । अगाडिका घुम्तीहरुमा पनि बिचार गरेस् । छिटो आईज है । ढिलो भैसकेको छ ।”

हवस् ल बिदा …………. १ १ १                                                                                                                                                    २०६३\४\१३, बुटवल

 

Lok Raj Pathak
Lok Raj Pathak Administrator

Lok Raj Pathak is a Professional Computer Engineer and Technology enthusiast. He has completed Master in Science in Information Technology (M. Sc. IT) and Master in technology in Computer Science and Engineering (M. Tech. Eng). He usually writes in science and technology, life style and religion.

follow me

Share
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave comment